समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
सारांश
- समाजवादी कम्युनिस्ट पार्टी नेपालको एकता राष्ट्रिय भेलाले अशोक सुवेदीलाई महासचिवमा चयन गरेको छ ।
- महासचिव सुवेदीले नेपालमा क्रान्ति अझै बाँकी रहेको र बलमा टिकेको सत्तालाई बल प्रयोगबाटै परिवर्तन गरिने बताए ।
- पार्टीले सुगौली, कोसी, गण्डक, महाकाली, बिप्पा, कालापानी लगायतका राष्ट्रिय हितविपरीतका सन्धि–सम्झौता खारेज गर्न माग गरेको छ ।
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालको एकता राष्ट्रिय भेलाले अशोक सुवेदीलाई महासचिवमा चयन गरेको छ । पार्टीका निवर्तमान महासचिव पूर्णबहादुर सिंहले विचार र संस्कृति दुवैको रक्षा गर्न नसकेको ठहर गर्दै भेलाले उनलाई हटाएर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
भेलाका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासचिव सुवेदीले नेपालमा क्रान्ति अझै बाँकी रहेको र बलमा टिकेको सत्तालाई बल प्रयोगबाटै परिवर्तन गरिने बताए । उनले यसअघिको नेतृत्वले सर्वहारा वर्ग, सर्वहारा अधिनायकत्व, बल प्रयोग र वैज्ञानिक समाजवाद जस्ता आधारभूत सिद्धान्त परित्याग गरी साम्राज्यवादसँग आत्मसमर्पण गरेकाले बहुमत नेतृत्वले कारबाही गरी पार्टीको नीति र सिद्धान्तको रक्षा गरेको दाबी गरे ।
महासचिव सुवेदीले मालेमावादी सिद्धान्त मिल्ने शक्तिहरूसँग क्रान्तिकारी ध्रुवीकरणका लागि आह्वान गरेका छन् । उनले मोहन वैद्य र सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), लोकनारायण सुवेदी र ऋषि कट्टेल नेतृत्वका कम्युनिस्ट पार्टीहरूसँग राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा संयुक्त मोर्चा र कार्यगत एकता हुन सक्ने बताए ।
पार्टीले सुगौली, कोसी, गण्डक, महाकाली, बिप्पा, कालापानी लगायतका राष्ट्रिय हितविपरीतका सन्धि–सम्झौता खारेज गर्न माग गरेको छ । साथै लिपुलेक, लिम्पियाधुरा र एमसीसी विरुद्ध सशक्त संघर्षमा उत्रिन क्रान्तिकारी शक्तिहरूलाई आह्वान गरिएको छ ।

पार्टीका सचिवालय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका नवनिर्वाचित अध्यक्ष लीलबहादुर बुढाथोकी ‘ईश्वर’ ले मजदुर र किसानमाथि राज्यले समस्या थोपरेको भन्दै संघर्षको विकल्प नरहेको बताए । अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघको विशेष भेलाले यसअघिका अध्यक्ष विनोद थापालाई कारबाही गर्दै बुढाथोकीको नेतृत्वमा ३७ सदस्यीय नयाँ समिति चयन गरेको छ । भेलामा जनयुद्धका सहिद परिवारका सदस्यहरूलाई दोसल्ला ओढाएर अभिनन्दन समेत गरिएको थियो ।
एकता राष्ट्रिय भेलाले अशोक सुवेदी महासचिव र मानध्वज श्रेष्ठ सल्लाहकार समिति अध्यक्ष रहेको ५७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
पार्टीको सचिवालयमा लीलबहादुर बुढाथोकी ‘ईश्वर’, चन्द्र बस्याल, चूडामणि श्रेष्ठ ‘मञ्जिल’, तिलक बयक ‘सूर्य’, सुजाता रोका बिष्ट, सोम पाख्रिन, शिशिर थापा, दीपेन्द्र घिमिरे, भूमिका सिँजाली, नितु शाह र कालीबहादुर पाण्डे रहेका छन् ।
त्यसैगरी, केन्द्रीय सदस्यहरूमा विजयराज पौडेल, कला शर्मा, उजीर मगर, बलराम तामाङ, बलबहादुर परियार, दलबहादुर खड्का, देवीलाल परियार, मञ्जु एस के, गीता सुनार, सम्झना सुर्खेती, बाबुराम श्रेष्ठ, कृष्ण परियार, अर्जुन परियार, शारदा शाह, हरिशरण तामाङ, गोपाल बस्याल, सन्तोष बोगटी, राजेन्द्र रावत, देवेन्द्र वि. क., वीरेन्द्रसिंह थापा, महेन्द्र बर्मा, ध्रुव अर्याल, भरत घिसिङ, कुमार खुट्टे र पेम्बा शेर्पा लगायत चयन भएका छन् । अखिल क्रान्तिकारीको संयोजकको जिम्मेवारी सम्झना केसीलाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण