शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

एनपीएल : विराटनगरको पहिलो हार, चितवनको दोस्रो जित

बुधबार, १० मङ्सिर २०८२, १९ : १३
बुधबार, १० मङ्सिर २०८२

काठमाडौँ । चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

बुधबार भएको खेलमा चितवनले विराटनगर किङ्समाथि चितवन राइनोजले ४८ रनको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १५ ओभर बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२६ रन बनायो ।

विराटनगरका लागि मार्चन्ट डी ल्याङ्गेले सर्वाधिक ३९ रनको योगदान गरे । २२ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै प्रतिश जिसीले ३० रन बनाउँदा साम हेजलेटले २२ रनको योगदान गरे ।बलिङतर्फ चितवनका रन्जित कुमारले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका उनले २२ रन खर्चिए ।

त्यस्तै कमलसिंह ऐरीले दुई विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।  

चितवनका लागि रवी बोपराले सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

बोपराको यो सिजनको लगातार तेस्रो अर्धशतक हो । बोपराले यसै सिजनमा यसअघि दुई अर्धशतक प्रहार गरिसकेका थिए ।

उनको पहिलो अर्धशतक कर्णाली याक्सविरुद्ध ५२ रनको थियो भने दोस्रो अर्धशतक लुम्बिनीविरुद्ध ६६ रनको थियो ।

त्यस्तै कप्तान कुशल मल्ले २० रन बनाउँदा शेफ जैबले ३३ रनको योगदान गरे । चितवनका देव खनालले २८ रन जोड्दा डेविड मलानले १७ रन जोडे ।

बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चान्ट डी ल्याङ्गे दुई–दुई विकेट लिए । त्यस्तै शुभम रन्जानेले एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै चितवनले तीन खेलबाट ४ अङ्क जोडेको छ । पराजित विराटनगरको चार खेलबाट ६ अङ्क छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप