बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएलमा आज

रोयल्सको अपराजित यात्रा रोक्ने विराटनगर आज फाइनलका लागि पुन: आमनेसामने हुँदै

मङ्गलबार, २३ मङ्सिर २०८२, ०५ : ५८
मङ्गलबार, २३ मङ्सिर २०८२

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायर आज मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हुँदैछ । खेल अपराह्न ४ बजे सुरु हुनेछ । विजेता टोली सोझै मङ्सिर २७ गते हुने फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत पुनः फाइनल पुग्ने अवसर पाउनेछ। दोस्रो क्वालिफायर काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच हुने एलिमिनेटरका विजेतासँग खेलिनेछ ।

सुदूरपश्चिम रोयल्सको शानदार यात्रा

सुदूरपश्चिम रोयल्सले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै ७ खेलमध्ये ६ मा जित हात पार्दै १२ अंकसहित शीर्ष स्थानमा रहेर क्वालिफायर पुगेको हो । लगातार ६ खेलमा अपराजित रहेको टोली अन्तिम खेलमा भने विराटनगरसँग ६ विकेटले पराजित भएको थियो ।

गत सिजन पनि शीर्ष स्थानमा रहेर फाइनल पुगेको सुदूरपश्चिम यस पटक पनि बलियो दाबेदारका रूपमा उभिएको छ ।

यस सिजन सुदूरपश्चिमका लागि विनोद भण्डारी निरन्तर प्रभावशाली छन् । ७ खेलमा ३३.५० को औसतसहित २०१ रन बनाउँदै उनी प्रतियोगिताकै शीर्ष स्कोररमध्ये एक हुन् । २० चौका र ६ छक्का प्रहार गरेका भण्डारी ब्याटिङ मात्र होइन, विकेटकिपिङमा पनि समान रूपमा चम्किएका छन् । ७ क्याच र ३ स्टम्पिङ मिलाएर १० डिस्मिसलसहित उनी प्रतियोगिताका सर्वोत्तम विकेटकिपर रहेका छन् ।

ब्याटिङतर्फ आरिफ शेखले १६० रन, दीपेन्द्र सिंह ऐरीले १४६ रन र क्रिस लिनले १४३ रन जोडेका छन् । बलिङमा अविनाश बोहराले १४ विकेट निकाल्दै मोर्चा सम्हालेका छन्। हर्मित सिंह १० विकेट र स्कट कुगेलाइन ८ विकेट पनि समान रूपमा प्रभावशाली छन् ।

विराटनगर किङ्सको पुनरुत्थान

गत सिजन छैटौँ स्थानमा सीमित बनेको विराटनगर किङ्सले यो सिजन उल्लेखनीय सुधार देखाएको छ । ७ खेलमध्ये ५ जित निकाल्दै १० अंकसहित टोली दोस्रो स्थानमा रह्यो ।

पहिलो तीन खेलमा पोखरा, काठमाडौँ र जनकपुरलाई हराउँदै शानदार सुरुवात गरेको विराटनगरले बिचमा एक खेलमा उतार–चढावपछि अन्तिम खेलमा अपराजित सुदूरपश्चिमलाई ६ विकेटले हराएर आफ्नो सामर्थ्य प्रमाणित गर्‍यो ।

sandeep npl

कप्तान सन्दीप लामिछाने बलिङमा उत्कृष्ट फर्ममा छन् । ७ खेलमा १५ विकेट निकाल्दै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । ५.१० को किफायती इकोनोमीमा ९.५३ को औसतले विकेट लिनु उनका लागि विशेष उपलब्धि बनेको छ । मर्चेन्ट डी लाङले ८ विकेट लिँदै उनलाई राम्रो साथ दिएका छन् भने शुभम् सुवास रंजानेले ५ विकेट लिएका छन् ।

ब्याटिङमा बसिर अहमद १७६ रनका साथ टोलीका शीर्ष रन स्कोरर बनेका छन् । लोकेश बमले १६५ रन जोडेका छन् भने मार्टिन गप्टिलले १२१ रन बनाएका छन् ।

पछिल्ला दुई खेलमात्र खेलेका फाफ डुप्लेसिसले अर्धशतक प्रहार गर्दै २१३.७९ को विस्फोटक स्ट्राइक रेट बनाएर प्रतियोगितामा उच्च स्ट्राइक रेटका साथ ‘इम्प्याक्ट प्लेयर’ का रूपमा उदाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप