ट्रान्सफर्मर चोरी गर्ने गिरोह नै समातिएपछि सर्लाहीका किसानलाई राहत
सारांश
- सर्लाहीमा विद्युत् ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ परेको छ, जसमा ९ जना संलग्न थिए।
- पक्राउ परेकाहरूले १७ स्थानबाट ट्रान्सफर्मर चोरी गरी किसानलाई सिँचाइबाट वञ्चित पारेका थिए।
- प्रहरीले चोरीमा प्रयोग भएका औजार र तारसहित भारतीय नागरिकसमेत पक्राउ गरेको छ, थप अनुसन्धान जारी छ।
जनकपुरधाम । विद्युत् ट्रान्सफर्मर चोरीमा संलग्न गिरोह पक्राउ परेपछि सर्लाहीका कृषकले केही राहत महसुस गरेका छन् ।
जिल्लाका विभिन्न १७ स्थानमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहका नौ जनालाई प्रहरीले मंसिरको पहिलो साता पक्राउ गरेको थियो । सिँचाइका लागि खेत–खेतमा जडान गरिएका ट्रान्सफर्मर चोरी हुँदा किसान, नेपाल विद्युत् प्राधिकरण र प्रहरी हैरान भइरहेका थिए । ट्रान्सफर्मर चोरी भएपछि किसान सिँचाइ सुविधाबाट वञ्चित हुनुपरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले ट्रान्सफर्मर चोरीमा संलग्न नौ जनालाई पक्राउ गरेपछि चोरीको दबाब र तनावबाट मुक्ति मिलेको बताए । हालसम्मको अनुसन्धानमा यस घटनामा अझै केही व्यक्तिको संलग्नता देखिएकाले फरार रहेकाहरूको खोजी जारी रहेको उनले जानकारी दिए ।
पक्राउ परेकामध्ये चार जना भारतीय नागरिकसमेत छन् । पक्राउ पर्नेमा इलामको माइजोगमाई गाउँपालिका–४ का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका–१ का ४२ वर्षीय सोनाम लामा, महोत्तरी बर्दिवास नगरपालिका–३ का ५३ वर्षीय बुधे माझी, पर्सा वीरगञ्ज महानगरपालिका–१६ का ३३ वर्षीय दिलीपकुमार ओझा र बाराको जितपुरसिमरा उपमहानगरपालिका–६ का ३९ वर्षीय कृष्ण श्रीवास्तव रहेका छन् ।
त्यस्तै भारतीय नागरिक ५० वर्षीय सुखाडी सहनी, २० वर्षीय सरोजकुमार सहनी, ५५ वर्षीय मोहम्मद रयाजुल र ३५ वर्षीय सञ्जित पदार्थ रहेका छन् ।
उनीहरूलाई हाल सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखी अनुसन्धान भइरहेको एसपी खड्काले बताए । उनका अनुसार पक्राउ परेकाहरूको साथबाट चोरी गरिएको ट्रान्सफर्मरका तार १०३.८ केजी, चोरीमा प्रयोग गरिएको ५१ थान औजार र दुई थान ई–रिक्सा बरामद गरिएको छ ।
प्रहरीका अनुसार चोरी गरिएका ट्रान्सफर्मरका तार तथा उपकरण बारा, पर्सा लगायतका स्थानमा लगेर बिक्री गर्ने गरिएको खुलेको छ । यस गिरोहमा संलग्न भई फरार रहेका अन्य व्यक्तिको खोजी भइरहेको भए पनि प्रहरीले थप विवरण खुलाएको छैन ।
वीरगञ्जबाट ई–रिक्सामै राति आएर ट्रान्सफर्मर चोरी गर्ने गरेको सूचना पाएपछि प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान अघि बढाएको थियो । ट्रान्सफर्मर चोरीका कारण बागमती, लालबन्दीको रानीगन्ज, चन्द्रनगरलगायत क्षेत्रका किसानलाई सिँचाइमा गम्भीर समस्या परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण