बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अफगानिस्तान क्रिकेट बोर्डद्वारा पाँच टोली सम्मिलित फ्रेन्चाइज टी–२० लिगको घोषणा

सोमबार, ०७ पुस २०८२, ११ : २३
सोमबार, ०७ पुस २०८२

सारांश

  • अफगानिस्तान क्रिकेट बोर्डले नयाँ टी-२० लिग 'अफगानिस्तान प्रिमियर लिग' (एपीएफ) घोषणा गरेको छ, जुन २०२६ मा युएईमा हुनेछ।
  • यसअघि २०१८ मा सुरु भएको लिग भुक्तानी समस्याका कारण बन्द गरिएको थियो, तर यसपटक नयाँ योजनाका साथ लिग सुरु हुँदैछ।
  • एपीएफले अफगानिस्तानका खेलाडी, विदेशी खेलाडी र स्थानीय प्रतिभाहरूलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ।

काठमाडौँ । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले नयाँ फ्रेन्चाइजमा आधारित टी–२० लिग ‘अफगानिस्तान प्रिमियर लिग’ (एपीएफ) को घोषणा गरेको छ । पाँच टोली सहभागी हुने यस प्रतियोगिताको पहिलो सिजन सन् २०२६ को अक्टोबरतिर संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गर्ने योजना बनाइएको छ ।

एसीबीले यसअघि सन् २०१८ को सुरुमा पनि ‘अफगानिस्तान प्रिमियर लिग’ सुरु गरेको थियो र सोही वर्षको अन्त्यतिर पाँच टोलीबिच एक सिजन खेलिएको थियो । क्रिस्ट गेल, ब्रेन्डन म्याकुलम, शाहिद अफ्रिदी जस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरूले उक्त संस्करण खेलेका थिए, तर भुक्तानी समस्या र लिगको निष्पक्षता (इन्टिग्रिटी) सम्बन्धी चिन्ताहरू उब्जिएपछि यसलाई बन्द गरिएको थियो ।

सोही नामको यो नयाँ लिगको ड्राफ्ट सन् २०२६ को जुन–जुलाईतिर हुने सम्भावना छ । ‘उद्घाटन सिजनमा सहरमा आधारित पाँच वटा फ्रेन्चाइज टोलीहरू रहनेछन्, जसमा अफगानिस्तानका प्रमुख राष्ट्रिय खेलाडीहरूसँगै चर्चित विदेशी व्यावसायिक खेलाडीहरू र उदीयमान स्थानीय प्रतिभाहरूलाई एकै ठाउँमा ल्याइनेछ,’ एसीबीले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

एसीबीका अध्यक्ष मिरवाइज अशरफले शनिबार दुबईमा आयोजित सार्वजनिक कार्यक्रममा भने, ‘अफगानिस्तान प्रिमियर लिग हाम्रो क्रिकेट यात्रामा एक अर्थपूर्ण कदम हो । यसले हाम्रा खेलाडीहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ, नयाँ पुस्तालाई प्रेरित गर्नेछ र अफगानिस्तानको क्रिकेटलाई विश्वव्यापी मञ्चमा प्रदर्शन गर्न मद्दत गर्नेछ । हामी एपीएललाई स्वदेश र विदेश दुवैमा क्रिकेटको विकास र एकताका लागि एक महत्त्वपूर्ण योगदानकर्ताको रूपमा हेर्नेछौँ ।’

यस लिगका लागि एसीबीले ‘ट्रान्स ग्रुप’ र ‘आईटीडब्लू युनिभर्स’को संयुक्त उपक्रम (जोइन्ट भेन्चर)  ‘क्रिकेट भेन्चर’सँग साझेदारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घोषणापछि आयोजकहरू अब अर्को चरणमा प्रवेश गर्नेछन्, जसमा फ्रेन्चाइजहरूको टुङ्गो लगाउने, व्यावसायिक साझेदारहरू पक्का गर्ने र खेलाडीहरूको लिलामी वा ड्राफ्ट प्रक्रियालाई अगाडि बढाउने काम हुनेछ।’

अफगानिस्तानले हरेक वर्ष जुलाई–अगस्टको समयमा पाँच वटा स्थानीय टोलीहरूबिच आफ्नो घरेलु टी–२० लिग ‘श्पागिजा क्रिकेट लिग’ भने निरन्तर खेल्दै आएको छ ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप