बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

विचार र एजेन्डा मिल्ने दलसँग पार्टी एकता गर्ने तयारीमा जसपा

सोमबार, ०१ मङ्सिर २०८२, १३ : ४२
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • नेकपा र जसपाबीच एकता सम्बन्धमा छलफल भएको छ, नेताहरूले वार्ता सकारात्मक भएको बताए।
  • माओवादी केन्द्रको कार्यालयमा भएको छलफलमा वैचारिक र प्राविधिक विषयमा छलफल भएको र निरन्तरता दिने सहमति भएको छ।
  • जसपाका नेता राजेन्द्र श्रेष्ठले विचार र मुद्दा मिल्नेसँग एकता र ध्रुवीकरणको पक्षमा रहेको बताए।

काठमाडौँ । कात्तिक २९ गते नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) बिच एकता सम्बन्धमा छलफल भयो । तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा भएको दुई पक्षीय वार्ता सकारात्मक भएको नेताहरूले बताएका छन् ।

माओवादी, नेकपा एकीकृत समाजवादीसहित १२ वाम दल मिलेर नयाँ पार्टी गठन भएपछि जसपासँग पहिलोपटक छलफल भएको थियो । वैचारिक, सैद्धान्तिक र प्राविधिक विषयमा प्रारम्भिक छलफललाई आगामी दिनमा पनि निरन्तरता दिने सहमति भएको नेकपाका नेता देव गुरुङले बताए ।

‘वार्ता सकारात्मक भएको छ । वैचारिक, सैद्धान्तिक र प्रविधिक विषयमा प्रारम्भिक छलफल भएको छ । निष्कर्षमा पुगेको छैन । आगामी दिनमा छलफल र वार्तालाई निरन्तरता दिने सहमति भएको छ’, गुरुङले भनेका थिए ।

यता जसपाबाट वार्ताको संयोजन गरेका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि नेकपासँग भएको छलफल सकारात्मक रहेको बताए ।

‘हामी विचार र मुद्दा मिल्नेसँग एकता, ध्रुवीकरणको पक्षमा छौँ । एकता प्रक्रियामा जोडिएका तीन घटकसँग हामीले समाजवादी मोर्चामा सहकार्य गरेका हौँ । नेकपा गठनअघि पनि हामीले तत्कालीन माओवादी, एकीकृत समाजवादीसँग पटक–पटक छलफल गरेका थियौँ । नयाँ दल बनेपछि पहिलो पटक छलफल भयो । प्रारम्भिक छलफल सकारात्मक छ । आगामीमा दिनमा पनि निरन्तरता दिनेछौँ’, श्रेष्ठले भने ।

त्यसअघि असोजको दोस्रो हप्ता पेरिसडाँडामा तत्कालीन माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष राईबिच छलफल भएको थियो । श्रेष्ठले लामो समय एउटै पार्टीमा रहेर काम गरेको हिसाबले एकताका लागि जसपा नेपालसँग पनि छलफल भइरहेको श्रेष्ठले बताए ।

जसपाको असार ६ र ७ गते सम्पन्न संघीय परिषदको प्रथम बैठकले अनुमोदन गरेको पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक दस्तावेजमा एकताबारे स्पष्ट उल्लेख भएको बताए । सोही नीति अनुसार नै विचार, सिद्धान्त र एजेन्डा मिल्ने दलहरूसँग एकता वार्ता भइरहेको उनको भनाइ छ ।

  • यस्तो छ जसपाको दस्तावेजमा

हाम्रो पार्टी एकीकरण, ध्रुवीकरण फुट, विभाजन र पुनर्गठनको कष्टसाध्य कामबाट अगाडि बढेको छ, तर हाम्रोलागि एउटा गौरवको विषय जतिपटक एकीकरण, धु्रवीकरण वा फुट, विभाजन र पुनर्गठन भए पनि वैचारिकरूपमा हामीले नेपाली क्रान्तिको सिद्धान्त सङ्घीय समाजवाद र जस्तो समाज उस्तै पार्टी निर्माण गर्ने हाम्रो सङ्कल्पलाई निरन्तरता दिन सफल भएका छौँ । यो हाम्रो पार्टीको वैचारिक श्रेष्ठताको उपज हो । हामीले अगाडि सारेको सिद्धान्त नेपाली समाजको बहुलतायुक्त चरित्र सुहाउँदो हुनुको परिणाम हो । त्यसैले यो वैचारिक ऊर्जालाई पुँजीकृत गरी सङ्गठनात्मक शक्तिमा रूपान्तरित गर्नु पर्दछ । यसका लागि हामीले पार्टी पुनर्गठनको महान लक्ष्यलाई आत्मसात् गर्दै सङ्गठन विस्तार र सुदृढीकरणका लागि सक्रियता र आत्मविश्वासका साथ अगाडि बढ्न सक्नु पर्दछ । पार्टीभित्र आपसी एकता, हार्दिकता र सकारात्मक सोचको विकास गर्न सक्नु पर्दछ । हामीबिचको वैचारिक एकताले हामीलाई भावनात्मक एकताको बाटोमा डो¥याउने छ र सङ्गठनात्मक शक्तिमा रूपान्तरण गर्ने छ । यसरीमात्र हामीले प्रतिस्पर्धा र पहलमा श्रेष्ठता स्थापित गर्न सक्ने र देशको राज्य व्यवस्थाको नेतृत्व दिन सक्ने भरपर्दो पार्टी निर्माण गर्न सक्ने छौँ ।

अहिले देशमा नयाँ वैकल्पिक राष्ट्रिय शक्ति निर्माणका लागि पुनर्उत्थानवादी र नवसम्बर्द्धनवादी शक्तिहरू पनि अगाडि बढिरहेका छन् । पुरानो, मक्किएको र जनताले रछ्यानमा फालिसकेको विचार बोकेर वैकल्पिक शक्ति निर्माण हुँदैन । त्यसका लागि विचार, सङ्गठन, कार्यशैली सबै हिसाबले नयाँ ढङ्गको, हरेक क्षेत्रमा आफ्नो अलग विकल्प भएको र नेपाली क्रान्तिका कार्यभारहरूलाई पूरा गर्न सक्ने पार्टी हुनु पर्दछ । त्यसका लागि पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासन, समतामूलक समृद्धि र समाजवाद पक्षधर नयाँ वैकल्पिक राष्ट्रिय शक्तिको निर्माण गर्नु पर्दछ । अनिमात्र यो देशको जिम्मेवारी सम्हाल्न सक्ने भरपर्दो राजनीतिक शक्ति बन्न सक्दछ । यतिवेला हामी पार्टीको सङ्घीय परिषद्को यस प्रथम ऐतिहासिक बैठकमा उपस्थित भएका छौँ । आम नेपाली जनता, सिङ्गो देश, र अन्तर्राष्ट्रिय समुदायले समेत हामीलाई उत्सुकतापूर्वक नियालिरहेका छन् । देशमा २०६२÷६३ सालको जनक्रान्तिबाट प्राप्त सीमित उपलब्धिहरूलाई पनि संविधान संशोधनको नाममा खोस्ने षडयन्त्रमा पुराना पार्टीहरू लागेका छन् । त्यस्तो स्थिति उत्पन्न भएमा हामी आफ्नो अधिकार प्राप्तिको लडाइँमा शिरमा कफन बाँधेर उत्रन तयार हुनु पर्दछ । यस धर्तिमा जन्म लिने प्रत्येक मानिसहरू मर्छन्, तर ती व्यक्तिमात्र अमर हुन्छन्, जो युगको अभिभारा पूरा गर्न आफ्नो ज्यान हत्केलामा राखेर सङ्र्षमा उत्रन तयार हुन्छन् ।

हामीलाई विश्वास छ, पार्टीको सिङ्गो पङ्क्ति यो नयाँ अभिभारा बहन गर्न तयार हुनेछ । आफ्नो पहिचान र अधिकार प्राप्ति तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता र धर्मनिरपेक्षतालाई जोगाउन हातमा हात काँधमा काँध मिलाएर अगाडि बढ्न जरुरी छ । अतः आउनु होस्, हामी सबै एकजुट भएर यो युगको अभिभारालाई पूरा गरौँ, पहिचानसहितको सङ्घीय समाजवादी गणतन्त्र निर्माणका लागि जनसङ्घर्षमा अगाडि बढौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप