बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओलीको विकल्पमा बोलेपछि एमालेका दुई नेतामाथि फेरि कारबाही

मङ्गलबार, १६ मङ्सिर २०८२, १६ : ०७
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा बोल्ने दुई नेतालाई निलम्बन गरेको छ।
  • कोशी प्रदेश कमिटीले उनीहरूलाई १५ दिनको स्पष्टीकरण सोध्दै निलम्बन गरेको हो, र उनीहरूमाथि महाधिवेशनमा अवरोध गरेको आरोप छ।
  • यसअघि पनि यी दुवै नेतालाई प्रदेश कमिटीले कारबाही गरेको थियो, र उनीहरूले यसअघि पनि पार्टीको निर्णयको विरोध गरेका थिए।

विराटनगर । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा बोल्ने दुई नेतालाई निलम्बन गरेको छ । कारबाहीमा पर्नेहरू कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमु रहेका छन् । 

उनीहरूलाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारीबाट मुक्त गरेर निलम्बन गरिएको पत्र प्रदेश कमिटीले पठाएको छ । प्रदेश कमिटीले मंसिर ११ गतेको मितिमा उनीहरूलाई स्पष्टीकरण सोधेरे निलम्बनको पत्र पठाएको हो । महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो ।

ताप्लेजुङमा महाधिवेशन प्रतिनिधिको चयन भने सर्वसम्मत रूपमा गरिएको थियो । कारबाहीको पत्रमा प्रदेश अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन् । तर उनले कारबाहीको विषय पुरानो भएको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे । एमाले नेता तिलकुमार मेन्याङ्बोले भने उनीहरूललाई स्पष्टीकरण सोधिएको पुष्टि गरेका छन् । 

‘ताप्लेजुङ जिल्ला कमिटीको मंसिर ६ गतेको पत्रअनुसार ११औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि गरेको हमला र निर्वाचन प्रकियामा अवरोध खडा गर्ने काम गर्नुभएको हो,’ प्रदेश कमिटीले पठाएको पत्रमा मंसिर ६ गते जिल्ला कमिटीले पठाएको पत्रको आधारमा उल्लेख गरिएको छ । 

जिल्ला कमिटीबाट कारबाहीको सिफारिस भएको उल्लेख गर्दै सल्लाहकार परिषद् सदस्यबाट साम्सोहाङलाई मुक्त गरिएको छ । यसबारे १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिइएको छ । 

पोमुलाई पनि त्यही ब्यहोराको पत्र थमाइएको छ । यसअघि पनि दुवै जनालाई प्रदेश कमिटीले कारबाही गरेको थियो । गत वैशाखमा पनि यी दुईमाथि कारबाही गर्दै एक महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिएको थियो । 

गत वैशाख १८ गते राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको अधिवेशनबाट संस्थापन पक्षले एकलौटी ढंगले जिल्ला कमिटी गठन गरेको भन्दै साम्सोहाङ पक्षले विरोध गरेका थिए । त्यहीकारण उनीहरूमाथि कारबाही भएको थियो । 

यो पनि 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप