सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बर्दिया–कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

बुधबार, ०२ पुस २०८२, १६ : ५३
बुधबार, ०२ पुस २०८२

राजापुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्यास गरेका छन् । 

बर्दियाका राजापुर नगरपालिका–१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका–५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरेका हुन् । 

शहरी विकास मन्त्रालय मातहत रहेको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स बृज डिभिजनमार्फत निर्माण हुने पुलको लम्बाइ ४८२.२० र चौडाइ १.६० मिटर रहेको छ । 

पुल निर्माणबाट दौलतपुर र टीकापुर क्षेत्र दुवैतर्फका करिब २ हजार घरधुरी लाभान्वित हुनेछन् । पुलको मध्य भागमा फोटो खिच्न मिल्ने गरी आवश्यक संरचना पनि बनाइनेछ ।

 दौलतपुरघाटमा पुल नहुँदा डुङ्गाको प्रयोग गरी कर्णाली नदीमा जोखिमपूर्ण यात्रा हुँदै आएको छ । वर्षायामका डुङ्गाको प्रयोग गर्न नसकिने हुँदा आवतजावत नै बन्द हुने अवस्था रहेको छ । 

झोलुङ्गे पुलको निर्माण पश्चात् स्थानीय बासिन्दालाई बाह्रै महिना सहज रूपमा नदी वारपार गर्ने सुविधा उपलब्ध हुनेछ । 

शिलान्यास समारोहमा मन्त्री घिसिङले पुल निर्माणपछि टापुको रूपमा रहेका राजापुर र टीकापुरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न योगदान पुग्ने बताए । 

मन्त्री घिसिङले त्यस क्षेत्रमा रहेको नदी कटानलाई नियन्त्रण गरी सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए । 

उनले तोकिएकै समयमा पुलको निर्माण सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिए । ठेक्का सम्झौता बमोजिम पुल ११ असार २०८४ भित्र सम्पन्न हुनेछ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले झोलुङ्गे पुल निर्माणले दौलतपुर क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आधार तय गर्ने उल्लेख गरे । 

राजापुर नगरपालिका प्रमुख दीपेश थारु र टीकापुर नगरपालिका प्रमुख रामलाल दगौरा थारुले पुलले  सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तथा दुई जिल्ला जोड्ने हुँदा आवतजावत सहज हुहुकासाथै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पुल निर्माणका लागि १५ करोड ७४ लाख रुपैयाँ (भ्याटसहित)मा ठेक्का सम्झौता भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप