विश्व बक्सिङमा ऐतिहासिक पदक जितेका चन्द्रबहादुर थापाको भव्य स्वागत
सारांश
- यूएईमा सम्पन्न विश्व बक्सिङ च्याम्पियनसिपमा चन्द्रबहादुर थापाले कांस्य पदक जितेका छन्।
- चन्द्रले सेमिफाइनलमा कजाखस्तानका खेलाडीसँग पराजित भए पनि ७५ हजार अमेरिकी डलर पुरस्कार पाए।
- युथ पारा गेम्समा रजत पदक विजेता स्वीकृत न्यौपानेलाई पनि स्वागत गरियो।
काठमाडौँ । यूएईमा सम्पन्न भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार काठमाडौँमा भव्य स्वागत गरिएको छ। विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केवाज हुन् ।
टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्च पदाधिकारी, नेपाल बक्सिङ महासंघका पदाधिकारी, राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी र प्रशिक्षकसहितको उपस्थितिमा स्वागत गरिएको थियो।
डिसेम्बर ३ देखि १४ तारिखसम्म भएको प्रतियोगिताको ५४ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै चन्द्रले कांस्य पदक पक्का गरे । उनले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीहरूलाई हराएका थिए।
कांस्य पदक जितेसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि सुनिश्चित गरेका छन्। राखेपले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका चन्द्र सेमिफाइनलमा विश्व वरीयतामा सातौँ स्थानमा रहेका कजाखस्तानका खेलाडीसँग पराजित भएका थिए।
चन्द्रसहित प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी थिए । ४८ केजीमा लालप्रसाद उप्रेतीले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जितेका थिए।
५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दिपक श्रेष्ठ भने पहिलो चरणबाटै बाहिरिए । प्रशिक्षकमा प्रकाश थापा मगर, दिपक महर्जन र सुजित पुन मगर रहेका थिए।
सदस्य–सचिव मेहताले चन्द्रको ऐतिहासिक उपलब्धीले सारा नेपालीलाई हर्षित बनाएको बताए। चन्द्र थापाले यो सफलता सबैको साथ र सहयोगले सम्भव भएको भन्दै भविष्यमा थप सफलता हासिल गर्न ध्यान दिने बताए।
बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले चन्द्रको पदकले बक्सिङ क्षेत्रलाई मात्र नभई सिङ्गो राष्ट्रलाई नै गौरवान्वित तुल्याएको धारणा व्यक्त गरे।
युथ पारा गेम्सका रजत विजेताको पनि स्वागत
आइतबार नै दुबइमा भएको पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिङ्गल्स (क्लास ७) मा रजत पदक जित्न सफल स्वीकृत न्यौपानेसहितको टोलीलाई पनि विमानस्थलमा स्वागत गरिएको थियो ।
उनको स्वागतका लागि सदस्य–सचिव मेहता, राखेप कार्यकारी समितिका सदस्य भट्टराई, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, राष्ट्रिय पारालिम्पिक कमिटीका पदाधिकारी र अखिल नेपाल टेबलटेनिस संघका पदाधिकारीलगायतको उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण