बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सफलताको कथा

मलेसियाको ४८ घण्टे ड्युटी छाडेर कृषिमा जमेका रामबहादुर

नबिल बैंकको १० लाख ऋणले फेरियो जीवन
आइतबार, १४ मङ्सिर २०८२, ०८ : ४२
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • काभ्रेका रामबहादुर थापाले विदेशको जीवन त्यागेर गाउँमै कृषि र पशुपालन सुरु गरे।
  • उनले कृषि व्यवसायलाई बैंकको ऋण र स्थानीय स्रोतबाट विस्तार गरे, जसबाट राम्रो आम्दानी गरिरहेका छन्।
  • उनको सफलताले देखाउँछ कि विदेशको दुःखभन्दा नेपालमै बसेर केही गर्न सकिन्छ।

काठमाडौँ । नेपालमै बसेर जब केही गर्ने कुरा आउँछ, धेरैको पहिलो ध्यान कृषि र पशुपालनतिर सोझिन्छ । अझ थोरै लगानी भएका व्यक्तिहरू त अरु विकल्प सोच्नसक्ने अवस्थामा समेत हुँदैनन् । कृषि पेसामा आधारित परिवारबाट हुर्किएको समाजमा तुलनात्मक रुपमा यो सजिलो पनि हुन्छ । 

तर यसरी गाउँमै केही गर्ने सोच राख्नेहरुमध्ये अक्सर जमेर बस्न सक्दैनन् । विभिन्न बहाना बनाएर उनीहरू यसबाट पछि हट्छन्, अनि फेरि लाग्छन् तातो मरुभूमितिर पसिना बगाउन । 

यसको अपवाद बनेका छन् काभ्रेका रामबहादुर थापा । भुम्लु गाउँपालिका वडा नम्बर २ सिम्थली घर भएका उनले पाँच वर्षको विदेश बसाइँपछि गाउँमै बसेर केही गर्ने जुन अठोट गरे, यसलाई उनले पूरा गरेर देखाएका छन् । परम्परागत पेसालाई व्यावसायिक जीवनमा रूपान्तरण गर्दै गरेका उनले विदेशमा जति गाउँमै बसेर कमाएका मात्रै छैनन्, उनी आफ्नो कर्ममा सन्तुष्ट पनि छन् । 

पछिल्लो समय त उनलाई सबैतिरबाट सहयोग समेत मिल्दै गएको छ । अहिले उनलाई लाग्छ– विदेशको भन्दा आधा मात्रै दु:ख नेपालमा गर्ने हो भने कमाउनकै लागि खाडीमा पसिना बगाउनु नपर्ने रहेछ ।

थापा २०७५ सालमा नेपाल फर्किएका थिए । केही वर्ष सामान्य खेतीपातीमै रमाएका उनले २०७९ साल व्यावसायिक कृषि र पशुपालनमा लाग्ने अठोट गरे । यसका लागि उनले ‘मसिना कृषि तथा पशुपन्छी फार्म’ नामको व्यवसाय दर्ता गरे । यसै फार्ममा आवद्ध भएर उनले बहुद्देश्यीय कृषि कर्मलाई अघि बढाए ।

1000050029

व्यवसाय दर्ता गर्दाको बखतमा उनीसँग आफ्नो १० रोपनी जमिन, ५/७ वटा बाख्रा र बारीमा केही बोट कफी थिए । विदेशबाट कमाएर जम्मा गरेको झण्डै ४ लाख रुपैयाँबाट खेती सुरु गरेका उनको अठोटमा नबिल बैंकले साथ दियो । बैंकले दिएको १० लाख रुपैयाँ ऋण समेत लिएर व्यवसाय विस्तार गरेका उनीसँग अहिले व्यवस्थित खोरसहित ४० वटा बाख्रा, ५०० वटा कुखुरा र झण्डै एक हजार कफीका बोट छन् । 

यस बीचमा आफूले बैंकलाई मासिक २१ हजार रुपैयाँ तिरेर करिब ३५ हजार आम्दानी गरिरहेको उनी सुनाउँछन् । अहिले आफूसँग भएको कुल सम्पत्ति २५ लाखभन्दा माथि रहेको उनको अनुमान छ । 

दु:खले भरिएको परदेशको जीवन

करिब पाँच वर्षको रामबहादुरको विदेश बसाइँ त्यति सुखद् भएन । उनी २०७० सालमा मलेसिया गएका थिए । सुरुमा त्यहाँ प्लाइउड उद्योगमा काम गरे । त्यहाँको अवस्था निकै कठिन थियो ।

मलेसियामा ओभरटाइम गरेपनि राम्रो कमाइ भएन । पाँच वर्षको विदेश बसाइ गर्दा ऋण तिरेर आफूले मुस्किलले ३/४ लाख रुपैयाँ मात्रै बचत रहेको थापा बताउँछन् । 

थोरै तलब हुने र ओभरटाइम समेत नहुने भएकाले उनलाई त्यहाँ खानबस्नकै धौ धौ भयो । त्यसपछि त्यो काम छाडेर सेक्युरिटी गार्डको काम गर्न थाले । तर त्यो काम पनि सहज थिएन । त्यतिबेला लगातार ४८ घण्टासम्म नसुती काम गर्नुपरेको रामबहादुर स्मरण गर्छन् । 

यति धेरै ड्युटी र ओभरटाइम गरेपनि त्यो काममा पनि राम्रो कमाइ भएन । पाँच वर्षको विदेश बसाइ गर्दा ऋण तिरेर आफूले मुस्किलले ३/४ लाख रुपैयाँ मात्रै बचत रहेको थापा बताउँछन् । 

‘विदेश भन्नु मात्रै हो, कमाइ खासै थिएन । ओभरटाइम नपाउने हो भने त खानै पनि पुग-नपुग हुने अवस्था थियो । हामीले गरेको दु:खको मूल्यांकन हुँदैनथ्यो । खाडी मुलुकमा जाने हामीजस्ता धेरै मान्छेको अवस्था यही नै हो,’ उनी भन्छन् । 

1000050025

२०७५ मा नेपाल फर्किएपछि भने उनलाई विदेश जानै मन लागेन । पाँच वर्षसम्म त उनी विदेशमा बसिसकेकै थिए । त्यतिबेला उमेर पनि ४२ वर्ष पुगिसकेको थियो, सधैँभरि विदेश नै बसेर चल्दैन भन्ने उनलाई लाग्यो । रामबहादुर भन्छन्, ‘त्यहाँको दु:ख र त्यस अनुसारको कमाइले फेरि विदेश फर्किन उनलाई मन लागेन, अनि यतै केही गर्छ भन्ने आँट आयो ।’ 

गाउँमै केही गर्ने अठोट र नबिल बैंकको साथ

विदेश नजाने अठोट गरेपछि के गर्ने त ? यसको विकल्प धेरै थिएन । विदेशमा नभएको कमाइ सहर पसेर हुने ग्यारेन्टी पनि थिएन । त्यसैले आफ्नै घरबारीलाई सदुपयोग गर्ने उनले सोच बनाए । पाखो बारीमा कफी लगाउने निधो गरे । बाँकी ठाउँमा खोर बनाएर लोकल जातका बाख्रा पाल्न थाले ।

थोरै लगानीले ठुलो आम्दानी गर्न समय लाग्थ्यो । गाउँमै बसेपनि समय अनुसार परिवारका लागि खर्च व्यवस्थापन गर्नैपर्थ्यो । सानो स्केलमा मात्रै काम गरेर हुने अवस्था थिएन । त्यसैले उनले बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गर्ने सोच बनाए । 

1000050023

यसका लागि नबिल बैंकको भुम्लु शाखामा ‘अप्रोच’ गरे ।  रामबहादुरको अठोट र लगनशीलता देखेर बैंकले उनलाई १० लाख रुपैयाँ ऋण दियो । ‘बैंकका सरहरुसँग सामान्य चिनजान त थियो । जब उहाँहरुले मेरो काम, इमान्दारिता र अठोटलाई बुझ्नुभयो, हामी प्रमोट गर्छौं भन्नुभयो । उहाँहरुकै सहयोगमा आवश्यक प्रक्रिया पूरा गरेर १० लाख ऋण लिएपछि मलाई काम गर्न सहज भयो,’ उनी भन्छन् ।  

बैंकबाट ऋण लिएपछि उनले समयमा सावाँ र ब्याज तिर्नुपर्थ्यो । त्यसका लागि नगद आवश्यक थियो । तर कफी र बाख्राले प्रतिफल दिन लामो समय लाग्न सक्थ्यो । त्यसैले आफ्नै घरमा सेल्टर बनाएर उनले बोइलर कुखुरा पाल्न थाले । 

सुरुमा ठुलो लगानी नपर्ने र तत्कालै बिक्री हुने भएकाले ‘क्यास फ्लो’ व्यवस्थापनका लागि कुखुरापालन गर्ने निर्णय उनले गरेका थिए । जाडो सिजनलाई छाडेर बाँकी अवधि उनले कुखुरापालन गर्दै आएका छन् । वर्षमा चार लट कुखुरा पाल्ने गरेका छन् । एक लट बेच्दा सबै खर्च कटाएर औसत ३५ देखि ४० हजार रुपैयाँ बचत हुने गरेको छ । यद्यपि यसमा भने धेरै नै जोखिम रहेको थापा बताउँछन् । 

सुरुमा यसरी नगदको व्यवस्थापन गरेका उनलाई अहिले बाख्रा र कफीले प्रतिफल दिन थालेको छ । अब नगद व्यवस्थापनका लागि उनलाई समस्या हुन छाडेको छ । बैंकको किस्ता, ब्याज र आफ्नो खर्च कटाएर उनले व्यवसायकै आकारलाई बढाउनतिर ध्यान दिइरहेका छन् ।

अहिले रामबहादुरलाई व्यवसायमा उनकी श्रीमती मसिना थापाले साथ दिइरहेकी छन् । धेरैजसो दुवैजना मिलेर फार्मको काम गर्ने, घाँस काट्ने, चराउन लैजाने, दानापानी दिने र सरसफाइ गर्ने गर्छन् । बजार र बिक्री रामबहादुरले हेर्दै आएका छन्, उनी बजारमा जाँदा फार्मभित्रको आन्तरिक कामकाज मसिनाले धान्दै आएकी छन् ।

स्थानीय जातकै उत्पादनमा प्राथमिकता 

हिजोआज व्यवसायिक पशुपालन गर्न चाहने अधिकांश व्यक्तिले अहिले उन्नत जातको र हाइब्रिड ब्रिडको जात रोज्ने गरेका छन् । तर हावापानी र आहार नमिल्दा रोग लाग्ने पशुहरु मर्ने अवस्था भएको देखिन्छ । 

रामबहादुरले भने हाइब्रिडलाई कहिलै जोड दिएनन् । स्थानीय खरी र जमुनापारी जातकै बाख्रामा उनी केन्द्रित भए । यस्ता जातका बाख्रामा रोग नलाग्ने, डाँडापाखामा चरेर पालिन सक्ने र मासुका लागि समेत पहिलो रोजाइमा पर्ने भएकाले अरु जातको बाख्रा पालनमा ध्यान नदिएको उनको भनाइ छ ।   

कुनै कारणले पशु चौपायामा क्षति भयो भने पनि बीमाले व्यहोर्ने उनको भनाइ छ । अहिलेसम्म उनको फार्ममा ५ वटा माउ बाख्रा मरेका छन् । बीमाबाट उनले यसको भुक्तानी पाइसकेका छन् । बीमाबाट भुक्तानी पाउने भएकाले ठुलो जोखिम नरहेपनि बीमा गर्न र भुक्तानी पाउन सहज व्यवस्था नभएको उनको अनुभव छ ।

बाख्राको घाँसको लागि उनले अहिलेसम्म खर्च गर्नुपरेको छैन । आफ्नै बारीमा लगाएका उन्नत जातका घाँसले सबै सिजनको माग धानिरहेको छ । स्थानीय रुपमै उत्पादन भएको मकै र गहुँ पिसेर उनले दानाको व्यवस्थापन गर्दै आएका छन् । सबै स्थानीय उत्पादनबाटै धान्दै आएकोले बाख्रा पालनमा ठुलो खर्च छैन । दाना, उपचार खर्च लगायत सबै कटाउँदा खसीबोकामा झण्डै ५० बचत हुने गरेको थापा बताउँछन् ।  

उनले आफूले पालेको पशु र लगाएको खेती समेतको बीमा गरेका छन् । यो अवस्थामा कुनै कारणले पशु चौपायामा क्षति भयो भने पनि बीमाले व्यहोर्ने उनको भनाइ छ । अहिलेसम्म उनको फार्ममा ५ वटा माउ बाख्रा मरेका छन् । बीमाबाट उनले यसको भुक्तानी पाइसकेका छन् । बीमाबाट भुक्तानी पाउने भएकाले ठुलो जोखिम नरहेपनि बीमा गर्न र भुक्तानी पाउन सहज व्यवस्था नभएको उनको अनुभव छ ।

बजारको लागि छैन समस्या

अहिलेसम्म उनले बजारको समस्या भोग्नुपरेको छैन । उनले उत्पादन गरेका कृषि र पशुचौपाया प्राय: बनेपा बजारमै बिक्री हुने गरेको छ । केही काठमाडौँसम्म पुग्ने गरेका छन् । बनेपाबाट भुम्लु करिब २५ किलोमिटरको दूरीमा छ । हाल बनेपामा बोका र खसीको प्रतिकेजी ६५० देखि ७०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । 

1000050035

पूर्णतया लोकल उत्पादन भएकाले आफ्नो उत्पादन धेरैको रोजाइमा पर्ने र बजारको समस्या नभएको उनी सुनाउँछन् । बोइलर कुखुरामा पनि बजारको समस्या नभए पनि बजारमा चलेको मूल्य अनुसार बिक्री गर्नुपर्ने भएकाले आम्दानीको टुंगो नहुने उनको अनुभव छ । 

अबको पाँच वर्षमा आफ्नो व्यवसायलाई दोब्बर बनाउने उनको लक्ष्य छ । यो अवधिमा १०० वटा बाख्रा, २ हजार बोट कफी उत्पादन गर्ने उनको लक्ष्य छ । आवश्यकता अनुसार बोइलर र लोकल कुखुराको उत्पादन गर्ने रामबहादुरको सोचाइ छ । ४९ औं बसन्तमा हिँडिरहेका उनी आफ्नो पेसाप्रति सन्तुष्ट मात्रै छैनन्, यही पेसाबाट अन्यत्र गएर भन्दा राम्रो हुन्छ भन्ने आत्मविश्वास समेत उनीसँग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप