घनश्यामको दृष्टिकोणमा १० वर्षमै किन आयो सङ्कट ? (पूर्णपाठ)
काठमाडौँ । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले यतिबेला मुलुक असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिएको बताएका छन् ।
जेनजीको आन्दोलन र त्यसपछि भएको विध्वंशबाट राज्यको सम्प्रभुताले घुँडा टेकेको, सरकार र संसद्ले आत्मसमर्पण गरेको, राजनीतिक पार्टीहरूले औचित्य गुमाएको र तिनका नेताहरूले ज्यान जोगाउन भागाभाग हुनु परेको घटना राजनीतिक इतिहासमा असाधारण घटनाका रूपमा भुसालले विश्लेषण गरेका छन् ।
‘त्यसले राज्य, राजनीति, अर्थतन्त्र, सामाजिक सम्बन्ध र मनोविज्ञानमा जुन आघात लागेको छ र जुन अन्योल सिर्जना भएको छ त्यसको निकास धेरै कष्टसाध्य र दूरगामी हुनेछ’, भुसालले एकता बैठकमा आफ्नो राजनीतिक प्रस्तुति दिँदै भनेका छन्, ‘लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको १० वर्षमै यस्तो सङ्कट किन आयो र यसको समाधान कसरी हुन्छ भन्ने कुरा नै आजको राष्ट्रिय राजनीतिक जीवनको मुख्य विषय हो ।’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसको पृष्ठभूमि केलाउँदै भुसालले २०७२ सालमा संविधान जारी भएपछि राष्ट्रिय आकाङ्क्षा आकासिएको बताएका छन् । ‘इतिहासका अविकास, विभेद, शोषण, बाह्य हस्तक्षेपको अन्त्य हुन्छ र लोकतान्त्रिक स्थिरताका साथ मुलुक समृद्धि र समाजवादतर्फ अगाडि बढ्छ भन्ने आशा जनतामा थियो’, भुसालले भनेका छन्, ‘त्यस्तो आशा र विश्वासको मनोविज्ञान राष्ट्र निर्माणका लागि ऐतिहासिक अवसर हुन सक्थ्यो ।’ तर त्यसपछि नै राजनीतिक पार्टीका नेताहरूको नाङ्गो सत्ता लोलुपता, खेलबाड र निर्वाचन तथा सरकार निर्माणमा भएका लोकतन्त्र विरोधी हर्कतहरुले जनतामा वितृष्णा र आक्रोश बढ्न थालेको भुसालको निष्कर्ष छ ।
त्यसमाथि मुलुकको राजनीति, सरकार, संसद्, न्याय प्रणाली तथा मुलुकी प्रशासन केही बिचौलियाहरूको नियन्त्रणमा गएका तथ्यहरू छरपस्ट हुँदै जाँदा जनतामा थप निराशा बढ्दै जाँदा राजनीति, नेता र पार्टीहरूको गरिमा घट्दै गएको भुसालको ठहर छ ।
‘यस्तो अवस्थामा नेपाली काङ्ग्रेसका विचार र नीतिहरूले मुलुकका समस्याको समाधान दिँदैनथे’, भुसालले भनेका छन्, ‘त्यसमाथि, नेपाली काङ्ग्रेसको नेतृत्व गुट जसरी खुल्लमखुल्ला दलाल पुँजीपति बिचौलियाको नियन्त्रणमा गइरहेको थियो । त्यसले मुलुकको रूपान्तरण र जनताको आकासिएको मनोविज्ञानलाई सम्बोधन गर्न सक्दैनथ्यो ।’
नेतृत्वको असामान्य महत्त्वाकाङ्क्षाका लागि नेकपा एमाले अराजनीतिकरण हुँदै गएको त्यसका लागि मुलुक र पार्टीमाथि सङ्कट बढेको देखाउँदै देशभक्त जनता र प्रतिबद्ध पार्टी कार्यकर्ताको भय दोहन गर्नु पर्ने भएकाले दलाल पुँजीपति बिचौलियासँग हिमचिम र नेताका नालायकीलाई ढाकछोप गरेको भुसालले बताएका छन् ।
भुसालले जनेजी आन्दोलनपछि बनेका र बन्ने क्रममा रहेका पार्टीहरूको समेत विश्लेषण गरेका छन् ।
‘नयाँ भनिने पार्टी र प्रवृत्तिहरूमा विचारहीन पुपुलिष्टहरु एकपछि अर्को बन्ने र भत्किने क्रम जारी छ’, भुसालले भनेका छन्, ‘पुरानै पार्टीका नेताको जस्तो शक्तिको लोभ तिनमा पनि देखिन्छ ।’
पूर्व कर्मचारी तथा सुरक्षा निकायका अधिकारीहरू पनि आफ्नो विगतका बदला लिन वा त्यसबेला जम्मा गरेको सम्पत्ति सुरक्षित गर्न पनि नयाँ वा वैकल्पिक भनिने राजनीतिमा लागेको भुसालको ठहर छ । ‘विचार वा परम्पराका नैतिक बन्धनले नबाँध्ने हुँदा यिनीहरूले राजनीतिमा अझ अवाञ्छित प्रवृत्तिहरू हुल्न सक्ने छन्’, भुसालको विश्लेषण छ ।
पुराना पार्टीको नेतृत्वले सत्ता र पैसाबाहेक सबथोक बेकार हो भनेर प्रशिक्षित गरेकाले ती पार्टीका कैयन् कार्यकर्ता नयाँ भनिने पार्टीहरूको ओत लाग्ने सम्भावना रहेको भन्दै यस्तो प्रवृत्तिले न पुराना पार्टीमा सुधार हुनेछ न त भरपर्दा नयाँ पार्टी बन्नेछन् बरु राजनीति अझ कचिङ्गलग्रस्त हुने भुसालको भनाइ छ ।
‘यस्तो अवस्थामा हाम्रो राजनीतिमा भूराजनीतिक चलखेलहरू अझ बढ्दै जानेछन् । त्यसबाट राष्ट्रको स्वतन्त्र निर्णय गर्न सक्ने क्षमता कमजोर हुँदै जाने छ’, निष्कर्षका रूपमा भुसालले भनेका छन् । उनले यस्तो अवस्था रहँदा अस्वीकृत नेतृत्वका हातमा फेरि राजनीतिको बागडोर पुग्ने र राजनीति र समाजको तनाव बढ्ने भविष्यवाणी गरेका छन् ।‘त्यस तनावले राजनीतिलाई अस्थिर बनाइरहने छ । हामी राजनीतिक सङ्कटको एउटा लामो सुरुङमा पसिसकेका छौँ । सानोतिनो प्रयत्नले यसबाट निस्कन सजिलो छैन’, भुसालको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण