अलबिदा धर्मेन्द्र : हिरो मात्र होइन, यादका हिस्सा रहनेछन् 'शोले'का वीरु
सारांश
- बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भयो, उनी लामो समयदेखि श्वासप्रश्वासम्बन्धी रोगबाट पीडित थिए।
- धर्मेन्द्रले सन् १९६० मा 'दिल भी तेरा हम भी तेरे' बाट बलिउडमा डेब्यु गरेका थिए र उनले ३०० भन्दा बढी फिल्ममा अभिनय गरे।
- धर्मेन्द्रले सन् २००४ देखि २००९ सम्म लोकसभा सदस्यको रूपमा पनि काम गरे र उनले दुई विवाह गरे।
काठमाडौं । ‘बसन्ती इन कुत्तो के सामने मत नाचना’ । ‘शोले’ को यो चर्चित डायलग अब वीरु अर्थात् धर्मेन्द्रको मुखबाट लाइभ सुन्न पाइने छैन । किनकि बलिउडका यी ‘ही-म्यान’ अब भौतिक रुपमा संसारमा रहेनन् । ८९ वर्षको उमेरमा यी उम्दा अभिनेताको सोमबार निधन भएको छ ।
श्वासप्रश्वासम्बन्धी रोगले लामो समयदेखि थलिएका धर्मेन्द्रले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास फेरे । हुन त बिचमा एकपटक स्वास्थ्यमा केही सुधार देखिँदा घर फर्केर पनि आएका थिए । तर फेरि रोगले च्यापेपछि उनी फेरि अस्पताल नै पुग्नुपर्यो, विडम्बना त्यसपछि उनी कहिल्यै घर फर्केर आउन पाएनन् ।
८ डिसेम्बर सन् १९३५ मा पञ्जाबको नसराली गाउँमा जन्मेका थिए धर्मेन्द्र । बुवा केवल क्रिशन र आमा सतवन्त कौरको कोखबाट जन्मिएका धर्मेन्द्रको पूरा नाम धर्मेन्द्र केवल क्रिशन हो । तर उनी फिल्मी दुनियाँमा धर्मेन्द्रको नामबाट विख्यात भए । ‘शोले’को वीरु उनको पर्दाको उपनाम नै बन्यो ।

पञ्जाबी गाउँका सिधासाधा युवक खेतीपातीमा रमाइरहेका थिए । मुम्बई पुगेर २५ वर्षको उमेरमा अर्थात् सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ फिल्मबाट बलिउडमा डेब्यु भए । त्यसपछि उनले फर्केर हेर्नु परेन । धर्मेन्द्रलाई उधुमै चिनाउने फिल्म हो ‘शोले’ । यो फिल्ममा उनले निभाएको वीरु चरित्रलाई फिल्मप्रेमी जो कोहीले बिर्सन सक्दैन । धर्मेन्द्रका फूल और पत्थर, शोले, चुपके चुपके, शराफत, सत्यकाम, अनुपमा, धरमवीर, यमलापगला दीवाना अत्यधिक रुचाइएका फिल्म हुन् । यी हरेक फिल्ममा उनी कहीं वीर बने, कहीँ कवि त कहीँ दीवाना । करिब ६० वर्षको फिल्म करिअरमा धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरे ।
जीवनको उत्तरार्धतिर उनी चरित्र अभिनेताको रुपमा पनि थुप्रै फिल्ममा देखिए । प्यार किया तो डरना क्या, लाइफ इन अ मेट्रो, अपने, जोनी गद्दार, यमला पगला दीवाना, रकी और रानी की प्रेम कहानी । ‘तेरी बातों मे ऐसा उल्झा दिया’ धर्मेन्द्र अभिनित अन्तिम फिल्म बन्यो ।
६० को दशकदेखि बलिउडलाई नियालिरहेका धेरैका लागि धर्मेन्द्र हिरो मात्रै होइनन्, यादका हिस्सा पनि हुन् ।
धर्मेन्द्रले फिल्मी करिअरमा लागेर सबथोक पाए । एकसे एक हिट फिल्म दिए । थुप्रै प्रतिष्ठित अवार्ड जिते । सन् १९९७ मै फिल्म फेयर लाइफ टाइम अचिममेन्ट अवार्डबाट सम्मानित भए । सन् २०१२ मा पद्म भूषण प्राप्त गरे ।
फिल्ममा मात्र होइन, धर्मेन्द्र राजनीतिक करिअरमा पनि सफल बने । सन् २००४ देखि २००९ सम्म उनी लोकसभा सदस्य बनेका थिए । भारतीय जनता पार्टीबाट राजस्थानको विकानर क्षेत्रबाट उनी निर्वाचित भएका थिए ।

धर्मेन्द्रले जीवनमा दुई जनासँग विवाह गरे । सन् १९५४ मा प्रकाश कौरसँग विवाह गरेका उनीहरुका तर्फबाट सनी देओल र बबी देओल सन्तान छन् । उनीहरु बलिउडका लोकप्रिय स्टारहरु हुन् । प्रकाश कौरको सन् १९८२ मा निधन भयो ।
सन् १९८० मै अभिनेत्री हेमा मालिनीसँग धर्मेन्द्रले दोस्रो विवाह गरेका थिए । जसको तर्फबाट ईशा देओल जन्मिइन् । ईशा पनि बलिउडकी चर्चित अभिनेत्री हुन् । धर्मेन्द्रको हेमा मालिनीसँगको प्रेम किस्सा आज पनि बलिउडमा निकै चर्चित छ । ‘ड्रिम गर्ल र ही-म्यान’को प्रेमलाई बलिउडको चर्चित प्रेम कहानी मानिन्छ ।
उमेरको उत्तरार्धमा पुगेसँगै पछिल्ला दिनमा धर्मेन्द्र चरित्र अभिनेताका रुपमा सक्रिय थिए । सन् २०१८ मा उनको ‘यमला पगला दीवना : फिर से’ रिलिज भएको थियो भने । सन् २०२० मा सिमला मिर्ची र जोरा : द सेकेन्ड च्याप्टर आएको थियो । सन् २०२३ मा रिलिज भएको ‘रकी और रानी की प्रेम कहानी’ मा निर्वाह गरेको चरित्रलाई निकै रुचाइएको थियो ।

सन् २०२४ मा ‘तेरी बातों में ऐसा उल्झा दिया’ रिलिज भएको थियो । सन् २०२५ मा रिलिज भएको सीताराम राघवन निर्देशित ‘ईक्किस’ धर्मेन्द्र अभिनित अन्तिम फिल्म हुन पुगेको छ ।
धर्मेन्द्रले आफ्नो फिल्मी करिअरमा जे जति दिए, सबै दिए । उनका फिल्मी कृतिहरुले सधैं याद जगाउनेछन् । त्यसैले भन्न सकिन्छ- ‘जब तक ‘बसन्ती, इन कुत्तों के सामने मत नाचना’ याद रहेगा, तब तक धरम पाजी कहीं न कहीं ज़िंदा रहेंगे ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण