दिगो समृद्धिका लागि विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छ: शिक्षामन्त्री पुन
सारांश
- मन्त्री महावीर पुनले नेपालको आर्थिक समृद्धिका लागि विज्ञान र अनुसन्धानलाई अर्थतन्त्रसँग जोड्नुपर्ने बताए।
- उनले विज्ञान र प्रविधिमा लगानीको कमी र राजनीतिक प्रभावका कारण यो क्षेत्र कमजोर भएको बताए।
- मन्त्री पुनले अनुसन्धान र नवप्रवर्तनमा तीन अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने योजना सार्वजनिक गरे।
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा शनिबार यहाँ आयोजित ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा बोल्दै उनले विज्ञान र प्रविधिका क्षेत्रमा पर्याप्त लगानी नहुनु र यसलाई अर्थतन्त्रबाट अलग राख्नु नै यो क्षेत्र कमजोर हुनुको मुख्य कारण भएको बताए। विज्ञान र प्रविधि पछाडि परेसँगै अर्थतन्त्र कमजोर बन्दा नेपाली समाज पिछडिएको उनको धारणा थियो।
मन्त्री पुनका अनुसार वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनु विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम हो। उनले भने, “आर्थिक अभावका कारण नेपालीले दुःख भोगिरहेका छन्। पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको कारण विज्ञान र प्रविधिप्रति बेवास्ता हो।” उनले विज्ञान तथा प्रविधिसँग सम्बन्धित शैक्षिक तथा अनुसन्धानमूलक काम गर्ने संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए।
उनले सीमित स्रोतसाधनमा पनि नास्टले प्रभावकारी नतिजा दिनसक्ने विश्वास व्यक्त गरे। मन्त्री पुनले भने, “विज्ञानको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई व्यावहारिक रूपान्तरण गर्नुपर्छ। अनुसन्धान र आविष्कारका क्षेत्रमा कन्जुस्याइँ नगरी सरकारले योजनाबद्ध विकासमा जोड दिनुपर्छ।”
आफूलाई जिम्मेवारी आएमा कम्तीमा तीन अर्ब रुपैयाँ बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने योजना मन्त्री पुनले सार्वजनिक गरे। नेपालमा व्यक्तिगतस्तरमा नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने परम्परा न्यून रहेकामा चिन्ता व्यक्त गर्दै उनले नास्टले गरिरहेको प्रयास प्रशंसनीय रहेको बताए।
कार्यक्रममा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ। साथै, नास्टले आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित पाँच जना वरिष्ठ वैज्ञानिकलाई कदरपत्र समेत हस्तान्तरण गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण