हेटौंडा बजार क्षेत्रमा राजमार्ग विस्तार प्रक्रिया सुरु
मकवानपुर । हेटौंडा बजार क्षेत्रमा राजमार्ग विस्तार प्रक्रिया अघि बढाइएको छ । मुआब्जा र सडकको दायाँ–बायाँ कति मिटर खाली गर्ने भन्ने विवादका कारण लामो समयदेखि हेटौंडा बजार क्षेत्रमा सडक विस्तार हुन सकेको थिएन ।
राजमार्गको दायाँ–बायाँ २५–२५ मिटर खाली गराइ सडक विस्तार हुने भएको हो । तोकिएको क्षेत्रभित्र रहेका संरचना हटाउन स्थानीय प्रशासनले सूचना जारी गरिसकेको छ ।
मंसिर २० देखि सडक विस्तारको काम फिल्डमै सुरु गर्ने स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयको तयारी छ ।
प्रशासनले सडक विस्तारका लागि टास्क फोर्ससमेत गठन गरेको छ । गत बुधबार जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सरोकारवाला निकायसहितको बैठकले सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको हो । समितिमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दुरसञ्चार प्राधिकरण लगायतका प्रतिनिधि सदस्य छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै रहनेछ ।
टास्क फोर्सले सडकको दायाँ–बायाँ अतिक्रमण भएका जग्गा खाली गर्न बुधबारदेखि नै माइकिङ गर्दै आएको छ । प्रशासन र सडक कार्यालयले सडक सीमा क्षेत्रमा निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन बिहीबारदेखि रेखाङ्कनको काम थालेको छ ।

मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तारको काम अघि बढाइने सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार विभिन्न ४ स्थानबाट एकैपटक डोजर चलाइनेछ ।
‘१९ गतेसम्म अतिक्रमित संरचना आफैँ नभत्काए २० गते बिहानदेखि अतिक्रमित संरचना भत्काउन डोजर प्रयोग हुन्छ,’ उनले भने ।
अतिक्रमित संरचना हटाउन सुरु भएपछि बजार क्षेत्रको मुख्य सडकमा सवारीसाधन आवागमन प्रभावित हुने भएकाले बाइपास सडक प्रयोग गर्ने गरी व्यवस्थापन थालेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी आवतजावतका लागि वैकल्पिक व्यवस्थापनको काम थालेका छन् ।
सडक विस्तारका क्रममा विद्युत्, खानेपानी, टेलिफोनलगायतका अत्यावश्यक सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रजिअ अधिकारीले बताए । उनले एसियाली विकास बैंक (एडीबी) बाट आवश्यक बजेट सुनिश्चित भइसकेकाले सडक विस्तारको काम समयमै सम्पन्न हुने प्रस्ट पारे ।
सडक विस्तारका क्रममा मुख्य राजमार्ग अवरुद्ध हुने भएकाले ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक मार्गहरू तय गरिएको छ । चौकीटोल–राप्ती पुल बाइपास, कान्ति राजपथ र मदन भण्डारी मार्गलाई वैकल्पिक रूपमा प्रयोग गरिनेछ भने सोका लागि सडकका खाल्टाखुल्टी पुर्ने काम तत्काल सुरु गरिने प्रजिअ अधिकारीको भनाइ छ ।
मकवानपुर उद्योग वाणिज्य संघले बजार क्षेत्रमा सडकको दायाँ–बायाँ १६ मिटरमात्र विस्तार गर्न प्रस्ताव गरे पनि सरकारले २५–२५ मिटर विस्तारकै योजनालाई अघि बढाएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट नेतृत्वको टोलीले प्रभावित घरधनी र व्यवसायीको तर्फबाट भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङसमक्ष १६ मिटर कायम गरे क्षतिपूर्ति नचाहिने तर सोभन्दा बढी अधिग्रहण गरे मुआब्जा पाउनुपर्ने प्रस्ताव राखेका थियो ।

मन्त्री घिसिङले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय पालना गर्नुपर्ने भन्दै व्यवसायीहरूको प्रस्ताव अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण