बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्मचारी नहुँदा वडा अध्यक्षले नै एक महिनादेखि राजस्व उठाउँदै

शुक्रबार, ०४ पुस २०८२, ०८ : ४८
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • पोखरा महानगरपालिका वडा १२ का अध्यक्षले राजस्व शाखामा सेवाग्राहीको विवरण कम्प्युटरमा इन्ट्री गर्दै आएका छन्।
  • राजस्व शाखामा कर्मचारी अभाव भएपछि उनले कर उठाउन र सेवाग्राहीलाई सहज बनाउन आफैँ काम थालेका हुन्।
  • अध्यक्षले महानगरको नेतृत्वप्रति प्रश्न उठाउँदै कर्मचारी अभावको कारणबारे प्रश्न गरेका छन्।

पोखरा । सामान्यतया वडा अध्यक्षहरूको आफ्नो कार्यकक्ष हुन्छ, जहाँ उनीहरू जनताका आवश्यक समस्या सुन्ने, विभिन्न सिफारिस उपलब्ध गराउन सहजीकरण गर्ने र वडामा विकासको योजना निर्माण र अनुगमन लगायतका भूमिकामा केन्द्रित हुन्छन् ।

पोखरा महानगरपालिकाको १२ नम्बर वडाका वडा अध्यक्ष सन्तोष बास्तोलाको भूमिका र आसन भने बेग्लै छ । उनी वडा कार्यालयको राजस्व शाखामा बस्छन् र सेवाग्राहीको विवरण कम्प्युटरमा इन्ट्री गर्छन् ।

वडा अध्यक्ष बास्तोला विगत १ महिनादेखि राजस्व शाखामा सेवाग्राहीको विवरण कम्प्युटर इन्ट्रीमा खटिएका छन् । यसअघि राजस्व शाखामै काम गरिरहेकी कर्मचारी हरिकला वाग्ले सेवाकालीन तालिममा गएपछि वडा अध्यक्ष बास्तोलाले महानगरलाई कर्मचारी पठाइदिन आग्रह गरे ।

महानगरले कर्मचारी पठाए पनि राजस्वमा काम गरेको अनुभव नभएको भन्दै बाटैबाट फर्किएपछि बास्तोला आफैँ काममा खटिएका हुन् ।

‘कर्मचारीले तालिममा जान्छु भनेपछि नजानुस् कसरी भन्ने ? महानगरले वैकल्पिक व्यवस्था गर्ला भनेर कार्यालयका कर्मचारीलाई तालिममा पठाइदिएँ,’ बास्तोलाले भने, ‘महानगरबाट कर्मचारी पठाइदिनुस् भन्दा राजस्वमा काम गर्न नसक्ने भन्नुभयो । मैले उहाँलाई फिर्ता पठाइदिएँ । त्यसपछि १ घण्टाको तालिम लिएर आफैँ काममा खटिएँ ।’

वडा अध्यक्ष बास्तोलाले लेखा शाखाकै कर्मचारीको युजरबाट डाटा इन्ट्री गर्छन् । उनले कर्मचारी अभावबारे कार्यपालिकालाई जानकारी पनि गराएका छन्, तर महानगरमै कर्मचारी अपर्याप्त भएका कारण पठाएको छैन ।

अहिले पोखरामा राजस्व उठाउने चापको समय हो । यही बेला कर्मचारी नभएपछि राजस्व नउठ्ने देखेर वडा अध्यक्ष बास्तोला आफैँ तम्सिएका हुन् ।

‘पुस मसान्तसम्म कर तिर्नेलाई महानगरले छुट दिएको छ । विगत हेर्दा पनि यही समयमा बढी सेवाग्राही करदाताले कर तिर्नुहुन्छ,’ उनले भने, ‘यही समयमा शाखा बन्द भयो भने कर कसरी उठाउने ? एकातिर कर कम उठ्ने, अर्कोतिर सेवाग्राहीले दुःख पाउने हुन्छ ।’

बास्तोलाले कम्प्युटर इन्ट्री गरिदिएपछि आफूलाई पनि सहज भएको लेखा शाखामै कार्यरत कर्मचारी रीतु अधिकारीले बताइन । ‘एक्लै हुँदा दिनभरिमा १०–१२ जनाको मात्रै राजस्व लिन सकिन्छ । अहिले वडाध्यक्षज्यूले सहयोग गरेपछि ३० जनाभन्दा बढीको राजस्व लिन सकिएको छ,’ उनले भनिन्, ‘सेवाग्राही पनि कर नतिरी फर्किनु परेको छैन ।’

विगतमा सफ्टवेयर (सूत्र) नचल्दा सास्ती खेपेका सेवाग्राहीले अहिले कर्मचारी नै नहुँदा थप दुःख पाएका छन् । वडाध्यक्ष बास्तोलाले महानगरको नेतृत्वप्रति प्रश्न उठाउँदै भनेका छन्, ‘यदि कर्मचारी अभाव नै प्रमुख कारण हो भने किन समयमै सरुवा सहमति खोली आवश्यक जनशक्ति व्यवस्थापन गरिएन ? यसको जिम्मेवारी कसले लिने ?’

सेवा नै ठप्प हुने समस्यालाई वडाध्यक्षले टारेको वडासचिव शारदा सापकोटा बताउँछिन् । ‘अहिले सिस्टम राम्रो चलेको छैन । त्यसमाथि कर्मचारी नहुँदा सेवाग्राहीलाई साह्रै नै समस्या भएको हो,’ उनले भनिन्, ‘तै पनि अध्यक्षज्यूले सहयोग गरेपछि सेवामा सहजीकरण भएको छ ।’

त्यसो त, महानगरको पछिल्लो कार्यपालिका बैठकले सरुवा सहमति खुला गर्ने निर्णय गरेको छ । प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारी वडाले कर्मचारी अभाव भनेपछि पठाएको तर, वडाबाटै फर्काइएको बताउँछन् ।

‘तालिममा पठाउनुअघि नै वैकल्पिक व्यवस्थाबारे सोच्नुपर्थ्यो । अहिले समस्या छ भनेपछि अर्को वर्ष पठाउन पनि सकिन्थ्यो,’ उनले भने, ‘वडाले नै तालिममा जान सिफारिस गरेपछि महानगरले पठायो । पछि कर्मचारी पनि पठाएको हो, तर फर्काउनुभएछ ।’

तिवारीले सरुवा सहमति खुलिसकेको भन्दै अब आउने कर्मचारीबाट व्यवस्थापन गरिने जानकारी दिए ।

पोखरा महानगरपालिकामा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या देखिएको छ । विशेषगरी राजस्वतर्फका कर्मचारी अभाव बढी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप