बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रदेश

गण्डकीमा कृषि उत्पादन घट्यो, महमा उल्लेख्य वृद्धि

बिहीबार, ०४ मङ्सिर २०८२, १४ : ०५
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • गण्डकी प्रदेशमा कृषि उत्पादन घटेको आर्थिक सर्वेक्षणले देखाएको छ, जसमा खेतीयोग्य जमिन घट्दै गएको उल्लेख छ।
  • धान, मकै, र गहुँको उत्पादन घटेको छ भने मह र कफी उत्पादन बढेको छ।
  • उत्पादन घट्नुको कारणमा किसानको पहुँचमा भूमि नहुनु, सिँचाइको अभाव र वन्यजन्तुको क्षति रहेको बताइएको छ।

पोखरा । गण्डकी प्रदेशमा कृषि उत्पादन घटेको आर्थिक सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रदेशस्तरीय सर्वेक्षणले यहाँको प्रमुख कृषि बाली उत्पादनमा चिन्ताजनक ह्रास आएको देखाएको हो ।

प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल १.११ प्रतिशत घटेर ४ लाख ३१ हजार ३८५ हेक्टरमा खुम्चिएको छ । बसाइसराइ र वैदेशिक रोजगारीका कारण खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो अवस्थामा रहेको सर्वेक्षणको निष्कर्ष छ ।

रिपोर्टका अनुसार, प्रमुख कृषि बालीको उत्पादनमा झन्डै १० प्रतिशतले कमी आएको छ । धानमा ३.२२ प्रतिशत, मकैमा १६.२३ गहुँमा २०.११ प्रतिशत ह्रास आएको छ । तरकारी उत्पादनमा १०.९८ प्रतिशत र मसलाजन्य उत्पादनमा भने ५.२६ प्रतिशत बढेको देखाएको छ । मह उत्पादनमा भने गण्डकीले निकै उत्कृष्ट प्रगति हासिल गरेको छ ।

गत वर्षको तथ्याङ्क हेर्दा मह उत्पादन ६९.६९ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा ३४५ मेट्रिक टन मह उत्पादन भएकोमा पछिल्लो आर्थिक वर्ष ५८५ मेट्रिक टन उत्पादन भएको थियो ।

कफी उत्पादन पनि बढोत्तरी भएको छ । अघिल्लो आर्थिक वर्ष ११७ मेट्रिक टन कफी उत्पादन भएको गण्डकीमा पछिल्लो वर्ष १७४ मेट्रिक टन पुगेको छ । फलफूल उत्पादनमा भने केही ह्रास देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ३ हजार ९६१ मेट्रिक टन उत्पादन भएको फलफूल अध्ययनको वर्ष २०८१/०८२ मा ०.४८ प्रतिशत घटेर १ लाख ३ हजार ४ सय ६६ मेट्रिक टनमा झरेको छ ।

पशुपालनतर्फ दुध उत्पादन केही घटे पनि अण्डा र मासुको उत्पादन भने उल्लेख्य बढेको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २६ करोड ४ लाख २६ हजार लिटर दुध उत्पादन भएकोमा पछिल्लो वर्ष घटेर २५ करोड ७१ लाख ६८ हजार लिटरमात्रै उत्पादन भएको थियो । तर, मासु र अण्डा उत्पादन निकै बढेको छ । मासुमा १.३६ प्रतिशत र अण्डामा झण्डै ५ प्रतिशत उत्पादन वृद्धि भएको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा ५४ हजार ६ सय ५ मेट्रिक टन मासु उत्पादन भएकोमा बढेर ५५ हजार ३४५ मेट्रिक टन पुगेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा २४ करोड १२ लाख अण्डा उत्पादन भएकोमा पछिल्लो वर्ष २५ करोड २९ लाख गोटा उत्पादन भएको छ । माछापालनचाहिँ केही घटेको छ । अध्ययन वर्षमा १ हजार ६१७ मेट्रिक टन उत्पादन भएकोमा त्यसअघि १ हजार ६२९ मेट्रिक टन उत्पादन भएको थियो ।

वास्तविक किसानको पहुँचमा भूमि उपलब्ध नहुँदा उत्पादन कम भएको अध्ययनको निष्कर्ष छ । यस्तै, सिँचाइ, उन्नत बिउ र मलको अभाव तथा बाँदर लगायत वन्यजन्तुबाट हुने क्षति प्रमुख चुनौती हो । गण्डकीमा कृषि उत्पादनको सम्भावना प्रशस्त भए पनि राज्यले व्यापक सुधार गर्नुपर्ने सुझाव अध्ययनले दिएको छ ।

विशेषगरी, विदेशवाट फर्किएका युवाको सिप, ज्ञान र पूँजीलाई कृषिमा जोड्न सके र भूमि बैंकको अवधारणा कार्यान्वयन गर्न सके गण्डकीले कृषिबाट उल्लेख्य प्रगति हासिल गर्ने रिपोर्टमा उल्लेख छ ।

गण्डकीको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी सेवा क्षेत्रको योगदान छ । ५६ प्रतिशत योगदान सेवा क्षेत्रले मात्रै दिएको छ भने देशको अर्थतन्त्रलाई मजबुत बनाउने कृषि र उद्योग क्षेत्रको योगदान टिठलाग्दो छ । कृषि क्षेत्रको योगदान करिब २८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १६ प्रतिशत हाराहारी छ । राष्ट्रिय तथ्यांकभन्दा गण्डकीको योगदान केही सकारात्मक भए पनि धेरै सुधारको खाँचो रहेको विज्ञहरूको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप