सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
कलाकार

करिअरमा कविताको निस्फिक्री उडान

‘बुगीवुगी’देखि सगरमाथाको चुचुरोसम्म, फिल्ममा बनिन् ‘एरियल’ कमाण्डो
मङ्गलबार, ०८ पुस २०८२, १० : ००
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • कविता नेपाली, 'बुगीवुगी' विजेता बनेपछि चर्चामा आएकी छिन् र अभिनेत्रीको रूपमा फिल्ममा प्रवेश गरेकी छिन्।
  • उनले फिल्म 'एक्लो' मा एक कमाण्डोको भूमिका निर्वाह गरेकी छिन् र फिल्मका लागि सगरमाथा चढेकी छिन्।
  • रियालिटी शो 'रोडिज' मा विवादित बनेपछि उनले शो छोडेकी थिइन्, तर अब उनी फिटनेस कार्यक्रममा केन्द्रित छिन्।

काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेता बनेसँगै कविता नेपालीको चर्चा चुलियो । यससँगै नृत्याङ्गनाको रूपमा उनको परिचय अझ फराकिलो भयो । 

अहिले उनी परिचयका फरक-फरक आयाम बनाउन सफल भएकी छन् । विश्वकै अग्लो शिखर सगरमाथाको चुचुरोमा झण्डा फहराउँदै हिमाल आरोहीको परिचय बनाउन सफल भइन् भने रियालिटी शोको जजको रूप पनि बनिन् । अब फेरि कविता परिचयमा अर्को फुर्को जोडिँदैछ अभिनेत्रीको । 

फिल्म ‘एक्लो’मार्फत उनी ठुलो पर्दामा छाउँदैछिन् । पुस १७ गतेबाट प्रदर्शनमा आउन लागेको नेपालकै पहिलो साइन्स फिक्सन भनिएको फिल्ममा उनी एरियल नामक कमान्डोको शक्तिशाली भूमिकामा देखिँदैछिन् । 

573539364_1386726036145720_8374745175616848759_n

डान्सरको रूपमा ख्याति कमाएकी कवितालाई अभिनयमा आउनु कुनै नौलो कुरा त थिएन, तर योजनाबद्ध पनि थिएन । उनी आफूलाई ‘एक्सिडेन्टल एक्टर’ (अकस्मात् बनेकी अभिनेत्री) भन्न रुचाउँछिन् । फिल्म निर्देशक प्रदीप शाहीसँग उनको एउटा सानो एक्सन दृश्यका लागि कुरा भएको थियो । जब कविताले आफ्नो अडिसन क्लिप पठाइन्, उनको अभिनय र एक्सनको एक्सप्रेसनले निर्देशकको मन जित्यो । त्यसपछि निर्देशक शाहीले उनको रोल बढाउँदै मुख्य चरित्र बनाइदिए । 

‘फिल्मका लागि मेरो सुरुमा सानो रोलका लागि कुरा भएको थियो,’ कविता सुनाउँछिन्, ‘तर अडिसनपछि मेरो क्यारेक्टर स्ट्रङ बन्दै गयो ।’ आफ्नो पात्र बलियो बनेपछि यसलाई अभिनयमा डेब्युको रूपमा रोजेको उनी बताउँछिन् । ‘उद्योगमा डेब्यु फिल्म कलाकारका लागि एकदमै महत्त्वपूर्ण छ भनेर सुन्दै आएको थिएँ । प्रायः फिल्ममा हिरोलाई मात्र फोकस गरिन्छ, हिरोइनलाई खासै हुँदैन,’ कविता भन्छिन्, ‘डेब्यु गराएपनि राम्रो क्यारेक्टर र स्ट्रङ क्यारेक्टर दिँदैनन् ।’ फिल्ममा आफ्नो पात्र ‘स्ट्रोङ वुमन’को रहेको उनी सुनाउँछिन् । एरियल नामक कमाण्डो जो दुस्मनसँग लड्न बन्दुक बोकेर फाइट गर्छिन् । 

फिल्ममा अभिनय त गरिन्, अब दर्शकमाझ आउँदा मुटुको ढुकढुकी कति बढेको छ त कविताको ? 

Kabita Nepali (6)

‘मान्छेहरू भन्छन्- पहिलो फिल्म फ्लप भयो भने करिअर सकिन्छ । त्यसैले अलि धेरै नै डर लागिरहेको छ’, उनी भन्छिन्, ‘फिल्मले कस्तो पैसा उठाउला, कतिको मार्केट होला त्यो थाहै छैन । एकदमै कन्फ्युजन छ ।’ फिल्मको मेकिङ, टेक्निकल पार्ट एकदमै राम्रो र फरक जनरामा बनेकाले दर्शकले रुचाउने उनको अपेक्षा छ । 

हरेक नयाँ कलाकारका लागि ठुलो ब्यानर र स्थापित स्टारहरूसँग काम गर्नु सपनाजस्तै हुन्छ । यो मामिलामा कविता ‘लक्की’ देखिइन् । किनकि डेब्यु फिल्ममा नै उनले अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गर्न पाइन् । ‘प्रदीप खड्का, सुनिल थापा र विजय लामाजस्ता दिग्गज कलाकारहरूसँग स्क्रिन सेयर गर्न पाउनु मेरो लागि ठुलो उपलब्धि हो,’ कविता खुसी साट्छिन् । 

फिल्ममा कविताले गरेको एक्सनको अहिले निकै चर्चा छ । यो एक्सन गर्न निकै कठिन भएको हुनुपर्छ भन्ने धेरैलाई लाग्छ । तर कवितालाई त्यति गाह्रो लागेन । किनभने उनको पुरानो परिचय मार्सल आर्ट खेलाडी पनि हो । उनी उसुकी खेलाडी थिइन् । त्यही अनुभवले पर्दामा कमान्डो बन्न सहज बनाएको उनी सुनाउँछिन् । 

‘फिल्मको छायांकन सोचेजस्तो सहज भने थिएन । विशेषगरी मुस्ताङको पाँच हजार मिटरभन्दा माथिको उचाइमा एक्सन दृश्यहरू खिच्नु निकै चुनौतीपूर्ण थियो’, कविता सुनाउँछिन्, ‘तल (मैदानमा) एक्सन गर्न सजिलो हुन्थ्यो, तर पाँच हजार मिटरको उचाइमा रातभर सुटिङ गर्दा लेक (अल्टिच्युड सिकनेस) लाग्ने रहेछ ।’ खेलाडी ब्याकग्राउन्डले आफूलाई कठिन पल सहजतामा परिणत गर्न सजिलो भएको उनी सुनाउँछिन् ।

  • फिल्मकै कारण सगरमाथा आरोहण

कवितामा तराईमा हुर्किएकी न् । उनको पुस्तामा कसैले अहिलेसम्म पहाड चढेको छैन । तर उनले भने सगरमाथा, लोबुचे, ल्होत्से हिमाल आरोहण गरिसकेकी छन् । यो संयोग पनि फिल्म ‘एक्लो’को कारण जुरेको हो । फिल्म मुस्ताङको लोमान्थाङमा सुटिङ गर्दा र आफ्नो ‘एरियल’ क्यारेक्टरलाई गहिराइबाट बुझ्दा उनलाई हिमालले बोलाएजस्तो महसुस भयो । त्यसपछि उनले अभिनेत्री दीया पुनसँगको सल्लाहमा हिमाल आरोहण गरेकी हुन् ।

kabita

‘मेरो रुममेट दीया पुन दिदी हुनुहुन्थ्यो, उहाँले सगरमाथा चढिसक्नुभएको थियो । मैले ठट्टामा दिदी मलाई हिमालले बोलाएको छ । म अब हिमाल  चढ्छु भनें’, कविता सुनाउँछिन्, ‘दिदीले त्यसलाई सिरियसली लिएर सबै व्यवस्था मिलाइदिनुभयो ।’ ‘एक्लो’को सुटिङ सकिनेबित्तिकै तालिमका लागि ६ हजार मिटरको लोबुचे हिमाल चढिन् । त्यसको ६ महिनापछि संसारकै सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरिन् । 

सगरमाथामा उनले फिल्मको एरियल क्यारेक्टरको पोस्टर पनि लिएर गएकी थिइन् । किनभने त्यही क्यारेक्टरले गर्दा उनलाई हिमाल आरोहणको इच्छा जगाएको थियो । सगरमाथाको टुप्पोमा नेपालको झण्डाका साथै ‘एक्लो’ फिल्मको एरियल क्यारेक्टरको पोस्टर समेत फहराएको उनी सुनाउँछिन् । ‘एउटा फिल्मको भूमिकाले कसरी मानिसको जीवनको लक्ष्य बदल्न सक्छ भन्ने यो एउटा उदाहरण पनि हो’ उनी भन्छिन् ।

आश्चर्यको कुरा के छ भने उनले सगरमाथा र ल्होत्से जस्ता दुई ठुला हिमाल केवल २४ घण्टाको अन्तरालमा आरोहण गरेर कीर्तिमान समेत राखेकी छन् । सुरुमा हिमाल आरोहणको कुरा उनले घरमा गोप्य राखेकी थिइन् । हिमाल आरोहण जोखिमपूर्ण हुने भएकाले आमाबाट त्यो अनुमति नमिल्ने उनलाई थाहा थियो । 

‘जानुभन्दा एक हप्ताअगाडि चाहिँ मम्मी म यसो हिमालतिर गएर आउँछु भनेको थिएँ । अलि क्याजुअली नै, त्यस्तो सिरियस भएर चाहिँ भनेको थिइनँ’, उनी भन्छिन्, ‘अनि ल्होत्से चढ्छु भनेर चाहिँ मैले भनेकै थिइनँ मम्मीलाई, ढाँटेको थिए ।’ हिमाल आरोहण गरेको थाहा पाएपछि आमा खुसी भइन् । कविताको हिमाल आरोहण यात्रा यतिमै सकिएको छैन । दिमाग ‘रिफ्रेस’ गर्न वर्षमा एउटा सानो–सानो हिमाल अनिवार्य चढ्ने योजना बनाएकी छन् । 

Kabita Nepali (5)

  • रियालिटी शोको तीतो अनुभव

भनिन्छ, कलाकार र विवाद पर्याय नै हुन् । कविता पनि कन्ट्रोभर्सीबाट टाढा रहन पाइनन् । उनी विवादमा पर्नुको कारण हो रियालटी शो ‘रोडिज’ । जसमा उनको उपस्थिति जजको रूपमा थियो । शोमा उनले ऋतिका नामक प्रतिस्पर्धीको कपालको चुल्ठोलाई कैँचीले काटिदिएकी थिइन् । चुल्ठो काँडेतारमा अल्झिएपछि कविताले त्यसलाई काटिदिइन् । त्यो चुल्ठो काटिदिएको दृश्यपछि सामाजिक सञ्जालमा उनी तारो बनिन् । त्यही कारण मानसिक रूपमा केही विचलित बन्दा शो नै छाड्न पुगिन् । 

 केही समयका लागि यस्ता सोहरूबाट टाढै बस्ने सोचेकी कविता आफ्नो युट्युब च्यानल मार्फत ‘फिटनेस मेनु’ जस्ता ज्ञानमूलक कार्यक्रमलाई भने निरन्तरता दिने बताउँछिन् । भन्छिन्, ‘म अब यस्तो काम गर्न चाहन्छु । जहाँ कुनै बनावटी कुरा हुनेछैन । केवल सत्य र ज्ञान हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप