बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नदी उत्खननले ताराखोलाको भविष्य संकटमा, युवाहरूले जनाए विरोध

मङ्गलबार, ०२ मङ्सिर २०८२, ०७ : ५३
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • बागलुङको ताराखोला क्षेत्रमा अनियन्त्रित उत्खनन, अवैध निर्माण र जलविद्युत आयोजनाका कारण पर्यावरणमा चिन्ता बढेको छ।
  • स्थानीय युवा र समुदायले जलविद्युत आयोजनाले नदीमा पानीको बहाव घटाएको र कानुनको पालना नगरेको भन्दै संरक्षणको माग गरेका छन्।
  • ताराखोला संरक्षण अभियानले नदी दोहन रोक्न र प्राकृतिक स्रोतको संरक्षणका लागि सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

बागलुङ । पश्चिम नेपालको हराभरा पहाडी भूभागमा अवस्थित बागलुङको प्रख्यात नदी ताराखोला त्यस क्षेत्रका स्थानीय बासिन्दाहरूको जीवन पद्धतिसँग जोडिएको महत्त्वपूर्ण प्राकृतिक श्रोत हो। तर पछिल्ला वर्षहरूमा अनियन्त्रित उत्खनन, अवैध निर्माण र जलविद्युत आयोजनाका कारण ताराखोलाको पर्यावरणमा चिन्ता बढ्दै गएको छ। स्थानीय युवाहरू र समुदायले नदी संरक्षणका लागि खबरदारी गर्दै आएका छन्।

सयपत्री जलविद्युत् आयोजना  निर्माणपश्चात् ताराखोलामा थप पाँचवटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् । जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने अन्य चारवटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन्। नेपालको कानुनअनुसार, कुनै पनि जलविद्युत् आयोजना निर्माण गर्दा खोलामा वर्षभरि कम्तीमा १० प्रतिशत पानी बगाउनुपर्ने व्यवस्था छ। 

जलविद्युत् विधेयकको परिच्छेद–८, दफा २७ मार्फत जलस्रोत संरक्षण, सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने प्रावधान गरेको छ। तर ताराखोलामा काम गरिरहेका  उत्पादक कम्पनीहरूले कुनै पनि प्रावधानको पालना गरेका छैनन्।

'व्यवहारिक रूपमा नदीमा अनिवार्य रूपमा छोडिनुपर्ने न्यूनतम प्रवाह  नछोड्दा समस्या झनै बढेको छ। नेपालका कानुनअनुसार, सुक्खा मौसमको औसत न्यूनतम बहावको कम्तीमा १० प्रतिशत  नदीमा बग्ने गरी छोड्नैपर्छ।' स्थानीय युवा डा गिरीश कँडेल भन्छन् , 'यस्ता कानुन नमानिँदा नदी सुक्ने, माछा–जनावरको जीवनचक्र अवरुद्ध हुने, र नागरिकको पानी पिउने अधिकारसमेत प्रभावित हुने अवस्था देखिएको छ।' वातावरण र पर्यावरण सम्बन्धी जानकार डाक्टर कँडेलले ताराखोला–दरमखोलामा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, प्राकृतिक उत्खनन, र विशेषगरी अनुगमनविहीन जलविद्युत् विस्तारले यस क्षेत्रलाई गम्भीर रूपमा प्रभावित पारेको बताएका छन्। 

ताराखोला दरमखोला संरक्षण अभियानमा लागेका अर्का युवा पूर्ण श्रीसले नदीको अस्तित्व नै नेटिने गरी कुनै पनि उत्खनन हुन नदिने बताएका  छन्। 'डोजर जताबाट आएको हो , उतै फर्किनु पर्छ' उनी थप्छन्, '१०, १२ वर्षअघि जहाँ गाई- भैँसीले सहजै पानी पिउँथे, किसानले सिँचाइ गर्थे, र नदी-नालाले गाउँको जीवन चलाइरहेको थियो, आज ती स्रोतहरू माटो, फोहोर र अव्यवस्थित निर्माण गतिविधिले थलिएका छन्। यसले कृषि, जनस्वास्थ्य, पशुपालन र दैनिक जीवनमा पर्ने असर त छँदै छ, जैविक विविधतामा समेत तीव्र गिरावट गराएको छ। जसको कारण नदीनालाको प्राकृतिक चक्र नै कमजोर हुँदै गएको छ। '

'जलविद्युत् कम्पनीहरूको प्रवेश अवसरको रूपमा भएपनि व्यवहारिक रूपमा नदीमा अनिवार्य रूपमा छोडिनुपर्ने न्यूनतम प्रवाह नछोड्दा समस्या झनै बढेको छ। नेपालका कानुनअनुसार, सुक्खा मौसमको औसत न्यूनतम बहावको कम्तीमा १० प्रतिशत नदीमा बग्ने गरी छोड्नैपर्छ। यस्ता कानुन नमानिँदा नदी सुक्ने, वासस्थान नष्ट हुने, माछा–जनावरको जीवनचक्र अवरुद्ध हुने, र नागरिकको पानी पिउने अधिकारसमेत प्रभावित हुने अवस्था देखिएको छ।' स्थानीय युवा दर्पण मगर भन्छन्–'दीर्घकालीन रूपमा हेर्दा पहिरोको जोखिम, पानी प्रदूषण, वन विनाश, जग्गा अधिग्रहण, तथा प्राकृतिक सौन्दर्य नष्ट हुनेजस्ता असर देखिन्छन्। यो विषयमा समयमै ध्यान नदिए नदी, वासस्थान, कृषि प्रणाली र सामुदायिक जीवन स्थायी रूपमा क्षतिग्रस्त हुनसक्छ।'

ताराखोला–दरमखोलामा हाम्रो गाउँ र वरिपरिका क्षेत्रका लागि लाईफलाईन हो। जलवायु परिवर्तन, अनियन्त्रित निर्माण कार्य र मानव क्रियाकलापका कारण नदीको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएकोको ताराखोलाबीसे चिन्ता गरेका छन्। उनीहरुले  जनप्रतिनिधि, स्थानीय बासिन्दा, युवा र सरोकारवाला निकायहरू सबै मिलेर ताराखोला–दरमखोलामा माथिको दोहन रोक्नका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्। 

582118273_1581338069704305_3370560020684277778_n

एक विज्ञप्ति जारी गर्दै उनीहरुले भनेका छन्, 'भविष्यका पुस्ताका लागि प्राकृतिक स्रोतहरूको संरक्षण सुनिश्चित गर्न हामीले आजै जिम्मेवार कदम चाल्नु पर्दछ।  यसका लागि स्थानीय सरकारको अभिभावकीय भूमिका तत्कालै सुनिश्चित गर्नु आवश्यक छ। यदि हामीले ताराखोला–दरमखोला नदीको अस्वाभाविक दोहन र अनियन्त्रित उत्खनन जारी राख्यौँ भने भविष्यमा हाम्रो पुस्तालाई विविध प्रकारका प्राकृतिक सङ्कटहरू सामना गर्नुपर्न सक्छ।'

ताराखोला र गलकोट क्षेत्रका  स्थानीय युवाहरू  पूर्ण श्रीस, डा गिरिस कँडेल, तारा थापा, जीवन केसी प्रगति थापा, प्रकाश रोका मगर, दिल निशानी मगर, राजु कँडेल  जितु घर्ती, कमल घर्ती मगर, जीवन गौचन, बाबुराम सापकोटा भीम श्रीस, प्रकाश निउरे, हरि मगर, राज कुमार सुबेदी, रामु सापकोटा लगायतले सामूहिक विज्ञप्ति जारी गरेका हुन् ।  विज्ञप्ति मार्फत उनीहरुले  ताराखोला-दरमखोला भित्र डोजर प्रयोग नगर्न र आसपासका प्राकृतिक स्रोतहरूको अनियन्त्रित उत्खनन नगर्न सबै पक्षसँग अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप