देउवा, गगनसहित कांग्रेसका कुन-कुन नेता भए एकभन्दा बढी क्षेत्रबाट उम्मेदवार सिफारिस ?
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट मंसिर मसान्तसम्म उम्मेदवार सिफारिस गर्न केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर मंसिर १५ गते परिपत्र गरेको थियो ।
परिपत्रबमोजिम अधिकांश स्थानबाट उम्मेदवार सिफारिस भएका छन् । उम्मेदवार सिफारिस गर्दा प्रतिनिधिसभा क्षेत्रीय समितिले ८ जना नेताको नाम एक भन्दा बढी स्थानबाट सिफारिस गरेका छन् । यसरी सिफारिस हुनेमा सभापति शेरबहादुर देउवादेखि प्रदेश सभापतिसम्मका नेताहरू छन् ।
सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री किशोरसिंह राठोर, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. आरजु राणा देउवा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरको नाम एक भन्दा बढी स्थानबाट उम्मेदवार सिफारिस भएको छ ।
सभापति देउवाको नाम डडेलधुरा र बारा क्षेत्र नम्बर ३ बाट सिफारिस भएको छ । डडेलधुराबाट देउवाको एकल नाम सिफारिस भएको छ भने बारा–३ बाट देउवासहित सहमहामन्त्री फर्मुल्लाह मन्सुर, जिल्ला सचिव मनोज भट्ट, परवेज अन्सारी, भोजराज भट्टराई, बजरङ्गी साह, जङ्गबहादुर चौरसिया, प्रकाश रिजाल, रविकरण साह र अम्बिका ठाकुरको नाम उम्मेदवारमा सिफारिस भएको छ ।
देउवा २०४८ सालदेखि २०७९ सम्म भएका सबै निर्वाचनमा डडेलधुरामा कांग्रेसबाट उम्मेदवार बन्दै र निर्वाचित हुँदै आएका छन् । अहिले पनि डडेलधुराबाटै लड्ने तयारी देउवाको रहेको उनको सचिवालयले जनाएको छ ।
त्यस्तै उपसभापति गुरुङको नाम स्याङजा क्षेत्र नम्बर १ र २ बाट सिफारिस भएको छ । कांग्रेस स्याङ्जा सभापति राजु थापाका अनुसार उपसभापति गुरुङले इच्छा गरेपछि सम्मानका लागि दुवै क्षेत्रीय समितिबाट सिफारिस गरिएको हो । गुरुङ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्याङजा २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
महामन्त्री थापाको नाम ५ स्थानबाट सिफारिस भएको छ । थापाको नाम काठमाडौं–४, रोल्पा, धनकुटा, सर्लाही–४ र तेह्रथुमबाट प्रत्यक्षतर्फ सिफारिस भएको छ । तेह्रथुममा उनको नाम एकल सिफारिस भएपछि अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचत जितेकी केन्द्रीय सदस्य सीता गुरुङसहितको एक समूहले विरोध गरिरहेको छ । काठमाडौँ–४ मा पनि थापाको नाम एकल सिफारिस भएको छ ।
थापा २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ बाट प्रत्यक्ष निर्वाचित हुँदै आएका छन् । धेरै स्थानबाट उम्मेदवार सिफारिस भएपनि निर्वाचन काठमाडौँ–४ बाटै लड्ने तयारी थापाको रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
सहमहामन्त्री राठौरको नाम बर्दिया–२ र बाँके–३ बाट सिफारिस भएको छ । बर्दिया घर भएका राठौर २०७९ सालमा भएको निर्वाचनमा बाँके–३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । बाँके–३ ले अघिल्लो पटक निर्वाचित भएकाले र बर्दिया–२ ले घर त्यही स्थानमा भएकाले सिफारिस गरेको जनाएका छन् ।
पार्टी प्रवक्ता डा. महतको नाम काठमाडौँ–५ र नुवाकोट–१ बाट सिफारिस भएको छ । प्रवक्ता डा. महत २०७४ को निर्वाचनमा काठमाडौँ–५ बाट उम्मेदवार भएर एमाले उम्मेदवार ईश्वर पोखरेलसँग पराजित भएका थिए । नुवाकोट–१ डा. महतको घर हो । उनले केही दिन अघि पत्रकारहरूसँग आफू नुवाकोट–१ बाट निर्वाचन लड्ने तयारी गरेको बताएका थिए ।
निवर्तमान परराष्ट्रमन्त्री तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम कैलाली–५ र बर्दिया–२ का कांग्रेसका क्षेत्रीय कार्यसमितिहरू सिफारिस गरेका छन् । पूर्वपरराष्ट्रमन्त्री राणा कैलाली–५ मा २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएर पराजित भएकी थिइन् । बर्दिया–२ ले यसअघि पनि सिफारिस गरेको थियो । त्यहाँ डा. आरजुको जग्गा भएको स्थानीयहरू बताउँछन् ।
पार्टीको सुदूरपश्चिम कार्यसमिति सभापति बलायरको नाम कैलाली–४ र डोटीबाट सिफारिस भएको छ । बलायर प्रतिनिधिसभा निर्वाचन २०७९ मा कैलाली–४ बाट विजयी भएका थिए । त्यही क्षेत्रबाट विजयी निवर्तमान सांसद भएकाले कैलाली–४ को क्षेत्रीय कार्यसमितिले बलायरलाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
डोटीले बलायरलाई गृहजिल्ला भएकाले सिफारिस गरेको हो । गत निर्वाचनमा बलायरलाई पार्टीले कैलाली–४ पठाएको थियो । त्यसअघि २०७० सालमा भएको दोस्रो प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
बलायरले आफूले डोटीबाट राजनीति गर्न पाउनुपर्छ भन्ने माग राखेकाले उम्मेदवार सिफारिस गरिएको डोटी कांग्रेसका नेताहरू बताउँछन् ।
लुम्बिनी प्रदेश सभापति पुनको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि बाँके–३ र रोल्पाबाट सिफारिस भएको छ । रोल्पाका पुन रोल्पामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्दै पराजित हुँदै आएका छन् । गत निर्वाचनमा पनि पुन रोल्पाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण