‘चौथो एनआरएनए भलिबल कप–२०२६’ घोषणा
सारांश
- एनआरएनए युएईले 'एनआरएनए भलिबल कप-२०२६' आयोजना गर्दैछ, जुन जनवरी ४ मा दुबईमा हुनेछ।
- प्रतियोगितामा युएईभरका नेपाली खेलाडी, क्लब र संघसंस्थालाई सहभागी हुन आह्वान गरिएको छ, जसमा दर्ता शुल्क १ हजार दिराम तोकिएको छ।
- विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ, जसमा पहिलो हुनेलाई ११ हजार १ सय ११ दिरामसहित अन्य पुरस्कारहरू रहेका छन्।
दुबई । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएईले आफ्नो चौथो संस्करणको ‘एनआरएनए भलिबल कप–२०२६’ आयोजना गर्ने भएको छ।
आगामी जनवरी ४ तारिखका दिन दुबईमा भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस प्रतियोगितामा सहभागिताका लागि युएईभर छरिएर रहेका नेपाली भलिबल खेलाडी, विभिन्न क्लब तथा सक्रिय संघ–संस्थाहरूलाई आयोजकले आग्रह गरेको छ। एनआरएनए एनसीसी युएईका अध्यक्ष भीम मल्ल ठकुरीले प्रतियोगिताको तयारी तीव्र पारिएको बुधबार जानकारी दिए।
प्रतियोगिताका संयोजक अपिल भट्टराईका अनुसार खेलहरू दुबईस्थित अल्कुज बलदिया ग्राउन्डमा बिहान ८ बजेदेखि सुरु हुनेछन्। खेलहरू अन्तर्राष्ट्रिय भलिबल महासंघ र नेपाल भलिबल संघको प्रचलित नियमअनुसार सञ्चालन गरिने संयोजक भट्टराईले बताए।
प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूका लागि आयोजकले दर्ता प्रक्रिया र नियमहरू सार्वजनिक गरेको छ। टिम दर्ताका लागि १ हजार दिराम शुल्क तोकिएको छ भने टिम दर्ता डिसेम्बर २८ साँझ ६ बजेसम्म गरिसक्नुपर्नेछ। आयोजकका अनुसार टाईसिट ‘ड्र’ हुनुअघि नै सहभागी टिमले खेलाडीहरूको नामावली उपलब्ध गराउनुपर्नेछ। खेलको टाईसिट भने डिसेम्बर २७ साँझ ७:३० बजे दुबई बसपार्क नजिकै रहेको सयपत्री ट्राभलको कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम तय भएको छ।
प्रतियोगिताको विजेता टिमलाई आकर्षक नगद राशिसहित पुरस्कृत गरिनेछ। प्रतियोगितामा प्रथम हुने टिमले ११ हजार १ सय ११ दिराम नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यसैगरी, द्वितीय हुने टिमलाई ६ हजार ६ सय ६६ दिराम तथा तृतीय स्थान हासिल गर्ने टिमलाई ३ हजार ३ सय ३३ दिराम नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
सामूहिक पुरस्कारका अतिरिक्त व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, बेस्ट स्पाइकर, लिब्रो, सेटर, सर्भर, ब्लकर र उत्कृष्ट कोचलाई आकर्षक मेडल तथा ट्रफी प्रदान गरिने एनआरएनए एनसीसी युएईले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण