शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन

कार्यकर्तामाझ आकाङ्क्षीको ‘ताउर–माउर’

पूर्णबहादुर खड्का, शेखर कोइराला, गगन थापा समूहका आकाङ्क्षीहरू चलमलाउन थाले
शुक्रबार, १९ मङ्सिर २०८२, १४ : ३०
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति तोकिएसँगै पार्टी पङ्क्तिमा चुनावी सरगर्मी बढेको छ।
  • महाधिवेशन कार्यतालिका अनुसार नै हुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।
  • विभिन्न नेताहरूले महाधिवेशनको तयारी भइरहेको र नयाँ नेतृत्व आउने परिस्थिति निर्माण हुने बताए।

विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति तोकिएसँगै पार्टी पङ्क्तिमा चुनावी सरगर्मी बढेको छ । लामो समयको अन्योल चिर्दै कांग्रेस केन्द्रीय कार्यालयले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका सार्वजनिक गरेसँगै केन्द्रदेखि गाउँ–गाउँसम्मका कार्यकर्ताहरू अधिवेशनको तयारीमा जुटेका छन् । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन कार्यतालिका अनुसार नै हुने बताउँछन् । ‘केन्द्रले जारी गरेको कार्यतालिका अनुसार नै महाधिवेशन सम्पन्न हुन्छ,’ शर्माले भने, ‘अहिले त्यसभन्दा दायाँ बायाँ हुँदैन ।’

केन्द्रले परिपत्र जारी गरेलगत्तै जिल्ला तथा स्थानीय तहहरूमा पनि अधिवेशनको माहौल तातेको नेताहरू बताउँछन् । ‘अधिवेशन लागिसक्यो,’ कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले भने, ‘केन्द्रले निर्देशन गरिसकेपछि सोही अनुसार कामहरू सुरु गरेका छौँ । जिल्लाले क्षेत्रहरूलाई सर्कुलर गरिसकेको छ ।’

लिम्बूका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम तोकिएको समयभित्र सक्ने गरी तयारी भइरहेको छ । क्षेत्रीय समितिहरूले वितरणको व्यवस्थापन गरिरहेका छन् भने युवा तथा कार्यकर्ताहरूमाझ अधिवेशनको ‘ताउर–माउर’ सुरु भइसकेको छ ।

‘कसैले पनि धाँधली गर्नु भएन, इमानदारीपूर्वक अहिलेको परिस्थितिलाई ध्यानमा राखेर पार्टीलाई जीवन्त राख्ने काममा पोजेटिभ ढङ्गले काम भइरहेको छ,’ लिम्बूले भने । झापा कांग्रेसका सभापति देउमान थेबेले पनि जिल्लामा महाधिवेशनको चहलपहल सुरु भइसकेको बताए । ‘हाम्रो जिल्लामा पनि नेताहरूदेखि क्रियाशील सदस्यहरूलाई चुनाव लागिसकेको छ,’ थेबेले भने । 

विराटनगर महानगरपालिकाका सभापति दीपक चापागाईंले नेता–कार्यकर्ताहरू महाधिवेशनप्रति गम्भीर बन्दै चुनावी तयारीमा लागेको बताए । ‘उम्मेदवारहरू चुनावी तयारीमा लागिसकेको भए पनि कतिपयमा भने अझै अधिवेशनको मिति सर्छ कि भन्ने अन्योल छ,’ उनले भने, ‘तर, विषम परिस्थितिका कारण महाधिवेशन गर्नैपर्छ भनेर हामी भनिरहेका छौँ ।’ केन्द्रले निर्देशन गरेबमोजिम मातहतका निकायमा सर्कुलर गरिसकेको र सोही अनुसार अधिवेशनको तयारी सुरु भइसकेको चापागाईले बताए । 

तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेल कार्यकर्तामा अझै पनि महाधिवेशन हुने नहुनेमा अन्योल रहेको बताउँछन् । ‘आज वडाको अधिवेशन सकेर भोली पालिकाको हुन्छ कि हुँदैन,’ पौडेलले भने, ‘यो तालिका अलिक वैज्ञानिक भएन कि भन्ने आशङ्का छ । काम कसरी भ्याउने ? ।’ क्रियाशील सदस्यको शतप्रतिशत नवीकरण हुने सम्भावना पनि कम रहेको उनले बताए । उनले पुनः पुरानै अनुहारहरू महाधिवेशनमा नेतृत्वको दौडमा देखिँदा पनि नयाँ पुस्ताका क्रियाशील सदस्यहरूमा त्यति उत्साह नदेखिएको बताए । 

यद्यपि महाधिवेशन हुने र नयाँ नेतृत्व आउने परिस्थिति निर्माण हुँदा प्रतिनिधिसभाको निर्वाचनमा भने जान सकिने खालको सकारात्मक सन्देश चाहिँ प्रवाह भएको उनले बताए । ‘नयाँ नेतृत्व आउँदा चुनावमा अब जान सकिन्छ भन्ने खालको कार्यकर्तामा उत्साह र मनोबल बढेको छ,’ उनले भने । 

नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम तोकिएको समयभित्र सक्ने गरी क्षेत्रीय समितिहरू व्यवस्थापनमा जुटेका छन् । ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै पार्टीलाई जीवन्त राख्न कसैले पनि ‘चिटिङ’ नगरी इमानदारीपूर्वक अधिवेशन सम्पन्न गर्नुपर्ने छ,’ मोरङ सभापति लिम्बूले भने । 

यसैबीच कोशी प्रदेश सभापतिको दौडमा डिगबहादुर लिम्बू, अमृत अर्याल, भूपेन्द्र राई, खड्ग फागो, सुनिल शर्मालगायतको चर्चा कार्यकर्तामाझ हुन थालेको छ । यस्तै मोरङ जिल्लाको नेतृत्वका लागि नागेश कोइराला, यदु विष्ट, दिलीप गच्छदार र ललित श्रेष्ठ मुख्य दाबेदार देखिएका छन् । यसबाहेक भक्तिनाथ माझी, मोदराज घिमिरेलगायतले पनि सभापतिमा दाबी गर्दै आएका छन् । 

तर, केन्द्रीय सभापतिमा भिडन्त हुन सक्ने समूह, उपसमूह अनुसार नै प्रदेश र जिल्लामा पनि प्यानल बन्ने कांग्रेस नेताहरू बताउँछन् । हालसम्म केन्द्रीय सभापतिका लागि डा. शेखर कोइराला, गगन थापा र कल्याण गुरुङले उम्मेदवारी घोषणा गरिसकेका छन् । नेताहरूका अनुसार वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै प्रदेश र केन्द्रका आकाङ्क्षीहरू व्यवस्थापन हुने बताउँछन् । 

  • कांग्रेसको महाधिवेशनको कार्यतालिका

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको परिपत्र अनुसार आउँदो पुस २६, २७ र २८ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन सम्पन्न हुनेछ । सो महाधिवेशनका लागि तल्लो तहको अधिवेशनको मिति तय गरिसकिएको छ । 

तालिका अनुसार गाउँ/नगर वडा अधिवेशन २०८२ पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशन २०८२ पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८२ पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र निर्वाचन क्षेत्र भएको) २०८२ पुस २१ गते, जिल्ला अधिवेशन (दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएको) २०८२ पुस २२ गते, प्रदेश अधिवेशन २०८२ पुस २३ र २४ गते र केन्द्रीय महाधिवेशन २०८२ पुस २६ देखि २८ गते हुने कार्यतालिका छ । 

पार्टीले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई पनि कडाइका साथ समयसीमा तोकेको छ । केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण २०८२ मङ्सिर २० गतेभित्र र प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म फारम पुर्‍याउने अवधि २०८२ मङ्सिर २४ गतेसम्मलाई तोकिएको छ । यस्तै नवीकरणको सूची जिल्लाले केन्द्रमा पठाउने अन्तिम मिति २०८२ मङ्सिर २५ गते तोकिएको छ ।

Congress (4)Congress (1)Congress (2)Congress (6)Congress (5)Congress (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप