देवी पार्वतीको पावन जन्मभूमिः पर्यटकीय स्थल पर्वत
सारांश
- पर्वत जिल्लाको पाङगाउँमा देवी पार्वतीको जन्म भएको धार्मिक मान्यता रहेको छ।
- पार्वती जन्मभूमिको संरक्षण र विकासका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ, जसमा स्थानीय सरकारको सहयोग रहेको छ।
- यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको छ, जसले पर्यटनमा टेवा पुर्याउनेछ।
पूर्वीय सनातन सभ्यतामा पार्वतीको जन्म गिरिराज हिमालय पर्वतमा भएको पाइन्छ । उनको जन्म मेनकाको गर्भबाट भएको भनिएको छ । हिमालय पर्वतकी छोरी भएकाले ऋषि वशिष्ठले उनको नाम पनि पार्वती राखेको मान्यता छ ।
पार्वतीलाई महादेवकी पत्नी अर्थात् महादेवी एवं त्रिदेवी (उमा/गौरी/दुर्गा, लक्ष्मी र सरस्वती) पनि भनिन्छ । यसैगरी पार्वतीले महादेव पति पाउँ भनी हिमालयमै तपस्या गरेकी हुन् भन्ने पनि उल्लेख छ । यी सन्दर्भहरू हिन्दु धर्मका प्राचीन ग्रन्थहरूमा प्रशस्तै पाइन्छ ।
हिमालय पर्वत भन्नासाथ कास्मिरदेखि बर्मासम्म फैलिएको हिम शृङ्खलालाई बुझिन्छ । त्यसरी हेर्दा पार्वतीको जन्म हिमालय अन्तर्गत कुन ठाउँमा भएको हो भन्ने जिज्ञासा हुन सक्छ । प्रस्तुत लेखमा यही सन्दर्भबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
आध्यात्मिक जगतमा निराकार भावको चर्चा हुने गर्छ । निराकार भावबाट हेर्दा महादेवलाई चेतना वा पुरुष तथा पार्वतीलाई प्रकृति वा शक्तिका रूपले लिने गरिन्छ । भौतिक जगतमा भने महादेव र पार्वतीको साकार मूर्तिलाई नै पूजा, अर्चना, स्तुति एवं भजन–किर्तन आदि गरिन्छ ।
सोही अनुरुप नै शिवको उत्पत्ति, राम, कृष्ण, सीता, राधा, लक्ष्मी स्वरूप रुक्मिणी, बुद्ध आदिको जन्म र बासस्थानको बारेमा पनि उल्लेख हुने गरेको छ । उनीहरूको जन्मस्थानमै मन्दिर बनाएर मूर्ति स्थापना गरिएका छन् ।
देवी पार्वतीको जन्म पर्वत जिल्लाको पाङगाउँमा भएको मान्यता छ । पर्वत जिल्लाका स्थानीय बुद्धिजीवीहरूको भनाइ, विभिन्न पत्रपत्रिकामा प्रकाशित सांस्कृतिक तथा धार्मिक लेखहरूमा प्रकाशित भएको सन्दर्भले पनि यही दर्शाउँछ । यो तर्कलाई पुष्टि गर्ने भौतिक प्रमाणहरू धवलागिरि हिमालको फेदीमा रहेको पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ को पाङगाउँमा पुष्पलाल राजमार्गसँगै जोडिएको पार्वती गुफामा प्राप्त भएका छन् ।
त्यहाँ माटाको माला, ढुङ्गाको सियो, महिलाको प्राचीन प्रस्तर मूर्ति आदि भेटिएको भनिएको छ । सांस्कृतिक रूपमा गुफाभित्र पार्वतीले तपस्या गरेको ठाउँ भनिने पार्वतीको मन्दिर, पार्वती जन्मभूमि भनिएको ओमकारेश्वर मन्दिरमा सोही भाव अनुरुप पूजाआजा चलिरहेको छ । शास्त्रीय प्रमाणका रूपमा हिन्दु दर्शनका पुराणहरू जस्तैः शिवपुराण, स्कन्द पुराण, स्कन्द पुराण अन्तर्गतको हिमवत खण्ड, लिङ्गपुराण, स्वस्थानी ब्रतकथा आदिमा पनि पार्वती जन्मसन्दर्भको चर्चा उल्लेख भएको पाइन्छ ।
यिनै प्राचिन, पुरातात्विक वस्तु एवं शास्त्रीय तथा सांस्कृतिक प्रमाणका आधारमा पार्वतीको जन्म यहीँ भएको हो भन्न सकिने आधार छन् । यस जिल्लाको नाम पर्वत राखिएको सन्दर्भमा पनि पार्वतीको जन्मकै विषय आइपुग्छ । जसरी वेदव्यासको जन्म मादी र सेती नदीको संगम अर्थात् तनहुँको दमौली गुफामा भएकाले व्यासगुफा नाम रह्यो, त्यसैगरी पार्वतीले महादेव पति पाउँ भनी तपस्या गरेको हुँदा यहाँको गुफाको नाम पनि पार्वती गुफा रहेको भनिन्छ ।
यही विषयलाई पुष्टि गर्ने गरी एउटा हिन्दी पत्रिकाले पनि ‘देवभूमि नेपाल’ शीर्षकमा पार्वतीको जन्म नेपालको पर्वत जिल्लाको पाङगाउँको पार्वती गुफामा भएको हो भनी उल्लेख गरेको छ ।
आधुनिक प्रविधि अन्तर्गत विकसित गुगल नक्सामा पार्वती गुफा, पार्वती जन्मस्थान ओमकारेश्वर मन्दिर, सहस्रधारा, पार्वती (मोदी) गंगा आदि विवरण उल्लेख छ । स्थानीय वासिन्दाहरूको भनाइ अनुसार पार्वतीले महादेव पति पाउँ भनी गुफाभित्र तपस्या गरेको मान्यता छ । गुफाभित्र पार्वतीको मन्दिर बनाइएको छ । पार्वतीले नुहाउने गरेको सहस्रधारा पनि गुफा नजिकै छ ।
गुफा साँघुरो र अँध्यारो छ । भित्र करिब ४०० मिटर लामो भएको मानिएको छ । हालसम्म गुफामा बिजुलीको व्यवस्था छैन । गुफामा ‘टर्च लाइट’ वा अन्य उज्यालोको सहायतामा मात्र जान सकिन्छ ।
स्वस्थानी ब्रतकथामा शिव–पार्वतीको जन्म, विवाहबारे उल्लेखित कथा नेपाली जनसंस्कृतिमा गहिरोसँग भिजेका छन् । यही कुरालाई ध्यानमा राख्दै गत ०७७ सालको स्वस्थानी पूर्णिमाका दिन पार्वती जन्मभूमिको संरक्षण र विकासका लागि संस्कृतिविद्हरूबाट एउटा छलफल कार्यक्रम आयोजना भएको थियो ।
त्यहाँ नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति, विश्व हिन्दु महासंघका अध्यक्ष, पार्वतीको जन्ममूमिका बारेमा खोज एवं अनुसन्धानकर्ता तथा संस्थाका प्रतिनिधिहरू उपस्थित थिए । कार्यक्रममा पार्वतीको जन्मस्थान यही स्थानमा भएको पुष्टि गर्दै जनसाधारणलाई जानकारी समेत गराइएको रहेछ । लगत्तै तीनै तहका सरकार, संघसंस्थाहरू र स्थानीयहरूको सहयोगमा ०७८ सालमा महायज्ञ लगाइएको रहेछ ।
यज्ञबाट सङ्कलित रकम र संघ तथा प्रदेश सरकारको सहयोगमा विश्वकै अग्लो शिव–पार्वतीको मूर्ति स्थापना गर्ने पनि जानकारी गराइएको रहेछ । यसैगरी गुप्तेश्वर धार्मिक तथा पर्यटकीय अभियानका अभियन्ताहरूले सहस्रधारा, पार्वती गुफा, पाङगाउँ, गुप्तेश्वर गुफा, पार्वती जन्मभूमि ओमकारेश्वर मन्दिर, पातीचौर आदिलाई जोडेर एउटा धार्मिक तथा पर्यटकीय क्षेत्र र पार्वतीधाम स्थापना गर्ने प्रयास भइरहेको उल्लेख गरेका छन् ।
यसरी पार्वतीको जन्ममूमि प्रचार–प्रसार एवं प्रवर्द्धन अभियानमा सरोकार राख्ने विभिन्न संघ संस्था क्रियाशील रहेको पाइन्छ । पार्वतीको जन्मस्थानको संरक्षण र विकासका लागि अहिले नेपाल सरकारले ‘पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्था’ स्थापना गरेको छ । संस्थाले अहिले तीन तहका सरकारको सहयोगमा गुफाको संरक्षण र निर्माणकार्य गरिरहेको छ ।
त्यस्ता निर्माण कार्यहरूमा पार्वती गुफामा पार्वती मन्दिर, पार्वतीसहित विभिन्न देव–देवीका मूर्तिहरू, पार्वती गुफा जाने स्वागतद्वार, गुफामा जाने पैदल मार्ग, गुफाको पानी निकास हुने कुलो, पुल, सत्तल, टेवा पर्खाल आदि छन् । पार्वती जन्मस्थल संरक्षण, विकास, खोज र अनुसन्धानका क्रममा फेलापरेका दुर्लभ भौतिक प्रमाणहरूलाई सङ्ग्रहालय बनाएर राख्न थालिएको पनि समितिले जनाएको छ ।
यी प्रमाणलाई पुरातत्व विभाग तथा राष्ट्रिय अभिलेखालयले पनि आफ्नो रेकर्डमा राख्नुपर्ने हुन्छ । त्यस्ता प्रमाणले पुरातत्व विभागलाई सरकारी तवरबाट अनुसन्धान र पुष्टि गर्न थप सहयोग गर्छन् । पुरातत्व विभागले विभिन्न इतिहास, पुराण तथा सम्बन्धित स्थानबाट प्राप्त पुरातात्विक वस्तुहरूको मिहीन अनुसन्धानमार्फत सरकारी तवरबाटै पार्वतीको जन्मभूमि यहीँ हो भनी निर्णय गर्नु ढिला गर्नु हुँदैन ।
हिन्दु धर्मालम्बीहरूका लागि पार्वतीको जन्मभूमि भनेको राम, सीता वा बुद्धको जन्मभूमि जत्तिकै महत्त्वपूर्ण र पवित्र हुन्छ । पार्वती जन्ममूमिको व्यापक प्रचार प्रसार भएको खण्डमा विश्वका धेरै तीर्थयात्री एवं पर्यटकहरू महादेवी पार्वतीको जन्मस्थलको दर्शन र अवलोकन गर्न आउन सक्छन् ।
यसले पर्वतको मात्रै नभएर नेपालकै पर्यटनको विकासमा योगदान गर्न सक्छ । यस मामलामा हामीले संसारका १ अर्बभन्दा धेरै हिन्दुहरूको जनसंख्याको महत्त्वलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । पर्यटकीय दृष्टिले पर्वतलाई विकास गर्दा यसले गण्डक क्षेत्रको बृहत् धार्मिक पर्यटकीय ‘करिडोर’ कै महत्त्वपूर्ण हिस्सा लिन सक्छ । कालीगण्डकी तटको सडकलाई छोटो दुरीको तथा व्यवस्थित बनाउन सक्दा भगवान बुद्धको जन्मस्थल लुम्बिनीदेखि दामोदर कुण्डसम्मको तीर्थयात्रा महत्त्वपूर्ण प्याकेज नै बन्न सक्छ ।
लुम्बिनीदेखि दामोदर कुण्डसम्म करिब तीन सय किलोमिटरको दुरीमा एक दर्जन हाराहारी महत्त्वपूर्ण धार्मिक तीर्थस्थल छन् । यो क्षेत्रमा पाल्पाको भैरव र भीमसेन, रिडिका ऋषिकेश मन्दिर, विश्वकै ठुलो शालिग्राम सेतीबेनी, नृसिंहधाम मधुबेनी, कुश्माको पार्वती जन्मभूमि, बाग्लुङ कालिका, बेनीको गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ र सबैभन्दा माथि दामोदरकुण्ड जस्ता महत्त्वपूर्ण स्थल पर्छन् ।
एउटै नदी तटीय मार्गमा ठुलो संख्यामा धार्मिक स्थलहरू हुनु आफैँमा पर्यटकीय हिसाबले ज्यादै महत्त्वपूर्ण विषय हो । यस्तो बहुधार्मिक स्थल भएको क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्न जरुरी देखिन्छ ।
धार्मिक आस्थाको केन्द्र बन्न सक्ने, व्यापक धार्मिक ‘करिडोर’को महत्त्वपूर्ण हिस्सा बन्न सक्ने तथा धार्मिक सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण केन्द्र बन्न सक्ने पार्वती जन्मस्थलको प्रचार–प्रसार, प्रवर्द्धन तथा जगेर्नामा सम्बन्धित निकाय तथा सरोकारवालाहरूको बेलैमा गम्भीर ध्यान पुगोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण