सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नमूना सदरमुकामको काम निर्धारित समयमा सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

शनिबार, ०५ पुस २०८२, २२ : ००
शनिबार, ०५ पुस २०८२

नवलपरासी । ऊर्जा ,जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा निर्माणाधीन नमुना सदरमुकामको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज जिल्लाको कावासोती नगरपालिका–३ मा अवस्थित नमुना सदरमुकाम निर्माण स्थलको निरीक्षण गर्दै उनले काममा ढिलाइ नगरी निर्धारित समयमा सम्पन्न गर्न व्यवसायीलाई निर्देशन दिएका हुन् ।

मन्त्री घिसिङले नमुना सदरमुकामको हालसम्मको प्रगतिको अवस्थाका बारेमा आयोजनासँग जानकारी लिएका थिए । उनले निर्माणको चरणमा कुनै बाधा अड्चन भए त्यसलाई फुकाउन आफ्नो तत्परता रहने भन्दै काममा ढिलाइ नगर्न सराकार भएका सबैलाई आग्रह गरे ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका सूचना अधिकारी द्रोण कटवालले आयोजनाले हालसम्म गरेको कामको प्रगति र अवस्थाका बारेमा जानकारी दिएका थिए । निर्माणको सुरुवाती चरणमा केही प्राविधिक समस्या आए पनि अहिले कुनै समस्या नरहेको उनले बताए ।

नवलपुरको कावासोती–३ मा रहेको एक सय ८७ बिघा जग्गामा विसं २०७६ देखि सदरमुकाम निर्माण गर्न थालिएको हो । नमुना सदरमुकाम निर्माण स्थलमा हाल दुई वटा ठेक्काबाट अलगअलग कार्यालयका भवन निर्माण भइरहेका आयोजना कार्यालयले जनाएको छ ।

पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुई वटा कार्यालय रहने गरी एउटा एकीकृत भवन निर्माण थालिएकामा अहिले थप भवन पनि बनाउन सुरु गरिएको आयोजनाका सूचना अधिकारी कटवालले जानकारी दिए ।

चौधरी कष्ट्रक्सनले रु ३० करोड ६५ लाख छ हजार ५२७ लागतमा जिल्ला प्रशासन कार्यालय र एउटा एकीकृत भवन निर्माण गरिरहेको छ । विसं २०८३ पुस २१ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढिरहेको आयोजनाका सूचना अधिकारी कटवालले जानकारी दिए । उनका अनुसार अहिले दोस्रो चरणमा भ्याट बाहेक रु तीन अर्ब ६१ करोडको लागतमा सदरमुकाम निर्माण स्थलमा थप पूर्वाधार निर्माण थालिएको छ ।

समानान्तर–बुद्ध हिमाली जेभिले अहिले अदालत भवन, सरकारी वकिलको कार्यालय, सभा हल, तीन वटा एकीकृत भवन, ब्यारेक, आवास गृह, सदरमुकाम स्थलको कम्पाउन्ड, निर्माणस्थलसँगै जोडिएको केरुङ्गे खोलामा तटबन्ध, सदरमुकाम स्थलको मूल सडक कालोपत्र, खानेपानी र विद्युत् लाइन विस्तारलगायत काम गरिरहेको कटवालले बताए । उनका अनुसार विसं २०८४ कात्तिक २८ गते निर्माण सम्पन्न गर्ने गरी गत वैशाख २९ गते सम्झौता भएको थियो ।

नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका लागि छुट्ट्याइएको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण हुनेछन् । अहिले सङ्घ स्तरका कार्यालय निर्माण अघि बढेको छ भने प्रदेश मातहतका कार्यालय निर्माण सुरु भएका छैनन् ।

नमुना सदरमुकाम निर्माणको गुरुयोजना अनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल खेल मैदान, १५ हजार दर्शक क्षमताको क्रिकेट खेलमैदान, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभा हल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजना अनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप