शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कर्णालीमा प्रभाव बढाउँदै रास्वपा : पुराना दललाई धक्का दिनेगरी चुनावी तयारी

वर्षमै २०० बढी स्थानमा संगठन विस्तार
सोमबार, ०७ पुस २०८२, १७ : १७
सोमबार, ०७ पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीमा आफ्नो प्रभाव बढाउन तयारी थालेको छ।
  • रास्वपाले कर्णालीका ९ जिल्ला, ६३ स्थानीय तह र २०० वडा तहमा संगठन विस्तार गरेको छ।
  • आगामी निर्वाचनमा रास्वपाले कर्णालीका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरेको छ।

सुर्खेत । आगामी फागुनमा तोकिएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीमा आफ्नो बलियो प्रभाव बढाउने गरी तयारी थालिरहेको छ । विशेषगरी तीन ठुला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी (हाल नेपाल कम्युनिस्ट पार्टी) को दबदबा रहेको यो प्रदेशमा अहिलेसम्म नयाँ भनिएका दल र स्वतन्त्रहरूको उपस्थिति खासै हुन सकेको छैन । 

२०७९ को स्थानीय, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनपछि तराई तथा सहरीया क्षेत्रहरूमा स्वतन्त्र र नयाँ दलहरूले ठुला दलहरूलाई चुनौती दिए पनि हरेक सूचकाङ्कमा पछि रहेको कर्णालीमा त्यसको प्रभाव खासै परेको छैन ।

कोही स्वतन्त्रबाट लडेर चुनाव जिते पनि कि आफ्नै दलको बागी उठेका त कोही पार्टीबाट असन्तुष्ट बनेकाहरू मात्रै छन् । यद्यपि उनीहरू चुनाव जितेर पुनः आफ्नै दलमा फर्किएका उदाहरण प्रशस्त छन् । आफ्नो दलबाट टिकट नपाएपछि स्वतन्त्र उठेर जुम्लाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका देवेन्द्रबहादुर शाही अहिले पार्टीमा फर्किसकेका छन् । स्थानीय र प्रदेश सभा चुनावमा फाट्टफुट्ट त्यस्तो दृश्य देखिए पनि कर्णालीमा प्रतिनिधि सभातर्फको चुनाव भने विशेषगरी पुरानै दलहरूको कब्जामा छ । 

कर्णालीमा कांग्रेस पुरानै दल हो भने यहाँ ३० को दशकपछि कम्युनिस्टको बीजारोपण नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले गरेको थियो । ५० को दशकसम्म कर्णाली नेमकिपाको लालकिल्ला थियो । तर सशस्त्र युद्धपछि भने माओवादीको आधार इलाकाकै रूपमा स्थापित बन्यो यो क्षेत्र ।

अन्यत्रभन्दा युद्धमा सबैभन्दा बढी कर्णालीको उपस्थिति बलियो रहेको तथ्यांकहरूले देखाउँछन् । संघीयतापछि भने माओवादी दोस्रो दलका रूपमा सीमित छ भने एमाले र कांग्रेस कहिले एक नम्बर त कहिले तेस्रो दलका रूपमा स्थापित छन् । त्यसबाहेक नेमकिपा, साविक माओवादीबाट फुटेको विप्लव नेतृत्वको (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुरानै कमजोर संगठनहरू छन् ।

परम्परागत राजनीतिले जरा गाडेको कर्णालीमा अहिले भने रवि लामिछाने नेतृत्वको रास्वपाले बलियो गरी आफ्नो सांगठनिक सुदृढीकरणसँगै जनमत बटुल्ने प्रयास गरिरहेको छ । 

  • एक वर्षमै ९ जिल्ला, ६३ पालिका र २०० बढी वडा तहमा संगठन विस्तार

रास्वपाले ०८१ भदौमा मदन खड्काको नेतृत्वमा कर्णाली प्रदेश कमिटी गठन गरेको थियो । करिब एक वर्षको अवधिमा उक्त पार्टीले आफ्नो संगठनलाई प्रदेशका ९ जिल्ला, ६३ स्थानीय तह र २०० भन्दा बढी वडा तहमा पुर्‍याइसकेको रास्वपा कर्णाली प्रदेश कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

जिल्ला कार्य समिति गठन गर्न बाँकी रहेको डोल्पामा विस्तारको तयारी भइरहेको रास्वपा कर्णाली प्रदेशका सचिव एवं प्रवक्ता हरि अधिकारीले बताए ।

hari-Adhikari

‘हामीले आफ्नो संगठन संरचना विस्तारलाई निकै सुदृढ पारिरहेका छौँ,’ उनले भने, ‘संगठन पनि अन्य दलजस्तो ठुलो नभई सानो तर चुस्त–दुरुस्त छ ।’ 

वडा तहसम्मै ११ देखि १५ सदस्यीय समितिहरू बनाइएको उनको भनाइ छ । उनका अनुसार जिल्ला संगठन संरचना बाँकी रहेको डोल्पामा पार्टी सदस्यहरूको संख्या बढिरहेको छ, तर समिति बन्न बाँकी छ ।

निर्वाचनअघि नै त्यहाँ पनि सांगठनिक संरचना निर्माण हुने छ । रास्वपाको प्रदेश समिति २० सदस्यीय मात्रै छ । 

अधिकारी भन्छन्, ‘पुराना तीन दलको कर्णालीमा सिन्डिकेटजस्तै छ, यो बिचमा पनि हामीले सशक्त रूपमा संगठन निर्माण गरिरहेका छौँ । जनताले पनि हामीलाई आशाको नजरले हेरिरहेका छन् ।’

उनका बुझाइमा प्रजातन्त्र आएको चार दशक पुग्नै लाग्दा पनि पुराना दलहरूले जनताको जीवनस्तरमा खासै परिवर्तन ल्याउन सकेनन् । अझ कर्णालीमा रोजगारी र पूर्वाधार विकासका आधारभूत कामहरू हुन सकेका छैनन् । 

त्यसैले जनता अब नयाँ विकल्पको खोजीमा छन् र रास्वपाले केही गर्छ कि भन्ने विश्वास उनीहरूमा देखिएको अधिकारी बताउँछन् ।

  • कर्णालीमा यसरी भयो रास्वपाको प्रवेश

जेनजी आन्दोलनपछि विभिन्न नयाँ राजनीतिक दलहरू खुलेका छन्, तर कर्णालीमा प्रवेश भएको नयाँ दल अहिलेसम्म रास्वपा नै हो । हर्क साम्पाङको ‘श्रम संस्कृति’, कुलमान घिसिङको ‘उज्यालो नेपाल’ लगायतका दलहरूको संगठन कर्णालीमा छैन । बरु माओवादीबाट विभाजन भएर जनार्दन शर्माहरूले खोलेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुम पश्चिममा जिल्ला कार्य समिति गठन गरेको छ । यद्यपि प्रदेश समिति अझै बनाएको छैन ।

रास्वपाको प्रवेश कर्णालीमा जाजरकोट भूकम्पपछि भएको हो । ०८० कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछि प्रभावित क्षेत्रमा रास्वपाले उद्धार, उपचार र पुनस्र्थापनामा सक्रिय भूमिका खेल्यो । स्वयं लामिछाने जाजरकोट पुगेका थिए भने कर्णाली प्रदेश इन्चार्ज पवनराज देवकोटाको नेतृत्वमा खटिएको टोलीले सयौँ अस्थायी आवास निर्माण गर्‍यो ।

उक्त पार्टीकी नेतृ डा. तोसिमा कार्कीलगायत १७ चिकित्सकको टोलीले एक महिनासम्म २ हजार ७०० भन्दा बढी बिरामीको उपचार गर्नुका साथै प्रभावित जिल्लाका स्वास्थ्य संस्थाहरूमा साना–ठुला स्वास्थ्य उपकरण हस्तान्तरण गरे । 

रास्वपा नेता इन्जिनियर मानबहादुर शाहीको प्राविधिक नेतृत्वमा मृतकका परिवार, सुत्केरी र अपाङ्गता भएकाहरूलाई प्राथमिकता दिँदै नमुना बस्ती निर्माण र राहत वितरणजस्ता काम रास्वपाले गर्‍यो । त्यसअघि रवि लामिछानेले वीरेन्द्रनगरमा एउटा भेलाको आयोजना गरेर सम्बोधन गरेका थिए ।

पछिल्ला दुई वर्षमा रास्वपाका अधिकांश नेताहरू कर्णाली आइसकेका छन् । उनीहरूले पार्टीका प्रशिक्षणदेखि जनभेटघाटजस्ता कार्यक्रम गरिरहेका छन् । केही दिनअघि मात्रै रास्वपा नेतृ सोविता गौतमले कर्णालीका केही जिल्लाको भ्रमण गरेर नागरिकका जनगुनासाहरू सुन्ने काम गरेकी थिइन् भने मंसिर २६ गते वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रशिक्षण भेलाको आयोजना गरिएको थियो, जहाँ कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, नेताहरू मनिष झा लगायतको उपस्थिति थियो । 

उक्त कार्यक्रममा ठुलो मात्रामा पुराना दलका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए । कांग्रेस सुर्खेतका पूर्वउपसभापति टेकबहादुर सिंह नै रास्वपा प्रवेश गरेका थिए । नेताहरूका अनुसार रास्वपामा पुराना दलहरूबाट संगठित हुने र नयाँहरूको आबद्धता उस्तै छ ।

  • सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी

रास्वपाले आगामी फागुनमा हुने निर्वाचनमा कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरेको छ । 

man-bdr-shahi

त्यसका लागि आन्तरिक रूपमा व्यापक तयारी भइरहेको नेता मानबहादुर शाही बताउँछन् । ‘हामी निर्वाचनका लागि पूर्ण रूपमा तयार छौँ, कर्णालीका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हाम्रो तयारी छ,’ उनी भन्छन्, ‘जनताले यस पटक परिवर्तनको पक्षमा मतदान गर्नेमा हामी विश्वस्त छौँ ।’

रास्वपाले उम्मेदवार छनोटमा पारदर्शी र खुला प्रक्रिया अपनाएको छ । पुस ५ गतेसम्म समानुपातिकतर्फका लागि खुला मनोनयन दर्ता भएको थियो, जसमा कर्णालीका २१ जनाले मनोनयन दर्ता गराएका छन् ।

समानुपातिक उम्मेदवारहरूको नामावली :

१. खर्क बहादुर बुढा (आदिवासी जनजाति)—सल्यान

२. मकर बहादुर भण्डारी (खस आर्य)—जुम्ला

३. बुधे बुढा (खस आर्य)— हुम्ला

४. प्रेम बहादुर केसी (खस आर्य)—कालिकोट

५. टेक बहादुर चुनारा (दलित)—सुर्खेत

६. अभिसरा सुवेदी आचार्य (खस आर्य)—दैलेख

७. मित्रराज प्याकुरेल (खस आर्य)—दैलेख

८. प्रेम बहादुर बोहोरा (खस आर्य)—रुकुम–पश्चिम

९. दिपक रेग्मी (सुर्यदीप रेग्मी) (खस आर्य)—सुर्खेत

१०. चन्द्रकला बिक (दलित)—सुर्खेत

११. दिनेश बोगटी (खस आर्य)—कालीकोट

१२. स्नेहा उपाध्याय नेपाल (खस आर्य)—सुर्खेत

१३. राम बहादुर पुन (आदिवासी जनजाति)—रुकुम–पश्चिम

१४. बरम बहादुर शाही (खस आर्य)—जुम्ला

१५. कमल बिक. (दलित)—सुर्खेत

१६. सुनिता केसी (खस आर्य)—रुकुम–पश्चिम

१७. महेश प्रसाद पाण्डे (खस आर्य)—कालिकोट

१८. राजेन्द्रलक्ष्मी उपाध्याय (खस आर्य)—जाजरकोट

१९. हिरालाल वादी (दलित)—सुर्खेत

२०. देवसिंह ऐडी (खस आर्य)—डोल्पा

२१. मो हसरत अली (मुस्लिम)—सुर्खेत

रास्वपा कर्णाली प्रदेशका प्रवक्ता अधिकारीका अनुसार अब प्रत्यक्षतर्फका लागि पनि मापदण्ड पुगेका जोसुकैले उम्मेदवारी दिन सक्नेछन् । ‘ठुला नेताको चाकरी गरेर टिकट पाउने प्रथाको हामीले अन्त्य गरेका छौँ,’ उनले भने । 

उनका अनुसार पुराना दलहरूले कर्णालीलाई पिछडिएको क्षेत्र भनेर नारामा मात्र सीमित राखे । रास्वपाले आगामी चुनावमा कर्णालीको समग्र विकासका लागि श्वेतपत्र तयार गरिरहेको उनले बताए, जसमा स्वर्णिम वाग्लेले सहयोग गरिरहेका छन् ।

‘यहाँको शिक्षा, स्वास्थ्य, २६ प्रतिशत गरिबी र बेरोजगारीलाई हटाउनेजस्ता एजेन्डाहरू तथ्यांकमा आधारित रहेर बनाउँछौँ,’ उनी भन्छन्, ‘सुशासन र भ्रष्टाचार नियन्त्रण त छँदै छ ।’ रास्वपा रुकुम पश्चिमका अध्यक्षसमेत रहेका मानबहादुर शाही रवि लामिछाने बाहिर निस्किएपछि झन् जनतामा रास्वपाप्रति उत्साह बढेको बताउँछन् । 

‘रास्वपाले जेनजीहरूले उठाएका मागहरूलाई सपोर्ट गरेको छ,’ उनी भन्छन्, ‘तीन दलको सिन्डिकेटबाट कर्णालीका जनता आजित छन् । फागुनको निर्वाचनले त्यसलाई केही रूपमा क्षति गर्छ भन्ने लागेको छ ।’ 

शाही स्वयं रुकुम पश्चिममा प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् । माओवादीको आधार क्षेत्रमा पूर्वमाओवादी नेता शाहीले संगठन र जनमतलाई एकीकृत गर्ने प्रयास गरिरहेका छन् ।

रास्वपा सुर्खेत जिल्ला सभापति रमेश सापकोटा रास्वपाप्रति आकर्षण बढेकैले सुर्खेतमा मात्रै ५ हजारभन्दा बढीले सदस्यता लिइसकेको बताउँछन् । 

Ramesh-sapkota

  • ‘रविमाथि प्रतिशोध गरिएको कुरा जनताले बुझेका छन्’

रास्वपा सभापति लामिछानेमाथि सहकारीसम्बन्धी ठगीको आरोप छ, तर यो विशुद्ध राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनताले बुझिसकेको रास्वपा कर्णालीका नेताहरू बताउँछन् । यसले चुनावमा घाटा नपुर्‍याउने उनीहरूको भनाइ छ ।

‘संसदीय समितिको प्रतिवेदनले नै रविले कुनै सहकारीबाट व्यक्तिगत ऋण नलिएको स्पष्ट पारिसकेको छ,’ सुर्खेत जिल्ला सभापति सापकोटा भन्छन्, ‘राजनीतिक प्रतिशोधकै आधारमा उहाँलाई फसाउन खोजिएको बुझेर नै देशभरबाट ४१ लाख जनताले हस्ताक्षर गरेका छन् । कर्णाली प्रदेशबाट मात्रै करिब ६५ हजार हस्ताक्षर संकलन भएको छ । यसले के देखाउँछ भने जनता उहाँको पक्षमा छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप