जेनजी आन्दोलनपछि शिथिल बनेको बजारलाई एनपीएलले दियो नयाँ ऊर्जा
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपालको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने आशा जगाएको छ।
- एनपीएलले खेलकुद पर्यटन र आर्थिक गतिविधिमा वृद्धि गर्ने अपेक्षा गरिएको छ, जसले साना व्यवसाय र तल्लो वर्गलाई पनि लाभान्वित गर्नेछ।
- एनपीएलले लगभग १ अर्ब रुपैयाँको आर्थिक कारोबार गर्ने अनुमान छ, जसमा स्पोन्सरसिप, टिकट बिक्री र प्रसारण अधिकारबाट आम्दानी हुनेछ।
काठमाडौँ । विश्वमा खेलकुद मनोरञ्जनको माध्यम र राष्ट्रिय गौरवको विषय मात्रै होइन, अर्थतन्त्रको शक्तिशाली इन्जिन समेत बनिसकेको छ । यसमा फुटबल र क्रिकेटको हिस्सा सबैभन्दा बढी छ ।
छिमेकी देश भारतमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल)का बेला अर्थतन्त्रको चलायमान निकै ठुलो हुन्छ । आईपीएल हुँदा अर्बौँ डलरको कारोबार हुन्छ भने त्यसले लाखौँलाई रोजगारी समेत दिन्छ । आईपीएलले भारतको विज्ञापन बजारलाई नै नयाँ उचाइमा पुर्याउँछ ।
युरोपमा फुटबलका ठुला-ठुला लिगहरू हुन्छन् । जस्तै- च्याम्पियन्स लिग, इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, बुन्डेस लिगा आदि । यी प्रतियोगिताले वार्षिक दसौँ अर्ब युरो बराबरको कारोबार गर्छन् । खेलकुदको माध्यमबाट पर्यटन उद्योगलाई पनि ठुलो फाइदा पुग्छ ।
यो अन्तर्राष्ट्रिय सूत्रलाई नेपालले पनि अवसरका रूपमा लिएर आत्मसात् गर्न ढिलो गर्नु हुँदैन । अहिले साउथ एसिया नै क्रिकेटको हब बनिरहेको छ । नेपालमा पनि क्रिकेटको क्रेज उच्च छ । नोभेम्बर १ देखि नेपालमा नेपाल प्रिमियर लिग क्रिकेट सुरु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि शिथिल बनेको नेपालको अर्थतन्त्रलाई एनपीएलले केही हदसम्म चलायमान बनाएको छ । एनपीएलले ‘उत्सव अर्थतन्त्र’को माध्यमबाट सकारात्मक ऊर्जा थप्ने आशा जगाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको यो व्यावसायिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाली खेलकुद इतिहासको अहिलेसम्मकै ठुलो बजेटको खेलकुद कार्यक्रम हो । जसले करिब एक महिनाको अवधिमा १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
_wwar9Dbpbj.jpg)
एनपीएलले पनि भारत र युरोपेली देशहरूको जस्तै रोजगारी, विज्ञापन बजारदेखि साना होटल, यातायात, चिया पसल, चटपटे पसलदेखि पानीपुरी बेच्नेसम्मले यसबाट आर्थिक लाभ लिन सक्छन् । यसले आर्थिक सिर्जना तल्लो र निम्न वर्गसम्म पुर्याउने छ ।
त्यस्तै, स्पोन्सरसिप, टिकट बिक्री र प्रसारण अधिकारमार्फत ४० करोड रुपैयाँ आम्दानीको लक्ष्य राखेको छ । एनपीएलमा अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमन र देशभित्रबाट आउने दर्शकहरूको भीडका कारण स्थानीय यातायातमा समेत सकारात्मक प्रभाव पर्नेछ ।
सुस्त अवस्थामा रहेको अर्थतन्त्रमा यो क्रिकेट उत्सवले कर्पोरेट हाउस, व्यवसायी तथा निम्न वर्गका नागरिकलाई समेत तत्काल आर्थिक राहत प्रदान गर्ने विश्वास गरिएको छ । जेनजी आन्दोलनसँगै शिथिल बनेको नेपालको अर्थतन्त्रलाई दोस्रो संस्करणको एनपीएलले मनोवैज्ञानिक, सामाजिक र आर्थिक गरी तीनै तहमा सकारात्मक ऊर्जा दिएको छ ।
मनोवैज्ञानिक, सामाजिक र आर्थिक प्रभाव : डा. थापा
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका पूर्वप्रमुख डा. रेशम थापा एनपीएलजस्ता ठुला खेलकुद प्रतियोगिताले देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।

जेनजी आन्दोलन र अन्य कारणले शिथिल बनेको अर्थतन्त्रमा एनपीएलले तीन तहमा सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ । यस्ता प्रतियोगिताले सबैभन्दा पहिले युवा वर्गमा मनोवैज्ञानिक रूपमा सकारात्मक प्रभाव पार्छ ।
‘मनोवैज्ञानिक हिसाबले युवावर्गलाई केही भइरहेको छ, रमाइलो भइरहेको छ भन्ने सन्देश जान्छ,’ उनले भने, ‘यो आर्थिक भन्दा पनि महत्त्वपूर्ण मनोवैज्ञानिक प्रभाव हो ।’ यस्तो सकारात्मक ऊर्जाले आर्थिक गतिविधिमा सहभागी हुन उत्प्रेरणा दिने उनी बताउँछन् ।
एनपीएलले विभिन्न उमेर, जाति र क्षेत्रका मानिसहरूलाई एकै ठाउँमा ल्याएर सामाजिक सद्भाव बढाउन मद्दत गर्नेछ । ‘फरक–फरक जिल्लाका मानिस एकै ठाउँमा बसेर आफ्नो टिमको पक्ष वा विपक्षमा ताली बजाउँदा फाटेका मनहरूलाई जोड्ने काम गर्छ,’ डा. थापाले भने ।
आर्थिक पक्षलाई तेस्रो महत्त्वपूर्ण प्रभावका रूपमा उल्लेख गर्दै डा. थापाले एनपीएलले ठुला होटल र पर्यटन व्यवसायलाई मात्र नभई तल्लो तहको अर्थतन्त्रलाई पनि चलायमान बनाउने बताए ।
होटल व्यवसायलाई राहत, खेलकुद पर्यटनको नयाँ क्षितिज : विनायक शाह
नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाह एनपीएलले देशको सुस्त अर्थतन्त्रमा सकारात्मक सञ्चार गरेको बताउँछन् ।
‘अहिलेको सुस्त अवस्थामा यसले केही न केही सकारात्मक प्रभाव पारेको छ,‘ उनले भने, ‘ होटल, साना मःम पसल,चिया खाजा पसल, यातायात सबै क्षेत्रलाई यसले चलायमान बनाएको छ ।’

उनले एनपीएलको दोस्रो संस्करणसँगै नेपालमा खेलकुद पर्यटनको नयाँ क्षितिज सुरुवात भएको दाबी गरे । शाहका अनुसार एनपीएलमा सहभागी आठवटै फ्रेन्चाइज टिमहरू काठमाडौँका स्टार होटलहरूमा बसेका छन् । जसले करिब एक महिनासम्म होटलको अकुपेन्सी, खाना र यातायातमा उल्लेख्य रूपमा व्यापार वृद्धि हुनेछ ।
एनपीएलमा विदेशी खेलाडी र स्वदेशी समर्थकको आगमनले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको उनी बताउँछन् । जनकपुर, चितवन, सुदूरपश्चिमजस्ता देशका विभिन्न भागबाट समर्थकहरू आफ्नो टिमको खेल हेर्न काठमाडौँ आउने क्रम बढेको छ, जसले काठमाडौँको समग्र पर्यटन व्यवसाय लाभान्वित भएको छ ।
‘एनपीएलले नेपालमा स्पोर्ट्स टुरिजमको एउटा नयाँ क्षितिज उघारेको छ,‘ शाहले भने, ‘विश्वकपमा छनोट भइसकेको क्रिकेट खेलमा नेपालको सम्भावना अपार छ । यसलाई हामीले सदुपयोग गर्नुपर्छ ।’
एनपीएललाई काठमाडौँमा मात्र सीमित नराखी निर्माणाधीन अवस्थामा रहेका मूलपानी, चितवन, भैरहवा र धनगढीका मैदानहरूलाई स्तरोन्नति गरी देशव्यापी बनाउनुपर्ने उनी सुझाव दिन्छन् । क्रिकेट बाहेक गल्फ र म्याराथनजस्ता खेलकुदले पनि नेपालको पर्यटनमा ठुलो योगदान दिन सक्ने शाह बताउँछन् ।
एनपीएलको वित्तीय खाका
नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको एनपीएलबाट करिब ४० करोड रुपैयाँ आम्दानी गर्ने अपेक्षा राखेको छ । यो आम्दानीको स्रोत स्पोन्सरसिप, टिकट बिक्री, आठवटै फ्रेन्चाइज टिमका ओनरबाट प्राप्त हुने रकम र ओटीटी प्रसारण अधिकार मुख्य छन् ।

एनपीएलका लागि टिम ओनर पक्षबाट हालसम्म करिब ९ करोड रुपैयाँ जुटिसकेको छ भने ओटीटी प्रसारण अधिकारबाट मात्र ५ करोड ३० लाख रुपैयाँ प्राप्त हुने क्यानको तथ्याङ्क छ । त्यस्तै, दर्शकको राम्रो उपस्थिति रहने अपेक्षाका कारण टिकट बिक्रीबाट न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य राखिएको छ ।
मुख्य र अन्य स्पोन्सरसिप प्याकेजबाट करिब १५ करोड रुपैयाँसम्मको रकम सुरक्षित भएको जानकारी क्यानले दिएको छ । एनपीएलमा सहभागी आठवटै फ्रेन्चाइज टोलीले पनि यस वर्ष ८ देखि १० करोड रुपैयाँसम्म खर्च गर्ने अनुमान गरिएको छ ।
खेलाडीको तलब, भत्ता, खाने बस्ने व्यवस्था, स्वास्थ्य र प्रशिक्षण लगायतमा यो रकम खर्च हुनेछ । फ्रेन्चाइज टोलीले नेपाली खेलाडीमा १ करोड र विदेशी खेलाडीमा २ करोड हाराहारीमा खर्च गर्दैछन् । यसरी करिब एक महिनाको अवधिमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ६० भन्दा बढी कर्पोरेट हाउस संलग्न भएको यो प्रतियोगिताले कुल १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गराउने क्यानको अनुमान छ ।
एनपीएलमा ११ देशका चर्चित खेलाडीहरू नेपाल आइसकेका छन्, जसले नेपाललाई खेलकुद पर्यटनको दृष्टिकोणले समेत सकारात्मक सन्देश दिएको छ । क्यानको आँकलन अनुसार यो सिजनमा साढे तीन लाखभन्दा बढी दर्शकले एनपीएल अवलोकन गर्नेछन् ।
पहिलो पटक आयोजना भएको एनपीएलको वित्तीय कारोबार उत्साहजनक रहेको थियो । त्यही अनुसार एनपीएलको दोस्रो संस्करणले ठुलो आर्थिक कारोबारको लक्ष्य राखिएको छ ।
क्यानका अनुसार पहिलो संस्करण आयोजना गर्दा कुल २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ आम्दानी भएको थियो । जसमध्ये २० करोड १५ लाख ७३ हजार पाँच सय ५९ रुपैयाँ खर्च भएको थियो । यसरी हेर्दा पहिलो संस्करणको कुल आम्दानी सात करोड ५३ लाख ९१ हजार दुई सय रुपैयाँ भएको थियो । त्यसको ५० प्रतिशत अर्थात् चार करोड ३७ लाख ४० हजार चार सय ७० रुपैयाँ आठवटा फ्रेन्चाइज टोलीलाई वितरण गरिएको थियो ।आठवटा फ्रेन्चाइज टोलीलाई वितरण गरेपछि बाँकी रहेको तीन करोड १६ लाख ५० हजार सात सय ८९ रुपैयाँबाट ७० लाख रुपैयाँ प्रदेश क्रिकेट संघहरुलाई दिएर क्यानले कुल दुई करोड ४६ लाख ५० हजार सात सय ८९ रुपैयाँ खुद नाफा गरेको थियो।
यसबाट स्पष्ट हुन्छ कि नेपालमा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आर्थिक रूपमा सफल हुने बलियो सम्भावना बोकेको क्षेत्र हो।
यसरी समग्रमा हेर्दा दोस्रो संस्करणको नेपाल प्रिमिअर लीग (एनपीएल) सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने एक सशक्त अवसरका रूपमा देखिएको छ।
यो अवसरलाई पूर्ण रूपमा सदुपयोग गर्न राज्यले खेलकुदलाई आर्थिक क्षेत्रको एक महत्त्वपूर्ण हिस्साको रूपमा लिएर सोही अनुसारको नीति बनाउनुपर्ने अबको आवश्यकता देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण