बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेतृत्व हस्तान्तरण र भ्रष्टाचार छानबिनको कुरा गर्दा मलाई जा भनियो– जनार्दन शर्मा

सोमबार, २२ मङ्सिर २०८२, १५ : ४६
सोमबार, २२ मङ्सिर २०८२

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ आफूले माओवादी केन्द्रमा रहँदा नेतृत्व हस्तानतरण र भ्रष्टाचार छानबिन गरौँ भन्दा आफूलाई पार्टी छाडेर जा भनिएको बताएका छन् ।

सोमबार गृहजिल्ला रुकुम पश्चिममा पार्टीको युवा भेला तथा प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्री समेत रहेका शर्माले यस्तो बताएका हुन् ।

उनले विगतमा आफूले नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एमाले र माओवादी एकता गर्न समेत भूमिका खेलेको तथा त्यो एकता नटिकेपछि पनि माओवादीमा आफूले नेतृत्व हस्तानतरण र भ्रष्टाचारबारे पार्टीमा कुरा उठाउँदा त्यसबारे बेवास्ता गरिएको बताएका हुन् ।

‘नेतृत्व तेस्रो पुस्तालाई हस्तानतरण गरौँ र अभिभावक बनौँभन्दा मेरो कुरा सुनिएन, बरु राजीनामा दे, तँ नभए केही फरक पर्दैन भनियो,’ शर्माले भने, ‘नेतृत्व तेस्रो पुस्तालाई हस्तानतरण गरौं र पार्टीका नेताको सम्पत्ति छानबिन गरौँ भनेर लिखित प्रस्ताव गरेँ । यो कुरा मैले संसद्मा पनि राखेको छु, भनेको छु ।’

तर जनताका एजेन्डामा बहस गरौँ भन्दा शीर्ष नेताहरूले बेवास्ता गरेको शर्माको भनाइ छ ।

‘पार्टीले मेरो कुरालाई सुनेन । वास्तै गरिएन । बाहिर सुशासनका कुरा गरियो तर भित्र दुईबुँदे हस्ताक्षर गरियो । पार्टीलाई छेपारो बनाइयो,’ शर्माले भने, ‘पार्टीहरू जनताप्रति उत्तरदायी नभएकाले नै जेनजी विद्रोह भयो । यो राजनीतिक पार्टीको असक्षमताले हो ।’

प्रमुख पार्टीका नेताहरूकै कारण देशमा आगो लागेको शर्माको भनाइ छ ।

‘जनेजी विद्रोहपछि मुलुकमा नयाँ परिस्थिति पैदा भयो । भ्रष्टाचार स्वीकार गर्ने कुनै जनता छैनन् । पुरानालाई अब बचाउन सकिँदैन भन्ने आक्रोश मात्र छ,’ शर्माले भने, ‘यस्तो अवस्थामा हामीले नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका हौँ ।’

उनले जेनजी आन्दोलनका मुद्दा सम्बोधन गर्नुपर्ने भन्दै तोकिएको समयमा निर्वाचन हुनुपर्नेमा आफ्नो पार्टी दृढ रहेको पनि दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप