बालुवाको रङ्गीन महल– २
सारांश
- गुरिल्ला कमान्डर भीष्मराज खागी हतियारसहित हरिहर उपाध्यायलाई मार्न हिँडेका छन्, तर बाटोमा प्रेम र शंकाको सामना गर्छन्।
- दीपशिखाले भीष्मराजलाई प्रेमको कुरा गर्दा उनले बेवास्ता गर्छन्, तर रविलाल कमान्डरको कार्यशैलीप्रति शंका व्यक्त गर्छन्।
- अन्त्यमा, भीष्मराज र रविलाल लक्ष्यतर्फ अघि बढ्छन्, तर रविलालले क्रान्तिको बाटो र कमान्डरको नेतृत्वमाथि प्रश्न उठाउँछन्।
सामन्त हरिहर उपाध्याय आज बेलुका ढल्दै छ ।
गुरिल्ला युनिटको कमान्डर भीष्मराज खागीको झोलामा हतियार बोकेर गन्तव्यतिर लम्किँदै छ । योद्धाहरु आ–आप्mनो बाटो गरी थलोमा पुग्नेछन् । भीष्मराज समर मैदानतिर हिँडिरहेछ । उसको मनमा एकातिर प्रचण्ड उमङ्ग छ— अब हतियार उठ्नेछ । अब क्रान्तिको दैलो उघ्रिनेछ । अब नयाँ युगको पहिलो प्रहरको उद्घाटन हुनेछ । उसको मनमा अर्कातिर निसासलाग्दो भय छ— हरिहर उपाध्याय ढलेपछि के हुन्छ ? जे–जे हुन्छ त्यसलाई कुन शक्तिले, कुन जुक्तिले कसरी झेलिन्छ ? पहिलो झमटमै क्रान्तिको बीउ मासियो भने ? भीष्मराज जङ्गलको पैनीको डिलैडिल लामा फड्का मार्दै हिँडिरहेछ । सुदूर क्षितिजको होचो डाँडापारि मलिन घाम मन्द गतिमा डुबिरहेछ । उता अस्ताउँदो घामका किरण शान्त र मनोरम छन् । यता भीष्मराजको मस्तिष्कमा एकसाथ उमङ्गको सागर उर्लिरहेको छ, भयको सर्प मडारिइरहेको छ ।
“भीष्म !” करुण नारी स्वर हठात् भीष्मराजका कानमा ठोक्किन पुग्यो । ऊ झस्कियो । उसको सामुन्ने दीपशिखा मानौं, कतै शून्यबाट प्रकट भइसकेकी थिई । भीष्मराज किंकर्तव्यविमूढ भयो । यस्तो जोखिमको घडीमा, महान् लक्ष्य भेदन गर्ने यात्राको बीचमा कहाँबाट कसरी प्रकट भई यो दीपशिखा ? कसैको उक्साहट, कसैको कपटजाल, आखिर के हो यो ? कहाँदेखि पाइला सुँघ्दै आएर यो एकलासमा यसले सिकार फेला पारेकी हो ?
“भीष्म !” दीपशिखा भीष्मराजका पाउ परिहाली ।
“धत् !” खुट्टा तर्काउँदै भीष्मराजले डाँट्यो, “यस्तो घडीमा तिमी यहाँ किन ?”
“भीष्म,” टुक्रुक्क बसेर हत्केलाले आँखा छोप्दै द्रवीत स्वरमा दीपशिखाले विरह पोखी, “मलाई अलपत्र पारेर हजुर यसरी कति दिन तर्किंदै हिँड्ने ?”
“दीपशिखा,” झोलाका हतियार छाम्दै भीष्मराज कड्कियो, “प्रेम र रोमान्सका रुन्चे कुरा गर्ने बेला यो होइन, तिमीलाई थाहा छ ?”
“भीष्म,” एकालापको भावमा दीपशिखा फतफताइरही, “मेरो राजा ! मेरो यो मन हजुरको भइसक्यो । मेरो यो तन हजुरको भइसक्यो । आखिर मलाई कति दिन यसरी कुराएर, तड्पाएर... ।”
घडी हेर्दै भीष्मराज हडबडायो । कत्रो लक्ष्य ताकेर हिँडेको थियो, बीच बाटोमा पैतालाको काँडो भएर यो के झ्याउलो आइलाग्यो ?
“उठ,” भीष्मराजले भन्यो । दीपशिखा उठी । तरुण प्रेमी जोडा आमुन्ने–सामुन्ने उभिए । तिनका आँखा जुधे । दीपशिखाका आँखामा प्रणयपूर्ण आँसुु टलपलाइरहेछ, भीष्मराजका आँखामा खुकुरीको धार चमचमाइरहेछ ।
“दीपशिखा, पाउमा लुटपुटिने बेला अब छैन ।”
“हजुरलाई मैले यो जुनीमा... ।” दीपशिखाको हात उभिने सहारा खोज्दै भीष्मराजका कुममा अडिन पुग्यो ।
भीष्मराजले दापबाट फुत्त खुकुरी निकाल्दै भन्यो, “ल, यो समाऊ ।”
दीपशिखा बिस्मित भई । बरा, लाटी भई ऊ । मनको मायालुको त्यो अभिनयको अर्थ नबुझेर ऊ मर्माहत भई ।
“दीपशिखा ! आज जनताको शत्रु काटिँदै छ । मलाई प्रेममा साथ दिनेले सङ्ग्राममा पनि मलाई साथ दिनुपर्छ । ल, यो समात र मेरो पछि लाग । तिम्रो प्रेम कति सच्चा रहेछ, आज त्यसको पनि परीक्षा होस् ।”
आवेगी भीष्मराजले क्रान्तिको खाँचो, क्रान्तिको बाटो र क्रान्तिको फलबारे छोटो प्रवचन दियो । चकित नजरले आप्mना ‘हजुर’लाई हेर्दै दीपशिखा मूर्तिसमान उभिइरही ।
“नाइँ, अहिले नै जान मलाई डर लाग्छ ।”
“दीपशिखा !”
“भीष्म, मेरो प्राणका आधार, मेरो राजा !”
“जीवनको क्रूर नाटकमा अब आँसुु बगाउनुको कुनै अर्थ छैन, दीपशिखा ।”
“भीष्म,” दीपशिखाको करुण स्वर आत्माको अन्तरदेखि थर्केर उठ्यो, “हजुर मेरा आँसुुसँग आज यति कठोर किन ?”
“दीपशिखा, तिमीलाई थाहा छ— यस मुलुकका लाखौँ आइमाई आँसुुको पोखरीमा डुबेका छन् । म तिनका आँसुु पुस्ने सङ्ग्राममा निस्केको हुँ । भन त, ताडना र शासनाले सताइएका लाखौं आइमाईका आँसुुको सागरसामु तिमी एक जनाका आँसुुको अब मलाई के अर्थ ?”
“तर भीष्म... हजुरका लागि म एउटी आइमाईभन्दा बढी अरु केही पनि त हुँ । भीष्म, भीष्म... !” दीपशिखाको स्वर क्षीण हुँदै गयो ।
भीष्मले घडी हेरेर भन्यो, “पुग्यो । तिम्रा आँसुुमा मेरो बाटो छेक्ने तागत छैन, दीपशिखा ।”
“भीष्म, जोरीपारीले कुरा काटेको सुन्दा–सुन्दा मेरो हृदय छिया–छिया भइसक्यो । म कतै बिलाएको कुरा सुन्न हजुरलाई रहर छ त ?”
“बन्द गर यो गनगन,” भीष्मराज रन्कियो, “समरको आँधी उठेको बेला बाटाका फूलहरु कुल्चेर हिँड्नुपर्छ । बाटाका बालकलाई नाघेर लम्किनुपर्छ । बाटामा बार हाल्न खोज्ने स्वास्नीलाई, प्रेमिकालाई छाडेर कुच गर्नुपर्छ ।”
“हजुरका वचन सुन्दा मेरो हृदय चुर–चुर भइरहेछ, मेरो राजा !”
भीष्मराजले खुकुरी दीपशिखातिर लम्कायो— “मेरो साथ चाहिने भए समात खुकुरी ।”
दीपशिखाको सर्वाङ्ग काँप्यो । भयको भारले उसका परेली झुके । उसका पिँडुला लुलिए र ऊ धूलामा थ्याच्च बसी । अनि ब्रह्माण्ड फनफनी घुमिरहेको टाउको हत्केलाले थाम्दै थकित र क्लान्त स्वरमा उसले पुकारा गरी, “मेरो राजा ! हजुर समरमा जानुहोला रे लौ । म पछिल्तिर लुकेर मेरा यी लुला पाखुरीले सकेजति सहारा दिइरहूँला । पछि कुनै दिन म पनि... । तर... तर... ।” उसका आँखा लोलाए र ऊ धूलामा लम्पसार परी ।
भीष्मराजले आँखा मल्योे । उसलाई लाग्यो, आफ्नो अघिल्तिर बिघ्नबाधाका काला मुस्ला उठिरहेका छन् । ऊ आज थालिने समरको कमान्डर । कमान्डरकी जीवन सँगिनी मूच्र्छित भएर उसका गोडामा पासो लागेकी छे । ऊ आप्mनी प्राणपियारीलाई हेर्छ— यो रुढिवादी संस्कारकी बाहुनी चरी ! यसलाई अँगालिराख्नुको अर्थ के हुन सक्छ ? वर्ग शत्रुको अदृश्य पासो घाँटीमा बेरिराख्नु ? आफ्नो पतनको खाडललाई जतनसाथ जोगाइराख्नु ?
“ल, म हिँडे ।” भीष्मराज लमक–लमक लम्कियो । दीपशिखालाई त्यो सब निर्मम सपना जस्तो लाग्यो । भारी शिर उठाएर उसले आप्mना प्राणलाई हेरी । ऊ अहिले समरतिर हिँडिरहेछ । अँ, हिँडिरहेछ होइन, ऊ त जोडतोडले दगुरिरहेछ । व्यथित र विस्फारित नजरले उसले भीष्मराजका पाइलाको चालमा आँखा उठाई, पाइलाकै चालमा आँनो प्रिय पात्रलाई मानौं, अहिले ऊ अन्तिम पटक हेरिरहिछ । पाइला–पाइलामा ऊ उसबाट टाढा भइरहेछ, फुत्किरहेछ, गुमिरहेछ । उसलाई छोएर, छामेर, निचोरेर लोकका अगाडि नाङ्गेझार पारेर त्यो कमान्डर नैतिक जिम्मेवारीबाट कति सजिलै भागिरहेछ !
दीपशिखाको घायल मनमा आशाको फिलुङ्गो उठ्यो । तै–तै भीष्मराजले यसो पछि फर्केर उसलाई पुलुक्क हेरिदिए ! उसको त्यो हेराइमा धमिलो आशालाई हृदयमा तुनेर राख्ने झिनो धागो फेला पर्ला कि ! तर दुःखको कुरो, त्यसो हुन पाएन । भीष्मराज हुत्तिँदै, हतियारको झोला छाम्दै अघि बढ्यो । र साँझको रमरम अँध्यारोमा ऊ ओझेल परिहाल्यो । दीपशिखा चरम हताशाको पहरोमुनि किचिई । ऊ त्यो डरलाग्दो एकलासमा मौन बिलौनासाथ निकैबेर रोइरही ।
कलेज पढ्दादेखिका प्रेमका जोडी थिए भीष्मराज र दीपशिखा । एउटै बस्तीका भँगेरा–भँगेरी, एउटै जातका, विचार–भावना मिलेका । भीष्मराजको स्वभाव बहिर्मुखी थियो, किञ्चित् कठोर र निरस खालको । दीपशिखा थिई अन्तर्मुखी, शान्त र लज्जावती झार झैं कोमल मिजासकी । अहिले प्रेमको मोर्चामा ती दुवै आफ्नै हठसँग हारे । कमान्डरले त्यो लज्जावतीलाई समरमा लान सकेन । प्रेमिकाले उसलाई आफ्नो मर्म बुझाउन सकिन । भीष्म समरमा आँधीको गतिमा लम्केर गयो । दीपशिखा धूलामा लतारिई, परित्यक्त भई र लोकलाजका मुखेन्जी जिउँदै मारिई ।
भीष्मराज घरी–घरी घडी हेर्दै कुद्यो, कुदिरह्योे । प्रेमको विफल किस्सामा अल्झेर उसको आधा घण्टा समय त्यत्तिकै घर्कियो । कुद्दाकुद्दै ऊ झसङ्ङ भयो । उसले दीपशिखालाई आप्mनो गोप्य योजनाको सुइँको दिन नहुने । अहो ! दीपशिखाले कुरो खोलिदिई भने ? काम तमाम हुनुअगावै योजना नाङ्गियो भने ? ऊ कुदिरह्योे, विषादले ऊ जलिरह्योे ।
कामरेड रविलाल कमान्डरको बाटो कुरेर बसेको थियो । बसी–बसी ऊ असिनपसिन भयो । उसलाई अत्यास लागेर आयो— हैन, अगुवा कहाँ गायब भयो ? भीष्मराज आउने बाटोतिर ऊ घरी बसेर हेर्छ, घरी उठेर हेर्छ । उसलाई नदेखेर ऊ सुस्केरा हाल्छ । कमान्डर सन्केर अन्तै बरालिएको त होइन ? अप्रिय आशङ्काहरु उसको चित्तमा लहराउँछन् । लौ, बल्ल कमान्डर आइपुग्यो । लौ, ऊ त जङ्गी जोसका साथ कुदेर पो आयो । रविलालको छातीको जाँतो पन्छियो । जे भए पनि आखिर ऊ आयो त !
“कामरेड,” लालसलाम गर्दै रविलालले सोध्यो, “किन यति ढिलो ?”
“आउँदा–आउँदै गोडामा पासो लाग्यो ।”
“के बाटामा ठेस लाग्यो, कामरेड ?”
“छाड्दिनोस् यो कुरा,” झिझ्याट मान्दै भीष्मराज पन्छियो ।
तिनले आज राति तामेल गर्नुपर्ने योजनाबारे साउती गरे । तिनले हतियार जाँचे । सब ठीकठाक छ । तिनले समय हेरे । समय ठीक छ । थलोमा पुग्न अझ एकाध घण्टाको बाटो छ । बीचमा अरु सहयोद्धा कामरेडहरुलाई भेट्नु छ । व्यूहरचनाको अन्तिम जाँचबुझ गर्नु छ । प्रहारपछिकोे योजना, सतर्कता र सुरक्षाबारे छलफल गर्नु छ ।
ती बाटो लागे । ठूलो दारको भीष्मराज अघि–अघि छ, साना काँटीको रविलाल पछि–पछि छ । साँझको धमिलो बाक्लिँदै छ । जाँदाजाँदै अघिल्तिर घोडाको घण्टी बजेको सुनियो । झस्केर ती सतर्क भए । कोही चिनारु रहेछ र यतिखेर कता भनेर सोधिहाल्यो भने ? ती झाडीमा पसे । निकै पर टट्टु घोडा देखियो । घोडा सेतो छ । घोडचढीले ढाकाको टोपी लगाएको छ । भीष्मराजको हात झोलाको खुकुरीको बिँड समात्न पुग्यो । अनि उसले आधा ठट्टयाइलो, आधा गम्भीर स्वरमा साउती गर्यो— “म त्यसलाई ठुन्क्याइदिऊँ, कामरेड ?”
“किन ठुन्क्याउने ?”
“त्यो सामन्त हो, बुझ्नु भो ? पक्का सामन्त,” घोडचढीलाई हेर्दै भीष्मराजले भन्यो, “मौकामा जनताका शत्रुलाई किन बाँकी राख्ने ?”
रविलाल जिल पर्यो । कस्तो सनक हो यो ? अपर्झट काम परेर उसले कसैको घोडा मागेको हुन सक्छ । कोही झाँक्री, वैद्य खोज्न हिँडेको हुन सक्छ । ल, घोडा उसकै हो रे लौ ! घोडा चढ्ने जो पनि काटिनलायकको सामन्तै हुन्छ र ? कमान्डरको यो कस्तो ठहर ? यो कस्तो न्यायविधान ? रविलाल तर्कना गर्दैछ । उसका आँखा कमान्डरका तामसी आँखामा स्थिर भएका छन् । उसको आशङ्कित अन्तरले प्रश्न गर्छ— “रवि, यस्तो जोखिमको बाटोमा यस्ता मान्छेका पछि लागेर पुगिने कहाँ हो ?”
“कामरेड, तपाईं जस्तो जिम्मेवार मान्छेले यस्ता कुरामा ठट्टा गर्ने ? मार्ने–मर्ने कुरामा यति हलुका ठट्टा ?”
“डर लाग्यो कामरेड ?”
रविलाल बोलेन ।
“कामरेड,” हियाउन खोज्दै भीष्मराजले भन्यो, “कामरेड, साँच्ची नै डर लाग्या हो ? वर्ग शत्रुको रगतले हात नरङ्गाई सक्कली कम्निस्ट भइन्न, थाहा छ ?”
रविलाल घोसेमुन्टो लगाएर हिँडिरह्योे ।
रविलाल हेर्छ, भीष्मराजमा एक तमासको उमङ्ग छ । उसमा लहड जस्तो, सनक जस्तो केही पनि छ । रविलालले गम खायो, यो मान्छेले जिन्दगीलाई कता डोर्याउला ? अन्धकारबाट उज्यालोतिर कि अन्धकारबाट अन्धकारैतिर ? बाटो जोखिमपूर्ण छ । आफ्नै माटोको अनुभव केही छैन । अनि अगुवा छ यस्तो ! सुस्केरामा आशङ्काहरुलाई हुत्याइदिँदै ऊ कमान्डरका पछि–पछि हिँडिरह्योे । कमान्डर सुसेलो हाल्दै लम्किरहेछ, रविलाल लुखुरलुखुर उसका पाइला नापिरहेछ । जङ्गल छिचोलेर ती बस्तीमा निस्के । रात परिसकेको छ । पर कतै कुकुर भुकेको सुनियो, कतै बालक रोएको आवाज आयो । अगाडि साहसिक कार्य तिनलाई पर्खेर बसेको छ । त्यो क्षणलाई समात्न, त्यसलाई तामेली गर्न ती दुई कामरेड त्यतै लम्किरहेछन् । झोलामा लाइट छन् । सेरोफेरो निस्पट्ट अँध्यारो छ । तर बाल्नुहुँदैन । भूमिगत नीतिले त्यसो भनेको छ ।
अलिबेरमा नौ बज्छ, अनि १० । अनि खुनी सत्ताको रैथाने सुँड हरिहर उपाध्याय गल्र्याम्म ढल्छ । त्यसको ढलाइसँगै जनमारा सामन्तवाद हल्लिन्छ । अनि लाटा–सीधा जनताका शिरमाथि गिर खेल्दै मोजमस्तीको जीवन जिउन पल्केका शासकहरुका मुटुमा ढ्याङ्ग्रो ठोकिन्छ । अनि ? अनि त्यसपछि ?
भीष्मराज अडियो । उसले रविलालको झिनो पाखुरो बलिष्ठ हातले च्याप्प समात्यो ।
“कामरेडलाई डर लाग्यो ?”
रविलाल बोलेन । अँठ्याइको तोडले उसका नाडीको गेडी फुस्केला जस्तो भयो । तर उसलाई ऐया भन्न मन लागेन । आफ्नो कामरेडको स्नेहमयी स्पर्शमा त्यत्रो साहसिक काम गरिछाड्छु भनेर हिँडेको वीरले दुःखाइको अनुभव गर्न मिल्छ ? अझ उसमाथि अँठ्याउने हात अरुको होइन, त्यो त कमान्डर भीष्मराजको पो हो ।
“कामरेड ! अलिबेरमा हुने क्रान्तिको शुभारम्भ तपाईंलाई चित्त बुझेको छैन ?”
“यसमा मेरो फरक मत छ ।”
“उसो भए अन्तस्करणको आदेशविरmद्ध तपाईं किन मेरो पछि लाग्नुभएको त ?”
“बहुमतको ठहरलाई मानेर ।”
भीष्मराज लहरे हाँसो हाँस्यो । रविलाललाई त्यो हाँसो उपहासपूर्ण लाग्यो । अघिल्तिर त्यत्रो जोखिमपूर्ण कार्य छ । त्यो कार्यको लगाम समात्ने नायक यस्तो छ । के ऊ शून्यमा पाइला चाल्दै हावा टेकेर हिँडिरहेको हो ?
“कामरेड,” भीष्मराजले रविलालको नाडी हल्लाउँदै भन्यो, “आजको छापामार कार्बाईपछि तपाईं अर्कै मान्छेमा फेरिनुहुनेछ । तपाईंको कायाकल्प हुनेछ । तपाईंका मनका सङ्कोच, धुकचुक, भय सबै सनक्कै बढारिनेछन् । अनि तपाईं हातमा नाङ्गो खुकुरी बोकेर बहुमतको विशाल फाँटमा राजीखुसीले उत्रिनु हुनेछ । हा... हा... हा... हा... !”
रविलाललाई कमान्डरको त्यो पारा मन परेको छैन । हैन कमान्डरले उसलाई संवेदनशील कामरेडका रुपमा होइन, निर्जीव वस्तुका रुपमा खेलाउन खोजेको पो हो कि ? नत्र त्यो दिल्लगी, त्यो हाँसो... ।
“कामरेड, तपाईंमा अझै धुकचुक छ ?”
“कामरेड,” रविलालले बल्ल मुख फोर्यो, “यी दायांँ–बायाँका बस्तीमा मानिसहरु गाढा निन्द्रामा डुबेका छन् । यहाँ गरिबीको निन्द्रा छ, यहाँ अज्ञानताको निन्द्रा छ, यहाँ उत्पीडनको निन्द्रा छ । यिनका नाउँमा, यिनको उपकार गर्ने मनसुवाले हामी हतियार उठाउँदै छौं । कामरेड, समाजसँग नङ–मासुको साइनो नगाँसिएका एक्कादोक्का जोसिला जवानका एक्लादोक्ला कार्बाईको नजिता के हुन्छ ?”
“नतिजा क्रान्ति हुन्छ,” भीष्मराजले गर्वसाथ भन्यो ।
“यसो गम्नोस्त कामरेड, सारा दुनियाँ बेखबर छ । दुनियाँ अज्ञानताको गाढा नशामुनि एक्लाएक्लै, बेग्लाबेग्लै छरपस्ट छ । के एकाध वीरले एकाध सामन्तलाई एकान्तमा सुटुक्क ढाल्दैमा क्रान्ति सुरm भइहाल्छ ?”
“हुन्छ । एकले हतियार उठाउँछ, धेरैले उसलाई पछ्याउँछन् ।”
“कामरेड ! क्रान्तिको बाटो यति सरल, यति सहज, यति नाटकीय हुन्छ र ?”
“हतियार उठाऊ, बाँकी सब ठीकठाक हुन्छ । कामरेड, आरामसाथ सुतेर क्रान्तिको बाटो काटिँदैन । बाटो काट्न हिँड्नुपर्छ ।” अन्धकारमाझ वज्रमुक्का उठाउँदै भीष्मले उत्ताल आवेगसाथ भन्यो, “बुझ्नु भो, कामरेड ? राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ ।”
“ठीक हो !” रविलालले भन्यो । अनि भीष्मराजका कानैनेर मुख लगेर मलुवा व्यङ्ग्य घोलिएको स्वरमा थप्यो, “एकाध वीरले अस्त्र उठाउन थाल्छन् । एकाध वीरले क्रान्ति हाँक्छन् । एकाध वीरले जित्छन् । एकाध वीरले हुकुम चलाउँछन् । एकाध वीरले इतिहास बनाउँछन् । आखिर तपाईंको सत्य यै हो, हैन र कामरेड ?”
“हो, इतिहास वीरले बनाउँछ । त्यै वीरीभत्र जनताको गोलो हुन्छ ।”
वार्ता विमतिमा बरालियो । साहसिक कार्यमा डटेका ती दुई योद्धा चुपचाप लक्ष्यतिर लम्के ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण