बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
‘वारपार’मा एमाले नेता ठाकुर गैरे

‘यो महाधिवेशनमा पार्टी रुपान्तरणको बहस मुखरित भएर आएको छ’ (भिडियो)

बिहीबार, २५ मङ्सिर २०८२, १७ : १३
बिहीबार, २५ मङ्सिर २०८२

काठमाडौं । पद मागेर नभई लडेर प्राप्त गर्ने नेताका रुपमा चिनिन्छन् ठाकुर गैरे । एमालेको आठौं महाधिवेशनमा दुई प्यानलबिच प्रतिस्पर्धा हुँदा उनी कुनै समूहमा नलागी केन्द्रीय सदस्यमा निर्वाचित हुने एक्लो व्यक्ति थिए । 

माध्यमिक तहको पढाइसँगै विद्यार्थी राजनीति सुरु गरेका गैरेले राजनीतिकका साथै विभिन्न सामाजिक मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । अनेरास्ववियु पाल्पाको अध्यक्ष, केन्द्रीय कमिटी सदस्य, सचिव, महासचिव हुँदै उनी २०६३ मा अत्यधिक मतका साथ केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित भए । गैरेलाई कलाकारितमा समेत रुचि छ । ‘५० रूपैयाँको तमसुक’, ‘शहीदकी आमा’ जस्ता सामाजिक कथाका नाटकमा उनले अभिनय गरेका थिए ।

एमालेको तीन कार्यकाल केन्द्रीय सदस्यको भूमिका निभाइसकेका गैरे अहिले पोलिटब्युरो सदस्य छन् । निकै लामो संघर्षपछि पाल्पा क्षेत्र नम्बर २ बाट टिकट पाएर विजयी बनेका गैरेको संसदीय यात्रा २०७९ सालबाट सुरु भएको हो ।

गैरेले २०४६ को जनआन्दोलन र २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे । सबैका लागि निःशुल्क र समान शिक्षा, गुणस्तरीय शिक्षा,  विद्यार्थीलाई यातायातमा सहुलियत भाडादर कायम हुनुपर्ने, कालापानी मार्च, मातृभूमिको सन्देश अभियान, सुस्ता बचाउ अभियान, मेचीदेखि महाकालीसम्म भारतले गरेको सीमा अतिक्रमणका विरुद्धको अभियानमा पनि नेतृत्वदायी भूमिका खेलेका छन् । 

सप्तरीको तिलाठीमा भएको भारतीय हस्तक्षेप र स्थानीय जनतामाथि भएको आक्रमणमा घाइते भएकाहरूको रक्षा र त्यस विरुद्धको आन्दोलनमा गैरेले नेतृत्वदायी भूमिका निर्वाह गरे । तत्कालीन युवराज पारसले गाडीले किचेर गायक प्रवीण गुरुङको हत्या गरेपछि हत्यारालाई कारबाहीको माग गर्दै ५ लाख २३ हजार हस्ताक्षर संकलन गरी तत्कालीन राजा वीरेन्द्रलाई बुझाइएको ऐतिहासिक आन्दोलनको नेतृत्व पनि गैरेले नै गरेका थिए ।

भारतीय नाकाबन्दी विरूद्ध देशव्यापी आन्दोलनको सिर्जना गर्नेदेखि एनसेल कर छली प्रकरण विरूद्धको आन्दोलनसम्ममा उनले पुर्‍याएको योगदान सम्झनलायक छन् । इमानदार छवि बनाएका गैरे व्यवहारमा सरल र मिजासिला लाग्छन् । आसन्न एमालेको ११औं महाधिवेशनमा सचिवको दाबी प्रस्तुत गरिरहेका गैरेसँग रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (पूरा अन्तर्वार्ता भिडियोमा हेर्न सकिन्छ) : 

एक वर्षअघि नै महाधिवेशन गर्न के आपत् आइलाग्यो ? 

वास्तवमा मैले एउटा कोणबाट आफूलाई कता–कता लाग्छ कि यो महाधिवेशन गर्न एमाले हतारिनुपर्ने आवश्यकता थिएन । तर नेतृत्व चाहिँ छिटो महाधिवेशन गर्ने निर्णयमा पुग्यो र हामीले त्यसलाई समर्थन गर्‍यौँ ।

Thakur Gaire1

व्यक्तिगत रूपमा तपाईं यो भन्दै हुनुहुन्छ कि यो महाधिवेशन हतार गरेर अगाडि ल्याउन आवश्यक थिएन ?

मलाई त्यस्तो लाग्छ । यो महाधिवेशन तलबाट माग भएर पनि होइन । यो चाहिँ नेतृत्वको, नेताहरुको चाहना बमोजिम भएको महाधिवेशन हो ।

आफैं पदमा बसेको नेताले महाधिवेशन किन माग गर्‍यो होला ?

किन त्यस्तो त्यो ढंगले नेताहरुले सोच्नुभयो ? महाधिवेशनले दिने रिजल्ट के हुन्छ र त्यसपछि पर्ने प्रभावहरु के हुन्, यो त भोलिका दिनमा देखिएला । तर महाधिवेशन छिटो गर्ने कुराले एउटा राम्रो बहस सिर्जना गरेको छ, त्यसलाई मैले सकारात्मक रुपले हेरेको छु । नेकपा एमाले यथास्थितिमा रमाएर पुग्दैन । यथास्थितिमा चलेर पनि पुग्दैन ।

पछिल्लो समय एमाले कस्तो अवस्थामा देख्नुहुन्छ ?

पछिल्लो समय हामी अलि बढी यथास्थितिमा रमाउने, सत्ताको वरिपरि बस्न रमाउने, कता कता जनजीविकाका एजेन्डाहरु ओझेलमा पर्ने, गरिखानेहरुको एजेन्डा बोक्नुपर्नेमा त्यो दिशामा अगाडि बढ्न नसक्ने, श्रमजीवीको पार्टी, सर्वहारा वर्गको पार्टी, भूमिहीन किसानहरुको पार्टी, मजदुरहरुको पार्टी, बेरोजगारहरुको पार्टीको एउटा परिचय कता–कता धुमिल–धुमिल जस्तो हुँदै जाने एउटा परिस्थिति हामीसँग थियो । 

सँगै भ्रष्टाचारका विरुद्ध लड्ने, कमिसन तन्त्रका विरुद्ध लड्ने, सुशासनको पक्षमा लड्ने पार्टी, कता कता चाहिँ पार्टीभित्र नै दक्षिणपन्थी अवसरवाद हाबी हुने, पार्टीभित्र अराजकता, संगठनात्मक अराजकताका पक्षधरहरु चाहिँ बलियो हुने, त्यो पक्ष हाबी हुने र सिंगो मुलुक एउटा बिचौलिया तन्त्रको प्रभावमा प्रभावित भइरहेको एउटा परिस्थितिमा हामी भयौं ।

यो महाधिवेशनले यसलाई रुपान्तरण कसरी गर्ने त ?

रूपान्तरणको बहस, परिवर्तनको बहस, अब हामी चाहिँ फेरि एकपटक एक हिसाबले हामी आफ्नो आन्तरिक जीवनलाई शुद्धीकरण गरेर, सुदृढीकरण गरेर, आन्तरिक जीवनलाई अरु बढी एकताबद्ध गरेर अगाडि जानुपर्ने अपरिहार्य चाहिँ हाम्रो अगाडि आयो । हामी त्यस रूपमा तयार हुनुपर्छ भनेर पार्टीमा एउटा त्यो बहस चल्ने, त्यो बहस मुखरित भएर आउने परिस्थिति यो महाधिवेशनमा बनेको छ, जसलाई मैले सकारात्मक रुपमा लिएको छु ।

यो महाधिवेशनले तपाईंले भनेका समस्या निराकण गर्न नयाँ काम के गर्नुपर्ला ?

एमालेको आन्तरिक जीवनमा केन्द्रदेखि स्थानीय तहसम्म पुनर्गठन आवश्यक छ । रूपान्तरण आवश्यक छ । शुद्धीकरण आवश्यक छ । केन्द्रमा लामो समयदेखि जुन नेतृत्वको जाम भएर बसेको छ, अब त्यसलाई खोल्नुपर्छ । पछिल्लो दोस्रो पुस्ताको, तेस्रो पुस्ताको सकारात्मक हस्तक्षेपको आवश्यकता छ । जो नेताले ५० वर्ष, ५५ वर्ष, ६० वर्ष लगातार यो आन्दोलनमा योगदान गर्नुभयो र आज पनि पार्टीको कार्यकारी भूमिकामा हुनुहुन्छ, अब उहाँहरुले सम्मानित ठाउँमा बसेर यो आन्दोलनलाई थप बलियो बनाउन योगदान गर्दा राम्रो हुन्थ्यो, राम्रो हुन्छ ।

यो कुरा खाली केपी ओलीलाई मात्र लागु हुन्छ त ?

दुई कार्यकाल पार्टीको कार्यकारी भूमिकामा रहने,  ७० वर्षको उमेर हदको प्रवक्ता त अध्यक्ष केपी ओली नै हो । त्यो वैधानिक व्यवस्था भनेको केन्द्रको जाम खोल्नका लागि नै थियो । युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जाने, पुस्ता हस्तान्तरण गर्ने उद्देश्यका लागि यो प्रावधान आवश्यक छ भनेर हामीले गरेका थियौँ ।

पार्टीको पुनर्गठन, नेतृत्त्व रूपान्तरण र हस्तान्तरण आवश्यक छ भन्ने तपाईंको कुरा । यो महाधिवेशनले त्यो गर्छ त ? त्यो संकेत देखियो त भन्न खोजेको मैले ?

पार्टीलाई विधिसम्मत चलाउने, सामूहिकतामा चलाउने, पार्टीभित्र शुद्धीकरण गर्ने, पार्टीमा कमरेडली भावनाको विकास गर्ने नेतृत्व यो महाधिवेशनले चुन्नेछ । त्यसमा विश्वस्त छु ।

पार्टी अध्यक्षले नै भनिसक्नुभयो कि महाधिवेशनमा बहस केही हुँदैन । अब तपाईंले भनेका कुरा महाधिवेशनले कसरी गर्ला त ?

अध्यक्षको तर्फबाट महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुन्छ । छलफलको निम्ति कमरेड ईश्वर पोखरेलले एउटा दस्तावेज पार्टी कार्यालयमा औपचारिक रुपले दर्ता गराउनुभएको छ ।

Thakur Gaire2

त्यसमा छलफल हुँदैन रे नि त ?

छलफल हुनुपर्छ, हुनेछ ।

केपी ओलीलेकै चाहनामा, केपी ओलीकै प्रस्तावमा कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षे उमेर लागु गर्नुपर्छ भनेर महाधिवेशनका तिनै प्रतिनिधिले ताली पड्काएर पारित गरेको । अब हटाउनुपर्छ भनेर त्यही प्रस्ताव ल्याउँदा तिनै प्रतिनिधिले समर्थनमा ताली ठोके । अनि त्यस्ता प्रतिनिधिले तपाईंले भनेको जस्तो परिवर्तनको पक्षमा भोट हाल्लान् । स्वविवेक प्रयोग गर्लान् भनेर कसरी विश्वास गर्ने ?

महाधिवेशनमा चुनिएर आउनुभएका सबै प्रतिनिधिहरुप्रति म शतप्रतिशत विश्वास राख्छु कि प्रतिनिधिहरुले सही निर्णय गर्नुहुनेछ, आफ्नो विवेकपूर्ण निर्णय गर्नुहुनेछ । पार्टीको हित, पार्टीलाई एकताबद्ध गराउने, पार्टीलाई अझै मजबुत बनाउने, पार्टीलाई विधिसम्मत चलाउने, सामूहिकतामा चलाउने, यो स्पिरिटमा नेकपा एमालेको सम्पूर्ण प्रतिनिधिहरुको विवेकपूर्ण निर्णय हुनेछ भन्नेमा म शतप्रतिशत विश्वास राख्छु ।

तपाईंले केपी ओली निर्वाचनमा पराजित हुँदै हुनुहुन्छ भन्नुभएको कि उठ्नुहुन्न भन्नुभएको ?

एउटा एङ्गलबाट हेर्दा त केपी ओली सर्वसम्मतै हुनुपर्ने हो नि । ईश्वर पोखरेल म अध्यक्षको उम्मेदवार हुँ भनेर उभिने परिस्थिति नबन्नुपर्ने हो नि ।  कार्यकर्ताले केपी ओलीलाई जिताऔं भनेर भोट माग्नुपर्ने अवस्था नहुनुपर्ने हो नि ।

महाधिवेशनमा तपाईंको कुन पदमा उम्मेदवारी पर्छ ?

महाधिवेशनमा चुनिनुभएका प्रतिनिधिहरु, समर्थक शुभचिन्तकहरु सबैबाट पदाधिकारीको रुपमा जिम्मा लिनुपर्छ भन्ने सल्लाह सुझाव मैले पाइराखेको छु ।

पदाधिकारीका पद त धेरैवटा छन्, अनि ? 

विधान महाधिवेशनबाट स्थायी समिति खारेज भइसक्यो । पोलिटब्युरोमा अहिले नै छु । अब सामान्यतया जाँदा सचिव नै हो । 

अहिलेसम्म हेर्दा महाधिवेशनमा दुई समूह बन्ने देखिन्छ । तपाईं त फेरि प्यानलमै नपरे पनि जित्ने मान्छे ।  त्यस्तै बिचबाट फुत्त निस्किने कि, कतै  ओत लाग्ने ? ओत लाग्दा धुरी कसलाई बनाउनुहुन्छ ?

आठौँ महाधिवेशनमा तपाईंले भनेजस्तै अनौठो घटना भयो । कुनै समूहमा नपरी केन्द्रीय सदस्य जित्ने म सिंगल मान्छे हुँ ।

अहिले के गर्नुहुन्छ ?

दुई समूहमा विभक्त नहुने र योग्यतम् मान्छे छानिएर जानुपर्छ भन्ने आमरुपमा प्रतिनिधिहरुको छलफलमा, बहसमा भनेको सुन्छु । त्यही भएर प्यानलगत चुनावमा जाने परिस्थिति नबने हुन्थ्यो भन्ने मलाई लागेको छ । टिम बनाउने, प्यानल बनाउने हुँदा नेताहरुसँग छलफल गरेर त्यो टिमभित्र पर्ने कि नपर्ने भन्ने प्रश्न त फेरि छँदैछ ।

यसको मतलब ओली समूहले राखेपनि, पोखरेल समूहले राखेपनि जसले राख्छ त्यसकै समूहबाट लड्ने ?

महाधिवेशन प्रतिनिधिहरुको बिचमा मैले के गर्दा उपयुक्त हुन्छ भनेर छलफल गरिराखेको छु । उहाँहरु सबैले तपाईं सचिवमा उम्मेदवार हुनुस्, हामी साथमा छौँ भन्नुभएको छ । अब कुन प्यानल भन्ने कुरा त प्यानल बन्ने बनाउने प्रक्रिया सुरु भएकै छैन ।

यसको मतलब तपाईंले समूह छानिसक्नु भएको छैन ?

थोरै भएपनि म रूपान्तरणको पक्षमा, परिवर्तनको पक्षमा छु ।

यदि दुइटै समूहको सूचीमा तपाईंको नाम अटाएन भने के गर्नुहुन्छ ?

म सचिवमा उठ्छु ।

समूह विभाजन गरेर, चुनाव लडेर आएका प्रतिनिधिले कुनै पनि समूहमा नपरेको उम्मेदवारलाई भोट हाल्लान् त ?

करिब ३५ देखि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरु शिरदेखि तीर गरेर जानु हुन्न भन्नेमा हुनुहुन्छ । त्यसकारण यो एमाले पार्टी बच्छ । बचाउन सकिन्छ ।

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप