बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारत : हुस्सुका कारण सात बससहितका सवारी साधन ठोक्किँदा आगलागी, कम्तीमा ४ जनाको मृत्यु

मङ्गलबार, ०१ पुस २०८२, १० : १६
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • मथुरा जिल्लाको यमुना एक्सप्रेसवेमा बाक्लो हुस्सुका कारण सवारी साधन आपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा २५ जना घाइते भएका छन् र घाइतेहरूको उपचार भइरहेको छ, भने केही सवारी साधनमा आगो लागेको थियो।
  • उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई समवेदना व्यक्त गर्दै घाइतेहरूको उचित उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

मथुरा । बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा मथुरा जिल्लामा मंगलबार बिहान ठुलो दुर्घटना भएको छ । यमुना एक्सप्रेसवेमा धेरै सवारी साधन आपसमा ठोक्किएर आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका हुन्। 

आगरा-नोएडा एक्सप्रेसवेमा बिहान करिब ४ बजेतिर अत्यधिक कम भिजिबिलिटीका कारण यो दुर्घटना भएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार बिहान करिब ४:३० बजे बाक्लो हुस्सुमा कम्तीमा सात बस र धेरै साना सवारी साधनहरू एकआपसमा ठोक्किएका थिए।

मथुराका एसएसपी श्लोक कुमारले भने, ‘दुर्घटनामा चार जनाको मृत्यु भएको छ र २५ जना घाइते भएका छन्। यमुना एक्सप्रेसवेको आगरादेखि नोएडा जाने खण्डमा कम भिजिबिलिटीका कारण गाडीहरू ठोक्किएका थिए। केही गाडीहरूमा आगो पनि लागेको थियो।’

उनले टक्करलगत्तै सवारी साधनहरू आगोको चपेटामा परेको बताए। घाइते सबैलाई अस्पताल पठाइएको छ।

आगो नियन्त्रण गर्न र फसेका यात्रुहरूको उद्धारका लागि ११ वटा दमकलसहित अग्नि तथा आपत्कालीन सेवाका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। घटनास्थलका दृश्यहरूमा जलेर क्षतिग्रस्त भएका बसका अवशेषहरू देखिएका छन्। ती सवारी साधनहरू हटाउन क्रेन प्रयोग गरिएको थियो।

प्रहरी अधिकारीका अनुसार यात्रुहरूलाई सरकारी गाडीमार्फत गन्तव्यतर्फ पठाइएको छ। सडक अवरुद्ध भएकाले डाइभर्सन गरिएको उनले बताए। उत्तरी भारतभर फैलिएको बाक्लो हुस्सुका कारण सडकमा भिजिबिलिटी निकै कम रहेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई समवेदना व्यक्त गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘मथुरा जिल्लाको यमुना एक्सप्रेसवेमा भएको सडक दुर्घटनामा जीवन गुमाउनु अत्यन्तै दुःखद र हृदयविदारक छ। शोक सन्तप्त परिवारहरूप्रति मेरो समवेदना छ।’

मुख्यमन्त्रीले घाइतेहरूको उचित उपचारका लागि जिल्ला प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएको र दिवंगत आत्माको चीर शान्तिको कामना गरेको उल्लेख गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप