बालुवाको रङ्गीन महल– १
सारांश
- स्वामी लठ्ठकानन्द र उसको अन्तरको द्वन्द्वको कथा प्रस्तुत गरिएको छ, जहाँ विचार र वर्गको टकराव देखिन्छ।
- स्वामीजीले आफ्नो मनमा रहेको धार्मिक र सांसारिक द्वन्द्वको अनुभव गर्छन्, जसले उनलाई आफैभित्रको रहस्यमय आगोको सामना गराउँछ।
- अन्ततः, उनले आफ्नो भित्रैबाट निस्केको 'पठ्ठो' (छोरा) सँगको संवादमा आफूलाई नै प्रश्न गर्छन् र आफ्नो विगतलाई सम्झन्छन्।
रोपूँ कि रोपूँ कि गर्दै त्रिशूलको तिखो टुप्पोले तन्नेरी छाती ताकेको छ । काटूँ कि काटूँ कि गर्दै धारिलो तरबार बूढो गर्धनमाथि बज्रिन आतुर छ । तरबार अवैध ढङ्गले जन्मेका तन्नेरी छोराका बलिया हातबाट उठेको छ । त्रिशूल बात्सल्यरहित बूढो बाबुका फुकिढल हातबाट सोझिएको छ । जीवनको सङ्ग्रामी मोर्चामा विचारका दुई धार, वर्गका दुई स्वार्थ आपसमा भिड्न तम्तयार छन् ।
“पूज्य पिताको पवित्र खटनलाई तैँले अटेर गरिस्,” क्रोधले नाकका पोरा फुलाउँदै बाबु हाँक दियो, “तसर्थ, शाश्वत सत्यको रक्षा गर्न म तँलाई त्रिशूलको भालाले बध गर्छु ।”
“बाबुको हैसियतलाई तैँले दुरुपयोग गर्न खोजिस्,” हाँकको जवाफ हाँकैले दिँदै छोराले प्रतिवाद गर्यो, “तँ प्रगतिको बाटोको तगारो भइस् । तसर्थ, म तँलाई तरबारले गिँड्छु !”
हठात् त्रिशूल र तरबारको झडप सुरु भयो ।
हठात् सङ्ग्रामी मोर्चाको आकाशमा बिजुलीको ज्वाला भरभरायो ।
हठात् चारै दिशामा प्रलयकालको मेघको विस्फोटन भयो ।
र हठात्... ।
००० ००० ०००
खुइलिएको तालुमाथिको खप्परमा जमठ जटा । मुजा परेको निधारमा तीन धर्के चन्दन । ओठमाथि र मुनि अस्तव्यस्त दाह्री–जुँगाको झ्याम्ले झाडी । छातीमा काती परेको जनैको फेरो । थल्थले फिलामुनि मृगाशन । हातमा त्रिशूल । गोबरले लिपेर गहुँतले चोख्याइएको पूजा मण्डपमा शङ्ख, घण्ट र डमरु । माथि कुमदेखि तल घुँडासम्म लत्रेको मैलो धरो । भित्तामा मास्तिर चतुर्मुखी ब्रह्माजीको तस्बिर र मुन्तिर दाह्री–जुँगाधारी कार्ल मार्क्सको फोटो ।
स्वामी लठ्ठकानन्द आँखा चिम्लेर ध्यानमग्न छ । उसका मनको एक कुनामा सांसारिक तृष्णाहरुको द्वन्द्वको हुँडलो चलेको छ । उसका मनको अर्को कुनामा निराकार ब्रह्माजीको दर्शन पाउने लालसा छ । स्वामीजीका फुस्रा ओठ सुस्त चालमा खुल्दा छन् र बन्द हुँदा छन् । उसको थकित आत्माको अतल गहिराइबाट करुण स्वर प्रकट हुँदो छ— ॐ ! ॐ !
स्वामी लठ्ठकानन्दको अन्तरमा असह्य अनुभूतिको प्रचण्ड धार बग्न थाल्यो । नसा–नसामा हुरहुराउँदो आगोका लप्का दगुर्न थाले । स्वामीलाई आपूmभित्रको रहस्यमय आगोले पोलेर भष्मखरानी हुँला कि जस्तो लाग्यो । उसले सारा बल मुठीमा खैँचेर त्रिशूल अँठ्यायो । सहिनसक्नु पीडाको ज्वालालाई समन गरिमाग्न उसका अशक्त आँखा चतुर्मुखी ब्रह्माजीको ज्योतिर्मय तस्बिरतिर उठे ।
ब्रह्माजी मानौँ, भक्तसँग प्रसन्न छन् । उनका आँखामा आशीर्वादको भाव छ । ओठमा करणामयी मुस्कान छ मानौँ, त्यो मुस्कानले भनिरहेछ— बत्स ! ढिलै भए पनि तैँले सही बाटो समातिस् । विधि ठिक छ । निष्ठा र साधनाको सहाराले सिद्ध गर्न नसकिने लक्ष्य चराचर जगत्मा के छ ?
असीम कष्टको पीडाकुण्डमा छटपटाइरहेका स्वामीजीलाई अलिकता ढाडस मिल्छ । ब्रह्माजीको प्रेरणाको शक्तिले इन्द्रियलाई वशमा राख्न उसले सक्दो यत्न गर्छ । अनायास ऊभित्र आशाको दीप बल्छ । उसलाई लाग्छ, असीम पीडाको प्रक्रियामा मेरो कायाकल्प हुँदो छ । सांसारिक जीवनका काम, क्रोध, लोभ र मोहका विकारलाई दैवी शक्तिको कुचोले भित्र–भित्रै बढारिरहेछ ।
ईर्ष्या र दुराचारका दाग बसेका अङ्ग–प्रत्यङ्ग, संस्कारका विकृत छाप टाँसिएका कण–कण कञ्चन हुँदै छन् । लौकिक स्वार्थ र राग टनाटन भरिएको क्षणभङ्गुर देहभत्र अलौकिक तङ्खव पल–प्रतिपल सञ्चार भइरहेछ । स्वामीजी अहिले पुलकित छ । उल्लासपूर्वक ऊ गम्छ, ब्रह्म चैतन्यमा एकाकार हुने पावन घडी अब टाढा छैन । अनि त्यसपछि ? अनि त्यसपछि सत्–चित्–आनन्द–ब्रह्म !
स्वामी लठ्ठकानन्द एकाएक आत्तियो मानौँ, उसका मुख, आँखा र नाकबाट आगाका लप्का बाहिर निस्कन थाले । उसको जीउ जलेर खरानी हुन थाल्यो । दुई हातले जमठ जटा अँठ्याउँदै मनको गुफाभित्रै ब्रह्माजीका पाउ परेर ऊ चिच्यायो— ॐ !
ब्रह्माजीका आँखाबाट उसका आँखा कार्ल मार्क्सका आँखामा खसे । हे दैव ! झिर जस्ता ती आँखामा धपधपी बलिरहेको तेज, के हो त्यो ? के आपूmभित्र सल्केको आगोको मुहान त्यही हो ? स्वामीजी डरले थुरथुर काँप्यो मानौँ, त्यो कार्ल माक्र्स बूढो, त्यो चतुर यहूनादी, त्यो कट्टर भौतिकवादी आफ्नो मनको बहीखातामा उसका एक–एक अपराधको हिसाब लेख्न उसको चियो गरिरहेछ । सके त्यसले अलौकिक शास्त्र र अचारनीति अनुसार दण्ड–सजायको फैसला समेत बहीखातामा लेखिसक्यो होला । स्वामीलाई लाग्यो, ऊभित्रको त्यो असह्य अग्निज्वाला लोकका भोका र नाङ्गा, रोगी र पददलितहरुले झोसेको आगोबाट दन्केको हो ।
स्वामीजीको चीत्कारले उसको समाधिल्लो हल्लियो । उसको मथिङ्गलमा कुनै जीवले कोपर्न थाल्यो । अनौठो त्यस जीवले त्यहाँ सिँगौरी खेलेझैं मुन्टो धस्न थाल्यो, खुट्टाले पयट लाउन थाल्यो मानौँ, बाहिर एउटा छटपटाइरहेछ, भित्र अर्को छटपटाइरहेछ । स्वामीजीको भयभीत मनभित्र ब्रह्माण्ड पड्कियो । उसको खप्परको ढकनी हुत्तिएर चतुर्मुखी ब्रह्माजीको तस्बिरमा ठोकिन पुग्यो र भुईँमा बज्रियो ।
स्वामीजी मुर्छा पर्यो । चेत फर्केपछि ब्रह्माजीको तस्बिरतिर निरीह आँखा उठाउन खोज्दा त ऊ के देख्छ— कार्ल मार्क्सका फोटाको ठीकमुन्तिर सानले शिर उठाएर एउटा पठ्ठो उभिएको छ । आश्चर्यचकित भई स्वामी गम खान्छ, के यो पठ्ठो मलाई फोरेर मैभिबाट जन्मेको हो त ? भीमसेनका जस्ता पौजा छन् । ओठमा सघन जुँगा छन् । जन्मजातको लक्काजवान यो तीघ्रे मलाई ध्वस्त पार्दै मैभित्रबाट प्रकट भएको हो त ?
नो अस्तित्व, स्वामी लठ्ठकानन्दलाई आफ्नो सेरोफेरोको परिवेश, त्यो पठ्ठो, त्यो पीडा र त्यो उल्का भ्रान्ति जस्तो लाग्यो । उसले आँखा मिचेर विस्फारित नेत्रले पठ्ठालाई नियाल्न खोज्यो । हे भगवान् ! जीउडाल भयङ्कर छ । हातमा छ सोहीमाफिकको तरबार । र अहिले तरबार स्वामीजीका गर्धनतिर बज्रिन खोज्दै चम्चमाइरहेछ ।
“को होस् तँ ?” स्वामीजीले सोध्यो, “तँ कहाँबाट यहाँ प्रकट भइस् ? र किन ?”
“म तँभित्रबाट निस्केँ । तेरो फोहोर अन्तरलाई भत्काएर । तँलाई मार्न ।”
स्वामीजीको हंस हल्लियो । तेजोवध भई निहुरिएका परेलीमुनिका काँतर आँखा उसले सुस्तरी उठायो । नभन्दै सामुन्नेमा उभिएको पठ्ठो आफूमाथि तरबार बजार्न तम्तयार छ । तरबार अँठ्याएको उसको पाखुरो काँपिरहेछ । कम्पको चालमा तरबारको आलो सान काटूँ कि काटूँ कि गर्दै चमचमाइरहेछ । पठ्ठाका ओठमा मधुर मुस्कान जस्तो कुनै भाव छ । तर त्यो मुस्कानमा कोमल स्नेह होइन, साटो फेर्ने कठोर भाव छ । उसो त उसका आँखामा विचित्रको कान्ति पनि छ । तर त्यस कान्तिमा दया र करुणा होइन, क्रोधको आभास हुन्छ । स्वामी लठ्ठकानन्द गलित भयो । र हत्तपत्त त्रिशूल उठाउँदै ज्यान जोगाउन ऊ जुरुक्क उठ्यो ।
अनुनययुक्त स्वरमा उसले सोध्यो, “उसो भए तँ मबाटै जन्मेको होस्, हैन के बाबु ?”
“अँ, त्यसै भने हुन्छ ।”
“यसको मतलब म तेरो जन्मदाता बाबु हुँ, यसमा तँ के भन्छस् ?”
“होस् पनि र होइनस् पनि ।”
“होस् र होइनस्को दोधारे कुरा किन बा ?”
“होस् किनभने म तँभित्रबाट जन्मेँ । होइनस् किनभने म तेरो इच्छाविरुद्ध तँलाई भत्काएर निस्केँ ।”
“बाबु !” बात्सल्यको स्वाङ रच्दै स्वामी लठ्ठकानन्दले पठ्ठाको कुम छुन लामो हाडे हात तन्कायो ।
“मलाई नछो ।”
“बाबुको नाताले तँलाई छुने, मुसार्ने, चुम्ने हकसम्म पनि छैन मलाई ?”
“छैन । तँ मेरो घोर शत्रु होस् ।”
“शत्रु ?” स्वामी लठ्ठकानन्द सन्न भयो । “म तेरो बाबु तेरो शत्रु ?”
“हो ।” कठोर स्वरमा पठ्ठाले भन्यो, “तैँले मलाई भित्र–भित्रै निचोरेर मार्न खोजिथिस् ।”
“म तेरो बाबुले कि ?”
“हो, तैँले । तँ मेरा बाटाको तगारो होस्— मभित्र छँदा पनि, मबाहिर छँदा पनि । त्यसैले गर्दाहुँदी म तँलाई मार्छु ।” तरबार हावामा नाच्यो । पठ्ठाका नाडीका रौँ ठाड्ठाडा भए ।
“थाम्,” जमठ जटामाथिको खप्पर दुई हातले जोगाउन खोज्दै स्वामी लठ्ठकानन्द करायो, “थाम् ! तँ मेरो छोरो होस् । मेरो रगत, मेरो भावलोक, मेरो संस्कारको अंश लिएर जन्मेको । तैपनि भन्त, बिनसित्ति नो बाबुको बध गर्न तआँ किन यसरी तम्सेको ?”
“किनभने तँ मेरा बाटाको काँडो भइस्, मेरो प्रगतिपथको तँ तगारो ।”
“बाबु ! डाँडाको जून सरीको म बूढो तेरो प्रगतिपथको तगारो भएँ ?”
“भइस् ।”
स्वामी लठ्ठकानन्दले हत्केलाले मुख छोप्यो, मनको अन्तरका आँखा घुमाउँदै उसले त्यो फत्तुरको जरो पहिल्याउन खोज्यो । तर उसलाई केही कुरा सुझेन । उसले हात झार्यो, त्रिशूल टिप्यो र पठ्ठालाई पुलुक्क हेर्यो । उसका धमिला आँखाले भनिरहे झैं लाग्थ्यो, बाबु, तेरो फत्तुरको तात्पर्य के हो ?
“पछिल्तिर फर्केर यसो सम्झी त,” पठ्ठाले भन्यो, “तँ को थिइस् र अहिले तँ के भइस् ? दुनियाँका लागि तैँले के गर्छु भनी बाचा गरेको थिइस् र अहिले तँ कसका लागि के गर्दैछस् ?”
स्वामी लठ्ठकानन्दले समयको सुदूनो जीवनयात्राका विस्मृतप्रायः घटनाहरू सम्झिन खोज्यो । तर छेउदेखिको आ दुनियाँका मुखेन्जी उसले गरेका बाचा, उसले उठाएका जोखिम, उसले गरेका त्याग, उसले झेलेका कष्ट, यात्राका उसका उल्लास, उसका उन्माद, उसका सुस्केरा, उसका पाखण्ड र उसका विश्वासघातहरूका चित्र विचित्रका कथाहरूको लम्बेतान र जटिल जन्जाल ।
उसको स्मृतिशृङ्खला पहिले धमिलो अनि सफा हुँदै उसको मानसकुण्डमा तैरिन थाल्यो । ऊ हो तराई फाँटको मझौला जिमदारको छोरो । अहिले ऊ ३०–३५ वर्षको छिप्पिएको जवान छ । उसको नाउँ हो— भीष्मराज । विद्यार्थी छँदा ऊ अखिलको नेता थियो । स्नातकसम्म पढेर ऊ एउटा चोइटे कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भएको छ । माथि विशाल चीनमा सांस्कृतिक क्रान्तिको उथलपुथल चलिरहेछ, तल विशाल भारतमा नक्सलबाडीको किसान सङ्ग्रामको ज्वाला दन्किरहेछ ।
सानो देशको, सानो काँटीको, सानो उचाइ भएको मान्छे ऊ, ठुला देशका तात्ताता कामकारबाहीको रापले ऊ पनि यस्सै तात्तिइहाल्यो । समाजमा शोषण र दोहन, हेलाँहोचो र अत्याचारले सीमा नाघेको थियो । त्यसैले उसमा माथि र तलको जस्तै क्रान्तिको बबन्डर आँधी उठाउने आकाङ्क्षा जागेर आयो । एक दिन पार्टीको माउ कमिटीको बैठकमा उसले प्रस्ताव राख्यो— “बुझ्नु भो कामरेड ? सुकलगुण्डे गफले क्रान्ति हुँदैन । उठाउनुपर्छ अब हतियार !”
उसको नाटकीय प्रस्तावसँगै बैठकको थाप्लामा मानौँ, वज्र चड्कियो । बैठक सन्न र चकमन्न भयो । पार्टीको अध्यक्ष सोमप्रसाद शर्मा थियो । ऊ थियो बस्तीको झक्की जिम्दार । थुप्रो अब्बल दर्जाको जग्गा हुँदो हो उसको । उसकहाँ नोकर–चाकरको कमी थिएन । खाइखुराकी, सोख–विलास, सान–सौकातको उसको हैसियत भने जस्तो थियो । सके भावुक स्वभावका न्यायप्रेमी देवकोटाले धेरै अघि यस्तै सोमप्रसाद शर्माहरुका नाउँमा ‘जमिनदारका पुत्र छन् साम्यवादी’ भनी कविताको फाँकीमा व्यङ्ग्यको फित्कौली चलाएका हुँदा हुन् ।
पार्टी अध्यक्षको पद ओगटेको देवकोटाको जमिनदार–पुत्रले गमेर राजनीतिका चलनचल्तीका शब्दहरूको फोहरासँगै मुख फोर्योे— नो राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, आत्मगत पक्ष, वस्तुगत पक्ष, शत्रुको स्थिति, आ स्थिति, देश–काल–परिस्थिति, मुलुकको भूराजनीतिक बाध्यता, ज्ञान र व्यवहार, जोस र होस, कदम र परिणाम, इच्छा र सम्भावना, कार्यनीति र रणनीति आदि इत्यादि । रट्दा–रट्दा अर्थ र मर्म खुइलिसकेका शब्दहरूको ओइरो लगाएपछि अध्यक्षले तजबिजी निचोड निकाल्यो— कामरेड, यो समय सुहाउँदिलो प्रस्ताव होइन ।
प्रस्तावको समर्थन र विरोधको कुरो माथि पार्न बीचमा तर्क–वितर्कको भीडन्त चल्यो । सोमप्रसाद शर्मा तर्कले आ खप्पिस थियो । सिद्धान्तका पोथा त उसले भवसागरै पढेको थियो । यस्तो अड्को पर्यो, अड्को फुकाइदिन उसका मुखमा लेनिन हाजिर भइहाल्छन् । उस्तो अल्झो आइलाग्यो, अल्झो पन्छाइदिन उसका मुखबाट माओ बोलिहाल्छन् । भीष्मराज भने तातो दिमाग भएको जवान छ ।
उसको तर्कको चालभन्दा भावोत्तेजना र रिसको चाल तेजी छ । हात छँदाछँदै बित्थामा मुखलाई किन दुःख भने जस्तो । हतियार उठाउने प्रस्तावको झन्डा बोकेर ऊ अध्यक्षमाथि खनियो । आवेगको रहमा पौडिँदै उसले उसलाई भन्नु–नभन्नु भन्यो । त्यो पनि बसेर शान्त स्वरमा होइन, उठेर मुक्का उजाएर बैठकका मथिङ्गल हल्लिने गरी थर्काएर । तेस्सिमा स्वार्थी जिमदार !
क्रान्तिमा गरिब किसानको हुल उठ्यो भने सबभन्दा पहिले तेरै मौजा ढल्नेछ । थोडै लाटो छ र मौजा ढाल्ने कदम चाल्न खुनी जिमदार मन्जुर होओस् ? आखिरमा विवाद टुङ्ग्याउन मतको गन्ती भयो । र बहुमतको बलले अध्यक्षको मत माथि पर्यो र सदस्यको प्रस्ताव तल किचाघानमा पर्यो ।
भीष्मराजका कानका लोती राता भए । सोमप्रसाद शर्मा अलि ठूलो मौजावाल, ऊ अलि सानो मौजावाल । अभिमानी मनको एक छेउमा ठूलो मौजावालसँग सानो मैजावालको सेखी छ । मनको अर्को छेउमा छ, प्रभाव र प्रतिष्ठाको टक्कर । टक्कर बस्तीमा पनि छ, त्यसको छाप पार्टीमा पनि छ । फेरि सोम शर्माको ज्ञान भण्डार र तर्कशक्तिले भीष्मराजका मनमा हीन भावनाको गहिरो घाउ बनाएको छ ।
घाउको पीडा अहिले टनकटनक टन्किरहेछ । भीष्मराज स्वभावले विद्रोही छ । विद्रोहको झन्डा उचालेर समाजलाई उलटपुलट पार्ने उसको धोको कम जब्बर छैन । यस्तोमा आ गिर्दा भीष्मराज रिसले चुर भयो । उसले टेबुलमाथि मुक्का बजार्यो र सँगै खुट्टो थचार्यो । उसले ध्वाँस दियो— “हतियारको पहिलो निसाना सोम शर्मै हुन सक्छ— बस्तीको ठालू सोम शर्मा, जनवादको रङ्गीन कोट लाएको जनविरोधी सोम शर्मा ।”
भीष्मराजको पार्टीबाट निकाला भयो ।
“अतीतका दृश्य तँ देख्दै छस् ?” पठ्ठाले सोध्यो ।
“बाबु,” स्वामीको जिब्रो लकपकायो, “म... म... ।”
“सम्झी त, तँ के थिइस् र के भइस् ?”
स्वामी लठ्ठकानन्दको मुन्टो लत्रियो नो अतीतको झाँकी हेर्यो । पार्टीबाट निकाला हुँदा । उसले सम्झनाको ऐनामा आ उसको चित्तमा चर्को इख पैदा भयो । इख नभ’को मर्द र बिख नभ’को सर्प, उसले मन–मनै कुरा खेलायो । उसका नसामा प्रतिशोधको उत्ताल तरङ्ग छचल्कियो । माथि हेर्छ, चीनमा सांस्कृतिक क्रान्तिको आँधी उठेको छ । तल हेर्छ, नक्सालबाडीमा किसान सङ्ग्रामको हुरी चलेको छ ।
भीष्मराजमा उमङ्ग छ, उन्माद छ, केही गरुँ, गरिहालूँ भन्ने आतुरी छ । नभन्दै अलि दिनमै एउटा कमिटी बन्यो । दुई छाक भान्साको राम्रै बन्दोबस्त भएका, दुई–चार अक्षर पढेका र सेरोफेरोको जीवनको हरिबिजोक देखेर असन्तुष्ट भएका तन्नेरीहरु कमिटीमा जुटे । हतियार उठाउने व्यूहरचना गरियो ।
गरीखाने जनताका आङमा टाँस्सिएर ढाडिएका समाजका किर्नाहरुको सूची तयार भयो । पहिले कसलाई, त्यसपछि कसलाई अनि त्यसपछि कसलाई ढाल्ने ? ढालिने पालोको पनि किटानी भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण