धनकुटा र ओखलढुंगामा मिल्यो प्रतिनिधि विवाद
सारांश
- ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान भएको छ।
- ओखलढुंगामा केपी ओली पक्षका ४ र धनकुटामा असन्तुष्ट पक्षका २ जना समेट्ने सहमति भएको छ।
- निर्वाचन बहिष्कार गरेको पक्षलाई ओखलढुंगामा ४ र धनकुटामा २ प्रतिनिधि दिने सहमति जुटेको छ।
विराटनगर । एमाले ओखलढुंगा र धनकुटा जिल्लामा देखिएको नेकपा एमालेको ११ औँ अधिवेशनका लागि प्रतिनिधि छनौट विवाद टुङ्गिएको छ । ओखलढुंगामा केपी शर्मा ओली पक्षका चार जना प्रतिनिधि समेट्ने र धनकुटामा असन्तुष्ट पक्षका २ जना समेट्ने सहमति भएपछि विवाद टुङ्गिएको हो ।
ओखलढुंगामा यसअघि जिल्लाबाट १२ जना प्रतिनिधि मतदानबाट छनौट भएका थिए । त्यसक्रममा सबै पार्टी अध्यक्ष केपी शर्मा ओली इतर पक्षधर थिए । आफू पक्षका कुनै पनि प्रतिनिधि छनौट नभएपछि एमालेको संगठन विभागले त्यसलाई अस्वीकार गर्दै पुनः निर्वाचन गर्न निर्देशन दिएको थियो ।
तर, पटकपटकको छलफलपछि मङ्सिर १३ गतेको प्रतिनिधि चयन प्रक्रिया बहिष्कार गरेको पक्षलाई ४ प्रतिनिधि दिएर मिलाइएको ओखलढुंगाको संस्थापन इतर पक्षले जनाएको छ । ओली पक्षबाट पूर्वजिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला उपसचिव अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारीलाई महाधिवेशन प्रतिनिधि बनाउने सहमति भएको छ ।
अन्य आठ जना प्रतिनिधि भने पोखरेल पक्षका छन् । जिल्ला कमिटी अध्यक्ष जीबी खड्का, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे पोखरेल पक्षधर हुन् ।
उता, निर्वाचन जितेका दुई जना प्रतिनिधिलाई फिर्ता बोलाएर असन्तुष्ट पक्षका दुई जनालाई अवसर दिएपछि धनकुटाको विवाद पनि समाधान भएको छ । गत मङ्सिर १३ गते भएको निर्वाचन प्रक्रिया र त्यसपछिको विवादले उग्र रूप लिएपछि केन्द्रको निर्देशनमा पुनः निर्वाचनको तयारी भइरहेको थियो । तर, अन्तिम समयमा आएर निर्वाचन प्रक्रियामा नगई राजनीतिक सहमतिका आधारमा विवाद मिलाइएको हो ।
मङ्सिर १३ गते ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनलाई नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य इन्द्रमणि पराजुली पक्षले बहिष्कार गरेको थियो । पराजुली पक्षको बहिष्कारका बाबजुद भएको निर्वाचनबाट संस्थापन राजेन्द्र राई पक्षका उम्मेदवारहरू भारी मतका साथ विजयी भएका थिए ।
निर्वाचनबाट खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका थिए । यस्तै महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले तथा युवातर्फ सरोज राई निर्वाचित हुँदा दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत भएका थिए ।
तर, पराजुली पक्षले एकलौटी निर्वाचन भएको भन्दै केन्द्रमा उजुरी दिएपछि एमाले केन्द्रीय कार्यालयले स्वच्छ र निष्पक्ष निर्वाचन नभएको ठहर गर्दै ५ दिनभित्र पुनः प्रतिनिधि छनोट गर्न निर्देशन दिएको थियो । केन्द्रको निर्देशनपछि विवाद मिलाउन बसेको बैठकमा सहमति जुटेको हो । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र राई पक्षले त्याग देखाउँदै निर्वाचित भएका आफ्ना दुई प्रतिनिधिलाई फिर्ता बोलाएको छ भने पराजुली पक्षका दुई जनालाई थप गर्ने सहमति भएको छ ।
सहमति अनुसार भारी मत ल्याएर जितेका शान्तिराम गौतम र अर्जुन छाराहाङ महाधिवेशन प्रतिनिधिबाट बाहिरिएका छन् । उनीहरूको स्थानमा पराजुली पक्षका निरेन तामाङ र मनोज राई प्रतिनिधि चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण