बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

चोरिएको २३ वर्षपछि श्री कुमारीको तोरण पुनःस्थापना हुँदै

सोमबार, ०१ मङ्सिर २०८२, १८ : २७
सोमबार, ०१ मङ्सिर २०८२

काठमाडौँ । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापना गर्ने निर्णय भएको छ ।

वि.सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट सङ्ग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएको छ । 

यसरी राखिएको तोरण पुनःस्थापनाका लागि आज काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको साझेदार कार्यालयका अधिकारीहरूको बैठकले, थिंलाथ्व पारु अर्थात् नेपाल संवतको दोस्रो महिनाको पहिलो दिन वडा नम्बर २३ कार्यालयको संयोजन र सरोकारवाला तथा समुदायसँगको समन्वयमा पुनः स्थापना गर्ने निर्णय गरेको हो ।  

बैठकमा बोल्दै उपप्रमुख डङ्गोलले पूर्खाका सिर्जना समुदायमा असुरक्षित भए भनेर सङ्ग्रहालयमा राख्नु नहुने बरु, समुदायको जिम्मामा कलाकृतिलाई आफ्नै ठाउँमा राख्नु पर्ने धारणा व्यक्त गरिन् ‘महानगरपालिकाभित्रका मठमन्दिर, विहार, बहाल तथा अन्य सम्पदा स्थलहरूबाट चोरिएका धेरै कलाकृतिको पहिचान गरेका छौँ । ती कलाकृतिहरूलाई सम्बन्धित वडाको अगुवाइमा पुनःस्थापित गराउने अभियान नै चलाउँछौँ ।’ उनले भनिन् ‘कुमारी घरको तोरणको सुरक्षाका लागि सबै चनाखो हुनुपर्छ । अहिले समुदाय सचेत र सक्रिय छ । सुरक्षाका लागि आधुनिक प्रविधि उपलब्ध छ । वसन्तपुर क्षेत्र सुरक्षा निकायको आँखाभन्दा टाढा छैन । यसकारण तोरणलाई आफ्नै ठाउँमा राख्न अब डराउनु पर्दैन ।’

बैठकमा वडा नम्बर २३ का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले, कुमारी घरको गरिमा बचाउन वडा कार्यालयले सक्रिय भूमिका निर्वाह गर्ने, आवश्यक स्रोत, साधन, उपकरण र जनशक्तिको परिचालन गर्ने धारणा राखे ।

२३ वर्ष अगाडी चोरिएको थियो तोरण

कुमारी घरका संरक्षक गौतम शाक्यका अनुसार यी २०५६/०५७ मा बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरिएका हुन् ।

‘तोरण निकाल्दा निकाल्दै देखेर प्रश्न गर्नेलाई चोरले, मर्मत गर्न लगेको भनेर जवाफ दिएछन् ।’ शाक्यले भने ‘३ महिनाभित्र ३ वटै तोरण हराएका हुन् । यसरी चोरी भएको विषय पुरातत्त्व विभागमा जानकारी दिएको र नेपाल प्रहरीमा खोजी गर्न निवेदन दिइएको थियो । तोरण हराएपछि बुच्चै भएका ढोकामा करिब ३ वर्षपछि प्रतिकृति तोरण बनाउन लगाएर स्थापना गरिएका हुन् । ती तोरण बनाउँदा प्रतिगोटा करिब ८० हजार रुपियाँ खर्च भएको थियो ।’

बैठकमा सम्पदा संरक्षण अभियन्ता गणपति लाल श्रेष्ठले, अहिले असल नतिजाका लागि योगदान गर्ने समय भएकोले उल्लेख गर्दै तोरण पुनः स्थापना गर्ने विषयमा सबैको साथ र सहभागिता अपरिहार्य रहेको धारणा राखे  । तोरण पुनःस्थापनापछि कुमारी घरको प्राचीनतामा टेवा पुग्ने उनको भनाइ थियो । सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारीले, कूटनीतिक पहलबाट तोरण फिर्ता गरिएको अनुभव सुनाए ।

कुमारी वहालको तोरण र मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति २०७८ चैत ४ गते (सन् २०२२ मार्च १८ तारिख)का दिन बेलायतका लागि नेपालको दूतावासमा हस्तान्तरण गरिएको थियो । त्यसपछि नेपाल ल्याएर छाउनी सङ्ग्रहालयमा बुझाइएको थियो ।

यसरी हराएका चोरिएका कलाकृति तथा मूर्तिहरू फिर्ता गराउन सन् १९७० को युनेस्को महासन्धिको व्यवस्था प्रयोग गर्ने गरिएको छ । 

यसले सांस्कृतिक सम्पत्तिको अवैध आयात, निकासी तथा स्वामित्व हस्तान्तरणलाई निषेध र रोकथाम गरेको छ । 

यो महासन्धिलाई विश्वका १४५ देशले स्वीकार गरेका छन् ।  प्राचीन स्मारक ऐन २०१३ अनुसार १ सय वर्ष अवधि पूरा गरेका सांस्कृतिक संरचनालाई सम्पदाका रूपमा ग्रहण गरिन्छ ।  कुमारी बहाल राजा जय प्रकाश मल्लको पाला (वि. सं. १८१४) मा निर्माण भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप