आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश : अर्थ समितिले मुख्यमन्त्री कार्की र दुई मन्त्रीसँग गर्‍यो सोधपुछ

आइतबार, ३० कात्तिक २०८२, २० : ३६
आइतबार, ३० कात्तिक २०८२

विराटनगर । कोशी प्रदेशसभाको अर्थ समितिले प्रदेश सरकारको कामकारबाही, बजेट कार्यान्वयन र समसामयिक विषयमा मुख्यमन्त्रीसहित तीन मन्त्रीसँग सोधपुछ गरेको छ ।

कोशी प्रदेशसभा सचिवालय कटहरीमा आइतबार समितिको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरसँग छलफल गरेको हो ।

समितिका सभापति विनोद वान्तवा राईका अनुसार बैठकमा सरकारलाई सोध्नुपर्ने विभिन्न विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो । सुशासन, भ्रष्टाचार नियन्त्रण, हालसम्मको बजेट खर्च र राजस्व सङ्कलनको अवस्था, संविधानको कार्यान्वयनमा देखिएका चुनौतीहरू, र मुख्यमन्त्री तथा मन्त्रीहरूको काम, कर्तव्य र जिम्मेवारीबारे समितिले प्रश्न उठाएको थियो ।

छलफलका क्रममा प्रदेशसभा भवनमा भएको आगजनी र त्यसमा सरकारले चालेको कानुनी कदम, प्रदेश सरकारमा कर्मचारीको अभाव तथा व्यवस्थापन, र स्थानीय तहमा बजेट निकासामा भइरहेको ढिलासुस्तीजस्ता विषयमा पनि मन्त्रीहरूको ध्यानाकर्षण गराइएको थियो ।

सभापति राईले भने, ‘आज हामीले सरकारका प्रतिनिधिहरूसँग विस्तृत छलफल गर्‍यौँ । उहाँहरूका कुरा सुन्यौँ र समितिको तर्फबाट प्रश्नहरू राख्यौँ ।’ 

उनका अनुसार आइतबारको बैठकमा छलफल भए पनि राति परेकाले लिखित निर्णय गर्न नसकिएको र सोमबार सरकारलाई औपचारिक रूपमा लिखित निर्देशन तथा ध्यानाकर्षण पत्र पठाइनेछ । 

‘आज छलफल मात्र भयो, लेख्न पाइएन । हामी भोलि  लिखित रूपमा सरकारलाई निर्देशन दिन्छौँ,’ राईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप