बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

विद्या भण्डारीले भनेजस्तो राजसंस्था ‘पुनर्स्थापना’को सम्भावना कति ?

सोमबार, ०७ पुस २०८२, १६ : २५
सोमबार, ०७ पुस २०८२

सारांश

  • जेनजी आन्दोलनपछि अस्थिर बनेको नेपालको राजनीतिक अवस्थामा निर्वाचन हुने/नहुने बहस चलिरहेको छ।
  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजसंस्थाबारेको अभिव्यक्तिले राजनीतिक माहोल थप तताएको छ।
  • विश्लेषकहरूले भण्डारीको भनाइलाई अनुचित ठहर्याएका छन्, भने केही समूह निर्वाचनको विपक्षमा उभिएका छन्।

काठमाडौं । जेनजी आन्दोलनपछि तरल र धमिलो बनेको नेपालको राजनीतिक अवस्था अझै सङ्लिएको छैन । धमिलो राजनीतिको तलाउमा ढुंगा हानेर तरंगित पार्ने काम विभिन्न शक्तिकेन्द्रहरूले गर्दै आएका छन् । 

आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा तोकिएको दिनमा निर्वाचन हुने नहुने बहस र विवाद कायमै छ । आन्दोलनपछि निर्वाचनबाटै निकास खोज्नुपर्ने पक्षमा उभिएको र संस्थागत निर्णय नै गरेको नेपाली कांग्रेस पछिल्ला दिनमा विस्तारै संसद पुनर्स्थापनाको पक्षमा ढल्किन पुगेको छ । 

नेकपा एमालेले त सुरुबाटै आन्दोलनपछिको परिवर्तनलाई अस्वीकार नै गर्दै संसद् पुनर्स्थापना मात्र मुलुकलाई संवैधानिक मार्गमा फर्काउने उपयुक्त बाटो र राजनीतिक निकासको विकल्प भन्ने अडानलाई छोड्न सकेको छैन । 

निर्वाचन आयोगले आफ्नोतर्फबाट चुनाव गराउन गर्नुपर्ने काम निरन्तर गरिरहेको छ । तर जतिजति निर्वाचनको मिति नजिकिँदो छ, त्यति नै अन्योल र संशय पनि बढ्दै गएको छ । पुराना दलको त कुरै छाडौं, जेनजीको माग बमोजिम गठित सुशीला कार्की नेतृत्वको सरकारलाई केही जेनजी अगुवाहरुले नै घोषित मितिमा चुनाव गर्न नदिने चेतावनी दिइरहेका छन् ।

‘हामी चुनाव हुनै दिँदैनौं’, जेनजी अगुवा भनिएका सुदन गुरुङले खुलेआम सार्वजनिक रुपमै भन्दै आएका छन् । फागुन २१ मा चुनाव हुन नदिने पक्षमा गुरुङ मात्र होइन, अर्का जेनजी अगुवा मिराज ढुंगाना पनि अग्रपंक्तिमा छन् । ढुंगानाको समूहले सोमबार चुनावको विपक्ष र सुशासनको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन नै गरिसकेको छ । उता, राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित संघर्षरत दुर्गा प्रसाईंको समूह पनि आफ्ना माग पूरा नभए फागुन २१ को निर्वाचन हुन नदिने पक्षमा उभिएको छ । 

एमाले र कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा, सुदन गुरुङ, मिराज ढुंगानाहरू आफैं र दुर्गा प्रसाईं समूह चुनावको विपक्षमा उभिँदा भदौ २३ र २४ पछि बिग्रेको अवस्थामा विस्तारै आउँदै गरेको सुधारमा पुन: ग्रहण लाग्न थालेको अनुभूत अर्थात् निर्वाचनप्रति संशय उत्पन्न हुन पुगेको छ । त्यति मात्र होइन, एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बयान दिन नजाने अडान राखेर स्थितिलाई थप ‘कन्फन्टेसन’तर्फ लगेको धेरैको बुझाइ छ ।  

पूर्व राष्ट्रपतिको अभिव्यक्तिले तरंग
 
यही बेलामा नेकपा एमालेको महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको छ । एमालेभित्र निर्वाचनको पक्ष र विपक्षमा नेताहरु विभाजित बनिरहेका बेला अहिलेकै अवस्थामा निर्वाचनको विपक्षमा रहेका केपी शर्मा ओली पार्टी नेतृत्वमा तेहरिएका छन् । एमालेमा ईश्वर पोखरेल र पूर्व राष्ट्रपति विद्या भण्डारी समूह निर्वाचनको पक्षमा भएपनि यो समूह एमाले महाधिवेशनबाट लगभग किनारा लागेको छ । एमालेको महाधिवेशन सकिएलगत्तै पूर्व राष्ट्रपति भण्डारीले दिएको राजसंस्था पुनर्स्थापना हुनसक्छ भन्ने अभिव्यक्तिले मुलुकको राजनीति थप तरंगित हुनुका साथै भण्डारी स्वयं विवादमा तानिएकी छन् । 

पत्रकार ऋषि धमलालाई हालै दिएको एक अन्तर्वार्तामा भण्डारीले राजनीतिमा जे पनि सम्भावना हुने र राजसंस्था पुनर्स्थापना समेत हुनसक्ने आशयको अभिव्यक्ति दिएकी थिइन् । भण्डारीको उक्त अभिव्यक्तिलाई लिएर एमाले नेता प्रदीप ज्ञवालीले आश्चर्य व्यक्त गरेका छन् । भण्डारीको उक्त अन्तर्वार्ताबारे टिप्पणी गर्दै नेता ज्ञवालीले लेखेका छन्, ‘पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैं उभिएको धरातलप्रतिको विश्वास किन धर्मराएको होला ?’

भण्डारीको अभिव्यक्तिबारे टिप्पणी गरेका नेता ज्ञवालीले यो दृश्यले आँखा बिझाएको पनि बताएका छन् । साथै उनले एमाले महाधिवेशनपछि भएको छुट्टै भेलालाई पनि आँखा बिझाउने दृश्यका रुपमा टिप्पणी गरेका छन् ।

के भनेकी थिइन् विद्या भण्डारीले ?

राजनीतिमा कुनै सम्भावना नै छैन भन्न सकिँदैन । समय परिस्थितिको खेल हो । देश यस्तै तरल अवस्थामा रह्यो भने राजसंस्था फर्किन सक्दैन भन्न सकिन्न । राजसंस्था पुनर्स्थापना भएको खण्डमा ज्ञानेन्द्र शाह अवश्य नै बन्न सक्नुहुन्छ । पूर्वराजा ज्ञानेन्द्रबारे मेरो केही टिप्पणी छैन । एउटा राजाको रुपमा चिनेको हो, व्यक्तिको रुपमा चिनेको छैन । उहाँ नेपालको राजा हो । राजपरिवारको सदस्य हो । राष्ट्र एकीकरणका निर्माता भनेर पृथ्वीनारायण शाहलाई भन्छौँ । उहाँको सन्तति हो । 

त्यो हिसाबले उहाँप्रति मेरो सम्मान छ । उहाँले राजगद्दी जसरी त्याग गर्नुभयो, त्यसप्रति मेरो सम्मान छ । जनताको नासो जनतालाई फिर्ता गरेर राजगद्दी त्याग गरी आफैं गाडी ड्राइभ गरेर हिँडेको मान्छे हो । त्यसैले उहाँमा देशप्रति माया छ भन्ने मलाई विश्वास छ । देश अस्थिर भइरह्यो । पार्टीले कमाण्ड गर्न सकेनन् भने कमाण्ड त कसैले नि कसैले गर्नुपर्‍यो । नेपालमा विभिन्न शक्ति केन्द्रमध्ये पूर्वराजसंस्था पनि हो ।

विश्लेषक भन्छन्– पूर्व राष्ट्रपतिले बोल्नै नहुने बोल्नुभयो

विश्लेषकहरु पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाबारे बोल्नै नहुने कुरा बोलेको र राजसंस्था पुनर्स्थापनाको कुनै सम्भावना नरहेको दाबी गर्छन् । राजनीतिशास्त्रका प्राध्यापक तथा विश्लेषक लोकराज बराल गणतन्त्र नेपालका राष्ट्रपति र राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले राजसंस्थाको पक्षमा अभिव्यक्ति दिनु नै गलत रहेको बताउँछन् ।
 
‘भण्डारीको त्यो अन्तर्वार्ता मैले पनि हेरेँ । गणतन्त्र आइसकेपछि राजतन्त्रको कुरै हुन्न भन्नुपर्थ्यो,’ भण्डारीको अभिव्यक्तिबारे रातोपाटीले गरेको प्रश्नमा बराल भन्छन्, ‘गणतन्त्र नेपालका राष्ट्रपति र राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले राजसंस्थाको पक्षमा बोल्नु हुन्थेन ।’

उनले कम्युनिस्टहरु यसैगरी बिग्रने गरेको समेत टिप्पणी गरे । ‘कम्युनिस्टहरु त्यसै बिग्रिएका होइनन् । विचार, सिद्धान्त केही नभएपछि अस्तित्व रक्षाका लागि जे पनि बोल्छन्’, बरालले भने, ‘ओलीले चिप्ल्याएपछि केही समय मदन भण्डारीको नाम बेचेर खान्छन् । विचार, सिद्धान्तप्रति विश्वास नभएपछि विचलित हुनु सामान्य भइसक्यो । विद्या मात्र होइन, धेरै कम्युनिस्ट नेताहरू पलायन भएका छन् ।’

अर्का राजनीतिक विश्लेषक सोमत घिमिरे पनि बरालको भनाइमा सहमत देखिन्छन् । ‘पूर्व राष्ट्रपति भण्डारीले बोल्नै नहुने कुरा बोल्नुभयो । उहाँ (विद्या भण्डारी) ले खाली ओलीको रिसले मात्र बोल्नुभएको हो भन्ने मेरो बुझाइ हो’, घिमिरेले रातोपाटीसँग भने, ‘पूर्व राष्ट्रपति जस्तो व्यक्तिले मुलुकमा राजसंस्था फर्किन्छ भन्ने कुरा गर्नु उचित होइन ।’ 

विश्लेषक घिमिरेले दुर्गा प्रसाईं लगायतका राजंस्था पक्षधरले विभिन्न प्रकारले राजसंस्था फर्काउने प्रयास गरे पनि त्यो असफल भइसकेको बताए । ‘जेनजी विद्रोहपछि नेपालले नयाँ लय खोज्यो । लोकतन्त्रको पुन: परिभाषा गर्न खोज्यो । राजा फर्काउन कहीँ कसैले खोजेको छैन’, उनले भने, ‘यो देशमा अब राजा आउँदा पनि आउँदैनन्, त्यसैले यो नचाहिने कुराको रिपोर्ट नै नबनाए हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप