कठ्याङ्ग्रियो मधेस : दाउरा छैन, चप्पल बालेर ताप्छन् आगो
सारांश
- तराईमा चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ, दैनिक ज्यालादारी गर्ने र वृद्धवृद्धाहरू बढी प्रभावित छन्।
- स्थानीयहरू आगो ताप्न दाउराको अभावमा समस्यामा परेका छन्, कतिपयले काममा जान नसकेको गुनासो गरेका छन्।
- बारा जिल्लामा विद्यालय बन्द गरिएका छन्, र विपत् व्यवस्थापन समितिले दाउरा वितरण र समन्वयको निर्णय गरेको छ।
बारा । एक सातादेखि तराईमा बढेको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने, बालबालिका र वृद्धवृद्धाहरू बढी प्रभावित भएका छन् ।
स्थलगत रूपमा पुग्दा जिल्लाको दक्षिणी भेगका स्थानीयहरू आगो ताप्न दाउरा नहुँदा खोलाले बगाएर ल्याएका चप्पल, जुत्ता र प्लास्टिक बालेर आगो तापिरहेको भेटियो । जीतपुर सिमरा–२३ का फजुल मियाँ मन्सुरीले चिसो धेरै बढेर दैनिक ज्यालादारी गर्न जान नसक्दा बिहान–बेलुका छाक टार्नै मुस्किल भएको बताए । मन्सुरीले भने, ‘ज्यान बचाउन केही न केही त गर्नैपर्यो ।’
जीतपुर सिमरा–२३ भलुहीका रामसुरज साहले धेरै चिसो बढेकोले पाँच दिनदेखि काममा जान नसकेको बताए । साहले भने, ‘चिसो बढेर कमाउन जान सकिएको छैन, सरकारले गरिबहरूलाई दाउरा बाँडिदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा छ । हाम्रो दलित बस्तीमा वडा कार्यालयले अहिलेसम्म केही दिएको छैन ।’ जीतपुर सिमरा–२३ भलुही टोलमा बाक्लो दलित बस्ती छ । सोही टोलका वीरेन्द्र राउत मेस्तरले वडा कार्यालयबाट दलित बस्तीमा न्यानो कपडा र दाउरा पाए धेरै राहत हुने आशा व्यक्त गरे ।
शुक्रबारदेखि तराईमा घाम लागेको छैन । बिहान बाक्लो हुस्सु, कुहिरो र शीतलहर भए पनि दिउँसो सामान्य खुल्ने गरेको छ । शीतलहर र चिसोका कारण जिल्लाका केही पालिकाहरूले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । परवानीपुर गाउँपालिका प्रमुख रामक्षत्रीप्रसाद कुर्मीले पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरू शुक्रबारसम्म बन्द गरिएको जनाएका छन् ।
पठनपाठन स्थगित
यता जीतपुर सिमरा उपमहानगरले पनि प्रतिकूल मौसमका कारण बुधबारदेखि शुक्रबारसम्म विद्यालय पठनपाठन स्थगित भएको जनाएको छ ।
बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलबाट हुने उडानहरू पनि प्रभावित भएका छन् । सामान्य अवस्थामा दैनिक आधा दर्जन उडान भए पनि पाँच दिनदेखि छिटपुट मात्रै उडानहरू भइरहेका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सोमबार बसेको विपत् व्यवस्थापन समितिको बैठकले वन कार्यालयसँग भएका मौज्दात दाउरा पालिकाले खरिद गरेर वितरण गर्ने निर्णय भएको बताएका छन् । उनले जिल्ला र स्थानीय तहको विपत् व्यवस्थापन समितिबिच समन्वय भइरहेको र शीतलहरबाट बचाउन प्रहरी युनिटहरूलाई पनि परिचालन गर्ने जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले सोमबार जिल्लाका कार्यालय प्रमुखहरूसहित स्थानीय तहका विपत् व्यवस्थापन समितिहरूबिच शीतलहरबाट नागरिकलाई कसरी बचाउने भन्ने विषयमा छलफल कार्यक्रम राखेको थियो ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण