बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माछा मार्ने जाल उत्पादनमा बाहिरी श्रमिकको योगदान

सोमबार, ०८ मङ्सिर २०८२, २१ : ०५
सोमबार, ०८ मङ्सिर २०८२

चितवन । खोलामा, ताल–पोखरीमा माछा मार्न प्रयोग हुने जालहरू हामीले देखेकै छौँ, तर त्यो जाल कहाँ र कसरी बन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यो जाल बनाउन चाहिने कच्चापदार्थ बाहिरी मुलुकबाट ल्याइएर निर्माण गरिन्छ र  स्थानीय बजारमा पठाइन्छ । 

चितवनको नारायणगढस्थित बालकुमारी सब्जी मण्डीका केही सटरमा सञ्चालन हुने माछा मार्ने जाल निर्माणमा बाहिरी श्रमिकको उल्लेखनीय योगदान रहेको छ । 

भारतको बिहार प्रदेशबाट दशकौँअघि रोजगारीको खोजीमा चितवन आएका परिवारहरू अहिले जाल बुन्ने सीपका मुख्य बाहक बनेका छन् । 

मण्डीका  ८–१० सटर र नजिकै पोखरा बसपार्कका केही स्थानबाट श्रमिकको सीप, श्रम र परिवारगत सहभागिताका कारण स्थानीय बजारमा जालको आपूर्ति निरन्तर हुँदै आएको छ । जाल बुन्ने तथा बेच्नेहरूका अनुसार अहिले माछा मार्ने मुख्य याम नभए पनि केही माग रहने भएकाले पेसाकर्मीहरू यस समयमा जाल निर्माणको तयारीमै व्यस्त रहने गर्छन् ।

सानै उमेरदेखि नारायणगढमै जाल बुनेर जीविकोपार्जन गर्दै आएका ६० वर्षे ललन सहनीले भने,“हाम्रा बाबु–बाजेले यही काम गर्नुहुन्थ्यो । मैले त खास जाल बुन्ने सीप कलकत्तामै सिकेको हुँ । म सबै प्रकारका डिजाइनका जाल बनाउन सक्छु ।” 

उनका अनुसार परिवारका सबै सदस्य यही काममा संलग्न छन् । उनका बुवा पनि यही पेसा गरेर बिते। माग बढी हुने समयमा दिनमै पाँच वटासम्म पनि बनाएको उनले सुनाए । 

उनका अनुसार एउटा माछा मार्ने जाल रु तीन हजारदेखि तीन हजार ५०० सम्म बिक्री हुन्छ । अबको तीनदेखि चार महिनापछि यसको माग बढी हुने उनको भनाइ छ । जाल बनाउन पहिले जस्तै प्राकृतिक धागो वा स्थानीय सामग्री प्रयोग हुन्थ्यो ।

अहिले धागो रिङलगायतका सामग्री बजारमा सजिलै पाइने भए पनि जाल बुन्ने सीप र मेहनत भने उस्तै जटिल रहेको उनको भनाइ छ ।बालकुमारी मण्डीकै सटरमा जाल बुन्दै आएका पवन कुमारको परिवार पनि यही पेसामा छ ।

“बुवाले जाल बुनेको देखेर नै सिकेको हो । जाल बनाउन चाहिने सबै सामान भारतबाट ल्याइन्छ । हामी दाजुभाइ मिलेर यही पेसा गर्दै आएका छौँ”, पवनले सुनाए । 

उनका अनुसार पसलमा जाल थोक र खुद्रा दुवै रूपमा बिक्री हुन्छ । “तियारी जाल र हान्ने जाल फरक फरक हुन्छन् । आकार र धागोको गुणस्तरअनुसार मूल्य फरक पर्छ”, पवनले बताए। हाल उनीहरुले अनलाइनमार्फत पनि अर्डर लिएर जाल बिक्री गर्दै आएका आएका छन् । 

 दमौली, पोखरा, लमजुङ, गोरखा लगायत स्थानबाट अर्डर आउने र महिनामा रु २–३ लाखसम्मको कारोबार हुने उनको भनाइ छ ।

जालकै काम गर्दै आएका अभिषेक कुमारले भने,“सिजनको मुख्य समय चैतदेखि जेठसम्म हो । अहिले सिजन होइन, त्यसैले पसल खोलेर जाल बुन्ने मात्र काम हुन्छ । अलिअलि ग्राहक आए बेच्ने हो खासै यो समय होइन ।” उनले पनि यो सीप आफ्ना बुबाबाटै सिकेको बताए।

उनका अनुसार माछा मार्नेहरूको सङ्ख्या केही घटे पनि ताल–फार्म, माछा व्यवसायी तथा स्थानीय उपभोक्ताको माग स्थिर भएकाले जालको माग निरन्तर रहने गर्दछ । 

जालकै काम गरेर घर खर्च चलिरहेको र अन्य कुनै पेसामा संलग्न नभएको अभिषेकले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप