नेपाली कम्युनिस्ट पार्टीको आगामी कार्यभार
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जन्म, १० वामपन्थी दल र समूहको एकताबाट भएको छ, जसले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ अध्याय सुरु गरेको छ।
- पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र र यसका उपलब्धिहरूको रक्षा गर्दै, मार्क्सवाद-लेनिनवाद र नेपाली परिवेश सुहाउँदो समाजवादी दृष्टिकोणलाई मार्गदर्शन गर्नेछ।
- नयाँ पार्टीले सुशासन, विकास, रोजगारी, चुनावमा सहभागिता र जवाफदेहितालाई जोड दिँदै समाजवादतर्फ देशलाई डोर्याउने लक्ष्य राखेको छ।
भर्खरै सम्पन्न १० वटा वामपन्थी दल र समूहहरूको ऐतिहासिक एकताबाट नयाँ दलका रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जन्म भएको छ । यो केवल सङ्गठनात्मक एकता मात्र होइन, नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ अध्याय पनि हो ।
यो पार्टीमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल रहेका छन् । प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष थिए भने माधव नेपाल एकीकृत समाजवादीका अध्यक्ष थिए । उनीहरूबिचको यो एकता केवल नेताहरूको समझदारी मात्र होइन, पछिल्लो समय युवाहरूको आन्दोलनले उठाएको परिवर्तनको चाहना र दबाबको परिणाम पनि हो ।
यसैकारण, प्रचण्ड स्वयंले यो एकतालाई ‘जनचेतनाको उपलब्धि’ र ‘इतिहासले दिएको अवसर’ भनेर स्वीकार गरेका छन् । अब नेपाली कम्युनिस्ट पार्टीको मुख्य जिम्मेवारी, अतीतका अनुभवबाट सिक्दै, नयाँ ऊर्जा र दिशासहित देशलाई समाजवादतर्फ अघि बढाउने हो । त्यसका लागि पार्टीले केही ठूला कार्यभार पूरा गर्नुपर्नेछ ।
- प्राप्त उपलब्धिको रक्षा
नेपालमा कम्युनिस्ट आन्दोलनले दसकौँ लामो सङ्घर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको छ । यो सहज उपलब्धि होइन । यो हजारौँ क्रान्तिकारीको बलिदान, जेल–नेल र जनताको लामो प्रतिरोधको फल हो । अहिलेको पहिलो जिम्मेवारी भनेको ती ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्नु हो ।
संविधान, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र मौलिक हकहरू यी सबै जनताको संघर्षले हासिल गरेका उपलब्धी हुन् । तर पछिल्लो समय यी उपलब्धिको रक्षा कसरी गर्ने भन्ने सन्दर्भमा चुनौती थपिएको छ ।
प्रतिक्रियावादी शक्तिहरू पुनः संगठित हुँदैछन् । यस्तो अवस्थामा कम्युनिस्ट पार्टीले यी उपलब्धिहरूलाई जोगाउने दृढ नीति लिनु अनिवार्य छ ।
- पार्टीको स्पष्ट नीति तथा सिद्धान्त
अघिल्ला वर्षहरूमा कम्युनिस्ट आन्दोलन वैचारिक अस्पष्टता र अवसरवादका कारण कमजोर बन्यो । नीति तथा सिद्धान्तमा कमजोर वैचारिक अडान हुँदा पार्टीहरू सत्ता केन्द्रित बन्न पुगे, जसले जनता र कार्यकर्ताबीचको दूरी बढ्यो । नयाँ पार्टीले अब यही भूल दोहो¥याउनु हुँदैन ।
वैचारिक रूपमा मार्क्सवाद–लेनिनवाद र नेपाली परिवेशअनुकूल समाजवादी दृष्टिकोणलाई मार्गदर्शन सिद्धान्त बनाउनु पर्छ । केवल नारामा मात्र होइन, व्यवहारमा समाजवादी अर्थतन्त्र, उत्पादनका साधनमा जनताको नियन्त्रण र वर्गीय असमानता अन्त्य गर्ने नीति अघि बढाउनुपर्छ ।
- नेता–कार्यकर्ताको उचित व्यवस्थापन
पार्टीमा धेरै प्रवृत्तिका नेता तथा कार्यकर्ताहरू एउटै छानामुनि आएका छन् । यो विविधता पार्टीको शक्ति पनि हो, चुनौती पनि । त्यसैले व्यवस्थापन न्यायपूर्ण हुन जरुरी छ ।
पद र जिम्मेवारी बाँडफाँटमा अनुशासन, पारदर्शिता र योग्यता मापदण्डमा आधारित प्रणाली विकास गर्नुपर्छ । कुनै पनि नेताको व्यक्तिवादी वा गुटीबादी सोचले पार्टी कमजोर पार्न सक्छ । त्यसैले ‘समान अवसर र समान सम्मान’ को संस्कृतिलाई संस्थागत गर्नुपर्छ ।
- विधिको शासन कायम गर्नु
समाजवादको बाटोमा अघि बढ्न कानून भन्दामाथि कोही हुँदैन भन्ने सिद्धान्त अंगीकार गर्नुपर्छ । लोकतान्त्रिक संस्थाहरूलाई सम्मान गर्ने, कानुनी शासनको संस्कृति बसाल्ने र सबै निर्णयहरू सामूहिक प्रक्रियाबाट हुने सुनिश्चित गर्नुपर्छ ।
अतीतमा पार्टीहरूमा देखिएको निर्णय ‘व्यक्ति केन्द्रित’ हुँदा त्यसले पार्टीलाई जनतासँग जोड्न सकेन । त्यसैले अब त्यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ । नयाँ कम्युनिस्ट पार्टीले पार्टीभित्र पनि र राज्य सञ्चालनमा पनि विधिको शासनलाई आधार बनाउनु जरुरी छ ।
- समाजवादी क्रान्तिको बाटो
नेपालले गणतन्त्र स्थापना गरे पनि आर्थिक र सामाजिक संरचना अझै सामन्ती र पुँजीवादी सम्बन्धमा जेलिएको छ । त्यसैले राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्ति अर्थात् समाजवादी रूपान्तरण अबको ऐतिहासिक आवश्यकता हो ।
समाजवादको बाटो भनेको सम्पत्तिको न्यायपूर्ण वितरण, उत्पादनको सामाजिक स्वामित्व र नागरिकको आर्थिक स्वतन्त्रता हो । पार्टीले उद्योग, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यको अग्रणी भूमिका सुनिश्चित गर्नैपर्छ । उत्पादनमूलक क्षेत्रलाई बलियो बनाउँदै वैदेशिक निर्भरता घटाउने नीति लिनुपर्छ ।
- सुशासनको काम
भ्रष्टाचार, अनुशासनहीनता र असमान पहुँचले राज्य प्रणालीमा जनताको विश्वास कमजोर बनाएको छ । नयाँ कम्युनिस्ट पार्टीले सुशासनलाई प्राथमिक कार्यसूचीमा राख्नुपर्छ ।
जनताको करबाट चल्ने राज्य संयन्त्र पारदर्शी, जिम्मेवार र परिणाममुखी हुनुपर्छ । पार्टीका प्रतिनिधिहरूले उदाहरण प्रस्तुत गर्नका लागि ‘पहिलो सुधार आफैंबाट’ भन्ने नीति अपनाउनुपर्छ ।
- विकास र रोजगारी
विकास केवल ठूला सडक वा भवन निर्माण होइन । मानव जीवनको समग्र उन्नति हो । त्यसैले पार्टीले विकासलाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ ।
आफ्नै देशमा रोजगारी सिर्जना गरेर युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्छ । कृषि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि र साना–मझौला उद्योगमा लगानी वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नुपर्छ । विकासको मुख्य लक्ष्य जनताको जीवनस्तर उकास्ने हुनुपर्छ ।
- चुनावमा सहभागिता र जनविश्वास निर्माण
पार्टीको संगठन बलियो बनाउन चुनावमार्फत जनमतको परीक्षामा जानु आवश्यक हुन्छ । तर चुनाव केवल सिट जित्ने साधन होइन, विचार र कार्यक्रम जनतासमक्ष पु¥याउने अवसर पनि हो ।
पार्टीले जनताको बिचमा गएर आफ्नो नीति, सिद्धान्त र आगामी योजनाहरू स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ । चुनाव प्रचारमा व्यक्तिगत आरोप–प्रत्यारोप होइन, विचार र विकल्पको राजनीति गर्नुपर्छ । यो पार्टी सत्तामा पहुँच कायम गर्न गठन गरिएको होइन, परिवर्तनका लागि आएको हो भन्ने जनतामा विश्वास जगाउनु पर्छ ।
- जबाफदेही र उत्तरदायित्व
अघिल्ला कम्युनिस्ट सरकारहरूमा जनताको असन्तोषको मुख्य कारण नै जबाफदेहिताको अभाव थियो । अब त्यो गल्ती सुधार्नु पर्छ ।
जनतालाई हरेक नीति, निर्णय र कार्यान्वयनका चरणमा जानकारी दिने, आलोचना सुन्ने र सुधार गर्न तयार रहने संस्कृतिलाई संस्थागत गर्नुपर्छ । पार्टीका नेता र जनप्रतिनिधिहरूले आफू जनताप्रति उत्तरदायी छन् भन्ने अनुभूति सधैँ राख्नुपर्छ ।
माथि नै भनियो, नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अध्यायमा प्रवेश गरेको छ । तर यसलाई केवल नाम वा संगठनको एकता होइन, यसलाई वैचारिक र व्यवहारिक रूपान्तरणको सुरुवातका रूपमा लिनुपर्छ ।
अब यो पार्टीले एकतालाई केवल संख्यामा होइन, संघर्ष र सिर्जनाको शक्तिमा रुपान्तरण गर्न सक्नु पर्छ । पार्टीले आफ्नो कार्यभार ईमानदारीका साथ पूरा गर्न सक्यो भने जनताको विश्वास पुनः प्राप्त हुनेछ । देश समाजवादको दिशातर्फ स्थिर गतिमा अघि बढ्नेछ र नेपालको राजनीतिक इतिहासमा यो एकता साँच्चिकै ऐतिहासिक साबित हुनेछ ।
चाहनासँगै चुनौती पनि छन् तर सिद्धान्तमा दृढता, जनतासँग नाता र व्यवहारमा पारदर्शिता कायम गर्न सकियो भने नेपाली कम्युनिस्ट पार्टी फेरि एक पटक जनताको विश्वास र इतिहासको सम्मान दुबै बन्न सक्छ । नयाँ पार्टीको प्रमुख कार्यभार यही हो ।
सबैमा नेपाली समाजवादी यात्राको अग्रिम शुभकामना !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण