शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बागमती प्रदेश

अन्ततः हेटौँडामा सुरु भयो सडक विस्तार

शनिबार, २० मङ्सिर २०८२, १८ : ००
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • हेटौँडा बजार क्षेत्रमा सडक विस्तार कार्य सुरु भएको छ, जसले लामो समयदेखि रोकिएको कामलाई अघि बढाएको छ।
  • सडक डिभिजन कार्यालयले ५३१ घर तथा टहरा भत्काउने अभियान सुरु गरेको छ, जसले हेटौँडाको रातोमाटेदेखि राप्ती पुलसम्मको क्षेत्र समेट्छ।
  • सर्वोच्च अदालतको फैसलापछि सडक विस्तारको बाटो खुलेको हो, तर केही स्थानमा भने 'स्टे अर्डर'का कारण तत्काल काम रोकिएको छ।

हेटौँडा । लामो समयदेखि अदालती प्रक्रिया र विभिन्न अवरोधका कारण रोकिएको हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य अन्ततः सुरु भएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडा बजार क्षेत्रमा सडक विस्तारका लागि शनिबार बिहान ५ बजेबाट सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाउन सुरु गरेको हो ।

hetauda sadak bistar (4)

त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) क्षेत्रको दायाँ–बायाँ २५/२५ गज (२२.५ मिटर) मा निर्माण भएका संरचनाहरू हटाउन कार्यालयले डोजर तथा जेसिभी प्रयोग गरेको छ । हेटौँडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म (महेन्द्र राजमार्ग) र बुद्धचोकदेखि चौकीटोल हुँदै सामरी पुलसम्म (त्रिभुवन राजपथ) को ९.५ किलोमिटर क्षेत्रमा यो अभियान सुरु भएको हो । सडक सीमाको ७५ फिट क्षेत्र खाली गराउने अभियानअन्तर्गत ५३१ घर–टहरा भत्काउने काम भइरहेको छ ।

hetauda sadak bistar (1)

सडक डिभिजन कार्यालयले मङ्सिर ५ गते सडक सीमा क्षेत्रमा निर्माण भएका संरचना हटाउन १५ दिने अल्टिमेटमसहितको सूचना जारी गरेको थियो । उक्त सूचनाको म्याद मङ्सिर १९ गते सकिएसँगै शनिबार बिहानबाट प्रशासनको सुरक्षा घेराभित्र रहेर सडक सीमा खाली गराउन थालिएको हो ।

hetauda sadak bistar (4)

यसअघि सडक डिभिजन कार्यालय हेटौँडाले २०७३, २०७६, २०८० र २०८२ सालमा पटक–पटक सूचना जारी गरे पनि स्थानीय घरधनीहरूले अदालतबाट ‘स्टे अर्डर’ ल्याउँदा विस्तार कार्य रोकिँदै आएको थियो । तर, गत २०८० पुस १७ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सो क्षेत्र राष्ट्रिय राजमार्ग (२५ गज) भित्र पर्ने र त्यसका लागि मुआब्जा तथा क्षतिपूर्ति दिन नपर्ने फैसला गरेपछि सडक विभागलाई काम अघि बढाउन बाटो खुलेको हो । सोही फैसलाको जगमा टेकेर कारबाही अगाडि बढाइएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

hetauda sadak bistar (1)

  • केही स्थानमा भने ‘स्टे अर्डर’

यता हेटौँडा–२ स्थित पिपल बोटदेखि उद्योग वाणिज्य संघसम्मको क्षेत्रका केही घरहरू भने तत्काल भत्काइएको छैन । सडक विस्तारको अन्तिम तयारी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसांसद विन्दबासिनी कंसाकारसहित ६ जनाले सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

hetauda sadak bistar (2)

शुक्रबार मात्रै न्यायाधीश मेघराज पोखरेलको इजलासले ती ६ जनाको हकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण सो क्षेत्रमा कुनै काम गरिएको छैन । प्रशासनले सो क्षेत्रका घर–टहरा हटाउन मङ्सिर २६ गतेको पेशी कुर्ने तयारी गरेको छ ।

  • बाक्लो सुरक्षाकर्मी परिचालन र ट्राफिक व्यवस्थापन

सडक विस्तार कार्यलाई निर्बाध अघि बढाउन प्रशासनले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । ५०० बढी जनपथ प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराबिच सडक डिभिजन कार्यालयले ६ वटा स्काभेटर, २ जेसिभी र २ लोडर परिचालन गरेको छ । बजार क्षेत्र भएर चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्गबाट डाइभर्सन गर्दै सडक सीमा खाली गराइएको छ ।

hetauda sadak bistar (3)

प्रमुख अधिकारीका अनुसार सडक कार्यालयले राजमार्ग क्षेत्रको सीमामा निर्माण भएका संरचनालाई प्राविधिक रूपमा भत्काउने काम गरेको छ । हाललाई व्यवसाय सञ्चालन भइरहेका घरका बोर्ड, टप, झ्याल–ढोका तथा सटरहरू निकालिएको छ । स्थानीय बासिन्दालाई सामान व्यवस्थापन गर्न सहज होस् र कम क्षति होस् भन्ने उद्देश्यले केही लचकता अपनाइएको उनले बताए ।

आगामी एक साताभित्र सबै संरचनाहरू हटाउने गरी योजना तयार गरिएको छ । घर तथा संरचना भत्काउन समस्या हुने व्यक्तिहरूलाई सडक कार्यालयले आवश्यक सहयोग गरी व्यवस्थापन गर्ने अधिकारीले बताए ।

hetauda sadak bistar (6)

आगामी दिनमा एसियन हाइवेको ‘राइट अफ वे’ को मापदण्डअनुसार २५ मिटर पुर्‍याउन बाँकी रहेको ७ फिट जग्गा भने मुआब्जा दिएर अधिग्रहण गरिने जनाइएको छ । २५ गज क्षेत्रको जग्गा स्वामित्व ग्रहण गरिसकेपछि बाँकी जग्गाका लागि सार्वजनिक सूचना जारी गरिने प्रमुख अधिकारीले बताए । संरचना हटाउने काम सकिएपछि हेटौँडा बजार क्षेत्रको ९.५ किलोमिटर सडक निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी छुट्टै प्याकेजमा काम अघि बढाइने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप