अब कांग्रेस सभापतिमा डा. शेखर कोइराला, प्रधानमन्त्रीमा गगन थापा : लिम्बू
सारांश
- नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको सरगर्मी सुरु भएको छ, जसमा नेतृत्व चयन र पुस्तान्तरणको बहस चलिरहेको छ।
- कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूसँगको कुराकानीमा युवा र पुराना नेताहरूको मिश्रण र आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे छलफल गरिएको छ।
- डा. शेखर कोइरालालाई सभापति र गगन थापा लगायतका युवालाई महत्त्वपूर्ण जिम्मेवारी दिने कुराले पार्टीलाई फाइदा हुने कुरा बताइएको छ।
विराटनगर । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको सरगर्मी सुरु भएको छ । वडा तहदेखि नै नेतृत्व चयन र उम्मेदवार सिफारिसको प्रक्रिया चलिरहँदा पुस्तान्तरण र रूपान्तरणको बहस पनि सतहमा छ ।
पुराना नेताहरूको पुनरावृत्ति र युवाहरूको हस्तक्षेपको विषय पेचिलो बनिरहेको छ । यसै सन्दर्भमा कांग्रेसको आन्तरिक राजनीति, नेतृत्व चयन, विधान संशोधनको आवश्यकता र आफ्नै राजनीतिक योजनाका बारेमा नेपाली कांग्रेस, मोरङका सभापति तथा पूर्वयुवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूसँग गरिएको कुराकानीको सम्पादित अंश :
जेनजी आन्दोलन र नयाँ पुस्ताको कुरा उठिरहँदा पनि उम्मेदवार सिफारिसमा फेरि तिनै पुराना अनुहार र ७० कटेका नेताहरूकै वर्चस्व देखियो । कांग्रेसमा युवा आउन नचाहेका हुन् कि बाटो छेकियो ?
यो क्षेत्र विशेषको अवस्था र आवश्यकता अनुसार फरक पर्ने कुरा हो । सम्बन्धित क्षेत्रका युवा साथीहरूको चासो, जिज्ञासा र अपेक्षामा यो भर पर्छ । उम्मेदवार जबर्जस्ती उठाएरमात्र हुँदैन । कतिपय ठाउँमा युवाहरूले अवसर नपाएको गुनासो छ भने कतिपय ठाउँमा उनीहरूको रुचि कम देखिएको पनि हुन सक्छ, तर, उम्मेदवार सिफारिस गर्ने भनेको तल्लो तह (क्षेत्रीय समिति, महासमिति सदस्य, प्रदेश प्रतिनिधि) का साथीहरूले छलफल गरेर पठाउने कुरा हो । त्यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।
जेनजी समूहका उम्मेदवार कम आए भन्ने कुरा केही हदसम्म सत्य देखिए पनि हामीले युवाहरूलाई अभ्यस्त गराउँदै लाने नीति लिएका छौँ । पार्टीको विधानमै १५ प्रतिशत युवा सहभागिता सुनिश्चित गरिएको छ । कतिपय ठाउँमा युवाहरूले त्योभन्दा बढी अवसर पनि पाएका छन् । तर, ‘बुढो’ भनेर कसलाई भन्ने ? शेरबहादुर देउवाजी सुरुदेखि आन्दोलनमा हुनुहुन्छ, उहाँ अझै सक्रिय हुनुहुन्छ । काम गरिरहेको मान्छेलाई उमेरले मात्र छेक्दैन । यद्यपि, मेरो क्षेत्र (मोरङ) मा हेर्नुभयो भने डा. शेखर कोइराला, डा. सुनिल शर्मा लगायतका नाम सर्वसम्मत आउँदा मेरो क्षेत्रमा पनि युवा र पुरानाको मिश्रण भएर सिफारिस आएको छ ।
पटक–पटक मन्त्री र सांसद भएकाहरू नै दोहोरिँदा नयाँले कहिले पालो पाउने ? एउटै व्यक्तिलाई कति पटक अवसर दिने भन्ने विषयमा कांग्रेसभित्र असन्तुष्टि छैन ?
यो एकदमै गम्भीर विषय हो । पार्टी सञ्चालन गर्न विधानमै व्यवस्था नभएसम्म यस्ता कुरा रोक्न गाह्रो हुँदो रहेछ । उदाहरणका लागि वडादेखि केन्द्रसम्म नै एउटै तहको पार्टी सभापति दुई पटकभन्दा बढी पाइँदैन भन्ने विधानमा छ । तर, सांसद, मन्त्री वा प्रधानमन्त्री कति पटक हुन पाउने भन्नेबारे स्पष्ट व्यवस्था छैन ।
हामीले पार्टीभित्र पटक–पटक छलफल गरेका छौँ कि हारेपछि दुई पटकभन्दा बढी टिकट नदिने वा निश्चित अवधि तोक्ने, तर कार्यान्वयनमा जटिलता छ । कार्यकर्ता र जनताले विश्वास गरेसम्म नेताहरूले चुनाव लडिरहने परिपाटी छ । ८० वर्ष पुग्दा पनि, ७५ वर्ष पुग्दा पनि जनताले पत्याइरहेका छन् । त्यसैले यसलाई व्यवस्थित गर्न पार्टीको विधान र नीतिमै बाँधेर ल्याउनुपर्छ भन्ने हाम्रो जोड छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस्तान्तरणको कुरा जोडदार रूपमा उठाइरहनुभएको छ । योचाहिँ केन्द्रीय सभापतिमा मात्रै भनेको जस्तो देखिएको छ । तल्लो तहमा हेर्दा रूपान्तरणको खासै गुञ्जायस देखिएन नि ?
अहिले वडा तहको नेतृत्व हेर्नुभयो भने लगभग ८० प्रतिशतभन्दा बढी नेतृत्व ३० वर्ष मुनिका वा ४० वर्ष मुनिका युवा आउने देखिन्छ । यसले एउटा सकारात्मक सन्देश दिनेछ । एकैचोटी सबै परिवर्तन हुन सक्दैन, तर समयले माग गरेअनुसार युवाहरू नेतृत्वमा आउँदैछन् ।
शेखर कोइरालालाई सभापति र गगन थापा लगायतका युवा साथीहरूलाई अन्य महत्त्वपूर्ण जिम्मेवारी (जस्तै प्रधानमन्त्री वा कार्यकारी भूमिका) मा व्यवस्थापन गरेर जाँदा पार्टी र देश दुवैलाई फाइदा हुन्छ ।
मोरङकै कुरा गर्दा पनि सिनियर नेताहरूले आफू माथिल्लो तहमा जाने र तल्लो तह युवालाई छोड्ने अभ्यास सुरु भएको छ । पार्टीले युवाहरूलाई सदस्य, प्रतिनिधि बनाएर अभ्यस्त बनाउँदै लगेको छ । नेतृत्वमा पुग्ने मान्छे परिपक्व र विश्वास जित्न सक्ने हुनुपर्छ । युवा हुँदैमा सबैले पत्याउँछन् भन्ने छैन, तर एउटा वातावरण भने बनेको छ ।
१५औँ महाधिवेशनमा सभापतिको रूपमा तपाईं कसलाई अघि सार्दै हुनुहुन्छ ? डाक्टर शेखर, महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, चन्द्र भण्डारीलगायतले सभापतिमा उठ्ने भन्नुभएको छ । तपाईंलाई कांग्रेसको सभापति को हुनुपर्छ भन्ने लाग्छ ?
डा. शेखर कोइराला १४औँ महाधिवेशनमा पनि सभापतिको प्रत्यासी हुनुहुन्थ्यो र सम्मानजनक मत प्राप्त गर्नुभएको थियो । उमेर, अनुभव र पार्टीभित्रको योगदानका हिसाबले उहाँ अहिलेको उपयुक्त पात्र हुनुहुन्छ । उहाँलाई देशव्यापी रूपमा कार्यकर्ताले रुचाएको र मध्यमार्गी धारलाई नेतृत्व गर्न सक्ने क्षमता भएको नेताका रूपमा हामीले लिएका छौँ । अहिलेको आवश्यकता भनेको ‘युवा जोश र पुरानो अनुभव’को मिश्रण हो ।
१४औँ महाधिवेशनमा शेखर दाइ र गगनजी एउटै प्यानलबाट लड्नुभएको थियो । १५औँ महाधिवेशनमा पनि उहाँहरू एकै ठाउँमा उभिनुपर्छ भन्ने हाम्रो धारणा हो । कसैले सभापति र कसैले प्रधानमन्त्रीको नेतृत्व गर्ने गरी समझदारी गरेर जाँदा पार्टीलाई फाइदा हुन्छ । शेखर कोइरालाको परिपक्वता र गगन थापाको लोकप्रियतालाई जोडेर लैजान सकियो भने कांग्रेस बलियो हुन्छ ।
१५औँ महाधिवेशनमा सभापतिको रूपमा डा. शेखर कोइराला नै किन ? उहाँको क्षमता र भूमिकामाथि पनि त प्रश्न उठ्ने गरेको छ नि ?
हेर्नुस्, डा. शेखर कोइराला १४औँ महाधिवेशनमा पनि सम्मानजनक मत प्राप्त गरेको नेता हो । उहाँ उमेरका हिसाबले ७० को हाराहारीमा भए पनि विचार र दृष्टिकोणले परिपक्व हुनुहुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले युवा पुस्तालाई सधैँ सुन्ने र स्पेस दिने गर्नुभएको छ । यसको ज्वलन्त उदाहरण— संसदीय दलको नेताको चुनावमा उहाँले नै गगन थापालाई प्रस्ताव गर्नुभयो । पुस्तान्तरण र रूपान्तरणको मुद्दा उहाँले नै उठाउँदै आउनुभएको हो ।
कांग्रेसको विधानअनुसार ४ वर्षमा महाधिवेशन हुनुपर्ने हो । विधानले दिएको सुविधा प्रयोग गर्दा केही समय थप्न सकिएला, तर अनन्तकालसम्म लम्ब्याउन मिल्दैन । यदि समयमै महाधिवेशन भएन भने पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्छ ।
अहिलेको परिस्थितिमा उहाँ अनुभव, उमेर र पार्टीभित्रको स्वीकार्यताका हिसाबले सबैभन्दा ‘उपयुक्त पात्र’ हुनुहुन्छ । उहाँसँग पार्टीभित्रको सबै धारलाई मिलाएर लान सक्ने क्षमता छ । जिम्मेवार हिसाबले पार्टीलाई एकढिक्का बनाएर लैजाने क्षमता उहाँमा देखिन्छ । त्यसैले शेखर कोइरालालाई सभापति र गगन थापा लगायतका युवा साथीहरूलाई अन्य महत्त्वपूर्ण जिम्मेवारी (जस्तै प्रधानमन्त्री वा कार्यकारी भूमिका) मा व्यवस्थापन गरेर जाँदा पार्टी र देश दुवैलाई फाइदा हुन्छ ।
तर, जेनजी आन्दोलनपछि बसेको कांग्रेसको केन्द्रीय समिति बैठक लामो समय ‘डेडलक’मा फस्दा डा. कोइरालाले निकासका लागि ‘उपयुक्त भूमिका’ खेल्न सक्नुभएन भन्ने आलोचना पनि छ । उहाँ मौन बस्नुभयो होइन र ?
यो आरोपमा सत्यता छैन । उहाँ मौन बस्नुभएको होइन । डा. कोइरालाले आजभन्दा दुई वर्ष अगाडिदेखि नै ‘२०८२ को मंसिर वा मसान्तभित्र नियमित महाधिवेशन सक्नुपर्छ, खबरदार !’ भनेर नेतृत्वलाई सचेत गराइरहनुभएको थियो । उहाँले स्पष्ट भन्नुभएको थियो– यदि नियमित महाधिवेशन गर्न सकिँदैन भने विशेष महाधिवेशन गरेर भए पनि पार्टीलाई वैधानिकता दिनुपर्छ र निर्णयमा पुग्नुपर्छ । पार्टीलाई संवैधानिक संकटबाट बचाउन र विधि विधानमा हिँडाउन उहाँले निरन्तर ‘लविङ’ गर्नुभएको छ । उहाँले ‘स्ट्यान्ड’ नलिएको भए पार्टीमा अझ ठुलो विचलन वा द्वन्द्व आउन सक्थ्यो । उहाँले पार्टीलाई दुर्घटनाबाट बचाउन समन्वयकारी भूमिका खेल्नुभएको हो, जसलाई कमजोरी ठान्न मिल्दैन ।
महामन्त्री गगन थापा र डा. कोइरालाबिच पनि कुरा मिलेको त देखिँदैन नि ?
बाहिर चिया पसलमा वा सामाजिक सञ्जालमा आएका हल्लाजस्तो उहाँहरूबिच विमति छैन । उहाँहरूबिच पटक–पटक ‘वान टु वान’ छलफल भइरहेको छ । दुवै जना एउटै ठाउँमा बसेर ‘पार्टीको बाटो यो हो, यसरी जानुपर्छ’ भनेर समझदारी गरिरहनुभएको छ । शेखर दाइ र गगनजी १४औँ महाधिवेशनमा एउटै प्यानलबाट लड्नुभएको हो र १५औँ मा पनि उहाँहरू मिलेरै जानुपर्छ भन्ने हाम्रो बुझाइ छ । सिनियर नेता र युवा जोशको यो ‘कम्बिनेसन’ नै कांग्रेसको जित्ने सूत्र हो ।
तोकिएको समय पुस २६, २७ र २८ मा महाधिवेशन हुने सम्भावना कति देख्नुहुन्छ ?
कांग्रेसको विधानअनुसार ४ वर्षमा महाधिवेशन हुनुपर्ने हो । विधानले दिएको सुविधा प्रयोग गर्दा केही समय थप्न सकिएला, तर अनन्तकालसम्म लम्ब्याउन मिल्दैन । यदि समयमै महाधिवेशन भएन भने पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्छ । त्यसैले जहाँ–जहाँ क्रियाशील सदस्यता वा अन्य विवाद छन्, त्यहाँको गाँठो फुकाएर महाधिवेशनको प्रक्रियामा जानुको विकल्प छैन । नयाँ नेतृत्व लिएर चुनावका लागि जनतामा जाने हो भने महाधिवेशन समयमै हुनुपर्छ ।
तपाईं आफैँ पनि पटक–पटक सांसद र मन्त्री भइसक्नुभयो । आगामी निर्वाचनमा फेरि उम्मेदवार बन्ने कि विश्राम लिने ?
मैले चार पटक चुनाव लडेँ, दुई पटक हारेँ र दुई पटक जितेँ । मेरो क्षेत्रका जनता र कार्यकर्ताले मलाई विश्वास गरेका छन् । मैले जति विकास निर्माणको काम गरेको छु, त्यो अन्य क्षेत्रको तुलनामा कम छैन भन्ने मेरो दाबी छ । त्यसैले आगामी निर्वाचनमा पनि म उम्मेदवार बन्नेछु र फेस गर्नेछु । राजनीतिमा जनताको विश्वास रहेसम्म काम गर्ने हो । मैले युवाहरूलाई पनि साथमा लिएर अघि बढ्ने योजना बनाएको छु ।
खेलकुदमन्त्री हुँदा खासै उल्लेख्य काम गर्न सक्नुभएन भन्ने आरोप छ नि ?
यो आरोपमा सत्यता छैन । म मन्त्री हुँदा मन्त्रालयको बजेट जम्मा २ अर्ब थियो, जुन अघिल्ला मन्त्रीहरूले नै बाँडफाँट गरिसक्नुभएको थियो । कर्मचारीको तलब भत्तामै धेरै बजेट जान्थ्यो, तर मैले हार मानिनँ । मैले राष्ट्रिय गौरवका आयोजनाका रूपमा विराटनगरको क्रिकेट रङ्गशाला, चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदानलाई अघि बढाएँ । मन्त्रालयको बजेट बढाएर साढे १५ अर्ब पुर्याउने काम गरेँ, तर मैले बजेट विनियोजन गर्ने बेलासम्म काम गर्नै पाइनँ । छोटो अवधिका लागिमात्रै मन्त्री बन्दा काम नभएको हो कि भन्ने जनताले भनेका होलान्, तर वस्तुगत अवस्था त मेरो काम गर्ने, काम देखाउने अवस्था नै भएन । यद्यपि मैले राष्ट्रिय खेलकुद परिषदमा वर्षौंदेखि एउटै पदमा रहेका कर्मचारीको वृत्ति विकासका लागि काम गरेँ । छोटो समय र सीमित स्रोतका बाबजुद मैले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि जग बसाल्ने काम गरेको छु ।
अबको पार्टी राजनीतिमा तपाईंको भूमिका के हुन्छ ? जिल्ला सभापतिबाट केन्द्रीय पदाधिकारीमा जाने कि प्रदेशमा जाने ?
मैले कोशी प्रदेशको पार्टी सभापतिमा उम्मेदवारी दिने इच्छा राखेको छु । म मोरङ जिल्लाको तीन पटक सभापति भएर काम गरिसकेको छु । अबको मेरो चाहना भनेको प्रदेशको नेतृत्व गर्ने हो । यद्यपि, यसबारे मेरो टिम र साथीहरूसँग सघन छलफल गर्न बाँकी छ । साथीहरूको सल्लाह र सुझावका आधारमा म अघि बढ्छु । मेरो व्यक्तिगत इच्छा र तयारीचाहिँ कोशी प्रदेश सभापतिमा लड्ने नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण