निर्वाचन स्विकार्दै ‘बहुपक्षीय राष्ट्रिय संवाद’ मा कांग्रेस
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ।
- कांग्रेसले भयरहित निर्वाचनका लागि सरकारलाई वातावरण बनाउन माग गरेको छ, साथै बहुपक्षीय राष्ट्रिय संवादको पहल गर्ने निर्णय गरेको छ।
- कांग्रेसले जेनजी आन्दोलनपछि दलहरू एक ठाउँमा आउन नसकेको अवस्थामा सबै पक्षलाई राष्ट्रिय मुद्दामा उभ्याउन संवादको आवश्यकता औंल्याएको छ।
काठमाडौँ । प्रतिनिधिसभाको आगामी फागुन २१ गते हुने निर्वाचनबारे लामो समय निर्णय नगरेको नेपाली कांग्रेसले अन्ततः निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त निर्वाचनमा भाग लिने निर्णय गरेसँगै उसले भयरहित निर्वाचनका लागि सरकारलाई वातावरण बनाउन माग गरेको छ ।
त्यसअघि कांग्रेसले आफ्नै अगुवाइमा बहुपक्षीय राष्ट्रिय संवाद गर्ने भएको छ । जेनजी आन्दोलनपछि पुराना दल र नयाँ शक्तिहरू एक ठाउँमा आउन नसकिरहेको र एकले अर्कोलाई स्विकार्न नसकेको अवस्थामा कांग्रेसको यो पहलले सबै पक्षलाई मुलुकको आवश्यकता र राष्ट्रिय मुद्दामा एक ठाउँमा उभिने असर जुटाउने सक्ने नेताहरूको भनाइ छ ।
प्रतिनिधिसभाको विघटन स्विकार्न पुरानोमध्येको एक दल नेकपा एमालेलाई कठिन भइरहेका बेला कांग्रेसको यो निर्णयले एमालेलाई समेत चुनावको पक्षमा निर्णय गर्न बाध्य तुल्याउने छ ।
यद्यपि कांग्रेसले प्रतिनिधि सभा विघटनको मुद्दा राजनीतिक मात्र नभएर संवैधानिक समेत भएको ठहर गरेको छ । यसो भनेपनि कांग्रेसले फागुन २१ को निर्वाचनका लागि निर्वाचन आयोग पुगेर आइतबार दल दर्ताको प्रक्रियामा सहभागी भैसकेको छ ।
‘नेपाली कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आव्हानमा जनताले धैर्य, सङ्घर्ष र त्यागका माध्यमबाट स्थापित गरेको सङ्घीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास हाम्रो साझा जिम्मेवारी हो’, कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक रहेकोमा जोड दिएको छ । ‘साथै, निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ’, उसले निर्वाचनका लागि शान्ति सुरक्षाको सुनिश्चितता पनि खोजेको छ ।
जेनजी आन्दोलनले सत्ता परिवर्तन भए पनि उनीहरूका माग सम्बोधन हुन सकिरहेका छैनन् । स्वयं जेनजी अगुवाहरू माग सम्बोधनमा ढिलाइ भएकोमा आक्रोश व्यक्त गरिरहेका छन् । फेरिएको परिस्थितिमा जेनजीका मागलाई बेवास्ता गर्न सक्ने सामर्थ्य कुनै पनि दलको छैन । त्यसैले कांग्रेसले जेनजी प्रदर्शन मार्फत परिवर्तनका लागि मुखरित आवाजको संशोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक भएको भन्दै त्यस्तो संवादको थालनी गर्ने केन्द्रीय समिति बैठकमार्फत नै निर्णय गरेको छ ।
‘सुशासन र पारदर्शिता लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै, संविधानको मर्म र मूल्य मान्यता बमोजिम रूपान्तरण सहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यक छ’, कांग्रेसले शनिबारको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाली कांग्रेस विघटित प्रतिनिधि सभाका दलहरू, प्रदर्शन पश्चात् उदाएका दलहरू, जेनजी पुस्ता, नागरिक समाज, बुद्धिजीवी, व्यापारिक व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालासँग बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आव्हान गर्दछ र यसका लागि नेपाली कांग्रेस आवश्यक पहल गर्ने निर्णय गर्दछ ।’
नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा बहुपक्षीय राष्ट्रिय संवादमार्फत विभाजित समाज, राजनीतिक दल र शक्तिहरूलाई समेट्न मद्दत पुग्ने विश्वास गर्छन् । उनका अनुसार केन्द्रीय कमिटी बैठक लगत्तै बहुपक्षीय संवादका लागि शीर्ष नेतृत्व सम्मिलित एक समितिको गठन गर्ने तयारी छ ।
‘वर्तमान राजनीतिक परिस्थितिमा संविधानका पक्षधर र व्यवस्थाका लागि सहयात्रा गरेका दलहरूबिचमा सहकार्य आवश्यकता छ’, विश्वकर्मा बहुपक्षीय राष्ट्रिय संवादबारे भन्छन्, ‘तर त्यो सहकार्यका लागि संवाद सुरु नभएको अवस्थामा राजनीतिक स्थिरता र संवैधानिक निकासका लागि कांग्रेसले अग्रसरता लिनुपर्छ भन्ने हो ।’
बहुपक्षीय संवादमा सबै राजनीतिक दल, नागरिक समाज,बुद्धिजीवी, सञ्चारकर्मी र व्यापारी व्यवसायीहरू सहभागी हुने नेता विश्वकर्माको भनाइ छ ।
‘केन्द्रीय समिति बैठक सकिनेवित्तिकै हामी संवाद गर्ने टोली बनाउँछौ’, विश्वकर्माले भने,‘पार्टीका शीर्ष नेताको संयोजकत्वमा त्यो टोली बन्छ ।’ शनिबारको बैठकले सर्वपक्षीय संवादको ‘कन्सेप्ट’ पास भएकाले कार्यान्वयनका लागि अव अव तयारी सुरु गर्ने विश्वकर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण