बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

इन्फा २०२६ नयाँ दिल्लीमा आयोजना हुने, आवेदन आह्वान

आइतबार, ०६ पुस २०८२, २१ : ३८
आइतबार, ०६ पुस २०८२

काठमाडौँ । नेपाली चलचित्रको प्रवर्द्धन र सम्मानमा समर्पित प्रतिष्ठित कार्यक्रम इन्टरनेसनल नेपाली चलचित्र महोत्सव तथा अवार्ड (इन्फा)ले आफ्नो पहिलो महोत्सव र अवार्ड कार्यक्रम सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म भारतको नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ ।

यस महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवर्द्धन गर्नुका साथै सहकार्य र व्यावसायिक सम्बन्ध विस्तारका लागि साझा मञ्चको निर्माण गर्नु रहेको छ । 

महोत्सवमा प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली कथानक चलचित्रहरूबाट आवेदन आह्वान गरिएको छ । आवेदन बुझाउने अन्तिम मिति सन् २०२६ जनवरी ७ तोकिएको छ । 

महोत्सवका प्रमुख आकर्षणहरूमा उत्कृष्ट कथानक चलचित्र, निर्देशन, कलाकार तथा अन्य प्राविधिक विधामा सम्मान प्रदान गरिने विशेष अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी, समीक्षकहरूको सहभागितामा छलफल कार्यक्रम, प्रिमियर प्रदर्शन तथा विशेष प्रदर्शनीहरू र सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् । 

यस महोत्सवको प्रमुख निर्णायकका रुपमा नेपालका लोकप्रिय विशिष्ट चलचित्रकर्मी तथा अभिनेता कृष्ण मल्ल छन् । जुरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, विशिष्ट अभिनेता सुनिल थापा, विशिष्ट अभिनेत्री बिपना थापा र भारतका विशिष्ट रङ्गमञ्चका कलाकार अवतार शाहनी छन् । 

इन्फाका अध्यक्ष राजेन्द्र घिमिरेले इन्फा दिल्ली २०२६ नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रभाव विस्तार गर्ने महत्त्वपूर्ण अवसर हुने बताए ।  उनले भने, 'यस कार्यक्रममार्फत नेपाली चलचित्र र प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुऱ्याउने हाम्रो प्रयास हो ।' 

महोत्सव निर्देशक (नेपाल) जनकदीप पराजुलीका अनुसार यस कार्यक्रमले भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै भारतस्थित नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रचार र प्रभाव विस्तार गर्नेछ । 

इन्फाकी प्रवक्ता तथा हिमचुली फाउन्डेसन फर आर्ट एण्ड कल्चरकी संस्थापक सुश्री आकांक्षा शाहले भनिन्, 'चलचित्र प्रदर्शनका अतिरिक्त हामी प्यानल छलफल, अन्तर्वार्ता तथा विशेष कुराकानीका कार्यक्रमहरू आयोजना गर्दै छौँ, जसको उद्देश्य नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, संयुक्त निर्माणका सम्भावनाहरू खोज्नु र भारत तथा नेपालबीच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु हो ।'

महोत्सवले भारतमा रहेका नेपाली भाषीसँगै चलचित्रकर्मीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसले उदाउँदा प्रतिभा र दुवै चलचित्र उद्योगबिचको सहकार्यका लागि एक महत्त्वपूर्ण मञ्चको निर्माण हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप