आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

इक्वेडरमा विदेशी सैन्य शिविर राख्न नदिने पक्षमा जनमत संग्रह

सोमबार, ०१ मङ्सिर २०८२, १२ : ३४
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • इक्वेडरका जनताले विदेशी सैन्य शिविर राख्न नदिने पक्षमा मतदान गरे, जसले अमेरिकी चाहनालाई विफल पार्यो।
  • जनमत संग्रह राष्ट्रपति नोबोआका लागि झट्का थियो, जसले संगठित अपराध र बढ्दो हिंसा कम गर्न शिविरको समर्थन गरेका थिए।
  • इक्वेडर विश्वको ठूलो लागूऔषध तस्करीको हटस्पट बनेको छ, र नोबोआले आपराधिक गिरोहहरूमाथि सैन्य कारबाही बढाएका छन्।

क्विटो । इक्वेडरका जनताहरूले देशभित्र विदेशी सैन्य शिविरहरू राख्न नदिने पक्षमा मतदान गरेका छन् । योसँगै पूर्वी प्रशान्त क्षेत्रमा आफ्नो उपस्थिति बढाउने अमेरिकी चाहना चौपट भएको छ ।

जनमत सङ्ग्रहको नतिजा इक्वेडरका राष्ट्रपति डेनियल नोबोआका लागि झट्का भएको छ । उनले २००८ मा व्यवस्थापिकाले पारित गरेको प्रतिबन्धलाई उल्टाउन संविधान परिवर्तन गर्न अभियान चलाएका थिए ।

विदेशी सैन्य शिविर राख्न दिँदा सङ्गठित अपराधसँग लड्न र हालैका वर्षहरूमा देशले देखेको बढ्दो हिंसालाई कम गर्न मद्दत गर्ने उनको तर्क थियो । अहिले इक्वेडर  विश्वको सबैभन्दा ठुलो लागू औषध तस्करीको हटस्पट बनेको छ ।

जनमत संग्रहले प्रशान्त तट नजिकको स्थानमा एउटा अमेरिकी शिविर खुलेको १६ वर्षपछि इक्वेडरमा विदेशी सैन्य शिविर खोल्न मार्ग प्रशस्त गर्ने आशा अमेरिकाको थियो ।

इक्वेडरले कोकेन उत्पादन गर्दैन । कोलम्बिया र पेरुमा ठुलो मात्रामा यी लागूपदार्थ बनाइन्छ । तर यसको विशाल बन्दरगाह र कोलम्बिया अनि पेरुसँगको निकटताका कारण यो लागूऔषध तस्करीको हटस्पट बनेको छ । नोबोआका अनुसार विश्वको लगभग ७० प्रतिशत कोकेन इक्वेडर भएर आउँछ । उनको राष्ट्रपतिकालमा आपराधिक गिरोहहरूमाथि सैन्य कारबाही कठोर पारिएको छ । यसका लागि सरकारले सशस्त्र सैनिकहरूलाई सडकमा राखेको छ ।

उनको दृष्टिकोणले अपराधसँग लड्न मद्दत गरेको समर्थकहरूले भन्छन् । तर उनको सरकारले अधिनायकवादी रणनीति अपनाएको आलोचकहरूको भनाइ छ । अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले हालै नोबोआसँग इक्वेडरमा सैन्य स्थलको भ्रमण गरेकी थिइन् । 

यस वर्षको सुरुमा बीबीसीसँगको एक अन्तर्वार्तामा राष्ट्रपति नोबोआले विदेशी सेना लागू औषध तस्कर समूहविरुद्धको आफ्नो युद्धमा सामेल होउन् भन्ने चाहेको बताएका थिए । हालै उनले अमेरिकी अधिकारीहरूसँग क्षेत्रीय सुरक्षा र आप्रवासन सहयोग बढाउनेबारे वार्ता पनि गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप