शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

खशोगी हत्या प्रकरण : ट्रम्पले गरे साउदी युवराजको बचाउ

बुधबार, ०३ मङ्सिर २०८२, ११ : १५
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमारको बचाउ गर्दै एबीसी न्युजकी पत्रकारलाई धम्की दिए।
  • पत्रकार मेरी ब्रुसले साउदी राजकुमार र ट्रम्पलाई खशोगी हत्या र व्यापारिक सम्बन्धबारे प्रश्न सोधिन्।
  • ट्रम्पले पत्रकारको प्रश्नको जवाफ दिँदै एबीसी न्युजको लाइसेन्स रद्द गर्ने धम्की दिए, जसलाई उनले 'भयानक रिपोर्टर' भने।

वासिङ्टन डीसी । मंगलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा साउदी पत्रकार जमाल खसोगीको हत्या प्रकरणमा आक्रामक ढंगले साउदी राजकुमारको बचाउ गरेका छन् ।

ओभल हाउसमा एबीसी न्युजका प्रमुख ह्वाइट हाउस संवाददाता मेरी ब्रुसले राजकुमार मोहम्मद बिन सलमानलाई खशोगी प्रकरणबारे प्रश्न सोधेकी थिइन् । लगातार तीन कडा प्रश्नहरू पछि ट्रम्पले उनलाई (ब्रुसलाई) भयानक रिपोर्टर भन्दै एबीसी न्युजको प्रसारण लाइसेन्स रद्द गर्ने धम्की नै दिए ।

मेरी ब्रुस राष्ट्रपति र साउदी युवराज मोहम्मद बिन सलमानलाई प्रश्न गर्न अनुमति दिइएका पत्रकारहरू मध्ये एक थिइन् । मौका पाउने बित्तिकै, उनले तीन प्रत्यक्ष र असहज प्रश्नहरू सोधिन् । उनले पहिलो प्रश्न ट्रम्प राष्ट्रपति हुँदा उनको परिवारले साउदी अरबमा व्यापार गर्नु उचित थियो भनेर सोधेकी थिइन् ।

दोस्रो, प्रश्न गर्ने क्रममा उनले क्राउन प्रिन्सलाई ‘अमेरिकी गुप्तचर एजेन्सीहरूले भनेका छन् कि तपाईं पत्रकार जमाल खशोगीकाे हत्यामा संलग्न हुनुहुन्छ । तपाईं यहाँ आउनुभएको भनेर ९/११ का पीडितहरूका परिवारहरू रिसाएका छन् । अमेरिकी जनताले तपाईंलाई किन विश्वास गर्नुपर्छ ?’ उनले ट्रम्पलाई पनि यही प्रश्न दोहोर्याइन् ।

तेस्रो प्रश्नमा भने ‘उनले ह्वाइट हाउसले जेफ्री एपस्टाइनका पत्र र कागजातहरूको थप विवरण जारी गर्न कांग्रेसलाई किन पर्खिरहेको छ ? किन अहिले नै जारी नगर्ने ?’ भनेर सोधेकी थिइन् । उनका यी प्रश्न सुनेपछि ट्रम्प रिसले चूर भएका थिए ।

‘मलाई प्रश्नसँग कुनै समस्या छैन, मलाई तपाईंको मनोवृत्तिमा समस्या छ । तपाईं एक भयानक रिपोर्टर हुनुहुन्छ’ मेरी ब्रुसलाई भने । आफ्नो पाहुनालाई लज्जित पार्न मात्रै यी प्रश्न उठाइएको पनि उनले बताए । एबीसीको समाचार ९७ प्रतिशत ट्रम्प विरोधी भएको अनि त्यसैले जनताले उनीहरूलाई विश्वास नगर्ने पनि उनको भनाइ थियो । ट्रम्पले एफसीसी अध्यक्ष ब्रेन्डन कारको नाम लिँदै एबीसीको लाइसेन्स खारेज गर्नेबारे विचार गरिनुपर्ने बताए ।

साउदी युवराजले २०१८ मा वाशिङगटन पोस्टका पत्रकार जमाल खशोगीको हत्यामा भूमिका खेलेको भनेर अमेरिकी गुप्तचर रिपोर्टहरूले सुझाव दिएका थिए । तर ट्रम्पले यो मूल्याङ्कनलाई अस्वीकार गर्दै उनी स्वयम् पनि अति नै विवादास्पद व्यक्ति भएको र धेरैले उनलाई मन नपराउने बताए । 

उता साउदी राजकुमारले खशोगी हत्या प्रकरणलाई पीडादायी र गम्भीर गल्ती भनेका छन् । गत हप्ता एक पत्रकार सम्मेलनको क्रममा ट्रम्पले ब्लूमबर्ग रिपोर्टर क्याथरिन लुसीबारे अपमानजनक टिप्पणी गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप