बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्राधिकरणमा हाजिर भए हितेन्द्रदेव शाक्य, दुहबी सबस्टेसनको पार्टपुर्जा किन्ने पहिलो निर्णय

बुधबार, २४ मङ्सिर २०८२, ११ : ००
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • सर्वोच्चको आदेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली भएका छन्।
  • उनले दुहबी सबस्टेसनका लागि आवश्यक 'स्पेयर पार्ट्स' खरिद गर्ने निर्णय सदर गरे, र उनले आफ्नो कानुनी झमेला प्राधिकरणको एमडी पदकै कारण भएको बताए।
  • शाक्यले आगामी कार्यकालमा पहिलेभन्दा बढी जोस र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारको नीति र प्राधिकरणको हितलाई प्राथमिकता दिने बताए।

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक (एमडी) पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले बुधबार पदबहाली गरेका छन्। 

प्राधिकरणको कार्यालयमा पुगेर पदबहाली गरेलगत्तै उनले देशको महत्वपूर्ण सबस्टेसनको रूपमा रहेको दुहबी सबस्टेसनका लागि आवश्यक 'स्पेयर पार्ट्स' (जगेडा पुर्जा) खरिद गर्ने निर्णय सदर गरेका छन्।
पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले दुहबी सबस्टेसनको काम अत्यन्त जरुरी रहेकोले फटाफट अघि बढाउन आफूले पहिलो निर्णयका रूपमा यसलाई सदर गरेको बताए।

शाक्यले आफूले भोग्नुपरेको कानुनी झमेला र 'दुर्घटना' अरू कुनै कारणले नभई केवल प्राधिकरणको एमडी पदमा रहेकै कारण सिर्जना भएको स्पष्ट पारे। उनले भने, 'प्राधिकरणको एमडी भएकै नाताले मैले त्यो दुर्घटना व्यहोर्नुपर्यो। करिब अढाई महिनाको दुःखद् समयपछि अदालतबाट न्याय पाएर फर्किएको छु।'

अबको कार्यकालमा पहिलेभन्दा बढी जोस र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता शाक्यले व्यक्त गरे। उनले नेपाल सरकारको नीति निर्देशन र प्राधिकरणको हितलाई सर्वोपरि ठानेर अघि बढ्ने बताए।
'मेरो पूर्व रेकर्ड हेर्दा पनि म शतप्रतिशत काम गरिरहेको थिएँ र अब पनि गर्नेछु,' शाक्यले भने, 'यदि विगतमा केही कमजोरी भएका रहेछन् भने पनि तिनलाई हटाएर अबको साढे तीन वर्ष एउटा निश्चित लक्ष्य पूरा गर्ने गरी लाग्नेछु।'

ऊर्जामन्त्रीसँगको सम्बन्ध र काम गर्ने वातावरणबारे सोधिएको प्रश्नमा शाक्यले आफू र मन्त्री दुवै प्राधिकरणकै पृष्ठभूमिबाट आएको हुनाले काम गर्न सहज हुने विश्वास व्यक्त गरे।

उनले प्राधिकरणले कम्पनी मोडलमा मात्र नभई आफ्नै आयोजनाहरू पनि निर्माण गर्नुपर्छ भन्ने सोचमा आफू र नेतृत्वबिच समानता रहेको उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप