शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

मङ्गलबार, ०८ पुस २०८२, १६ : ५०
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • सञ्चारमन्त्री खरेलले एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार रहेको जानकारी दिए।
  • एमाले महासचिव शंकर पोखरेलले सरकारले उचित वातावरण बनाए निर्वाचनमा सहभागी हुने बताए।
  • मन्त्री खरेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन प्रतिबद्धता जनाए।

एमाले फागुन २१ को निर्वाचनमा सहभागी हुने: सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन तयार भएको जानकारी दिएका छन्। मंगलबार नेकपा एमालेको मुख्यालय च्यासलमा अनुगमनका लागि पुगेका मन्त्री खरेलले एमाले नेतृत्वसँगको छलफलपछि यस्तो प्रतिक्रिया दिएका हुन्। 

सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाइरहेको उल्लेख गर्दै उनले एमालेसहितका राजनीतिक दलहरूलाई ढुक्क भएर चुनावी प्रचारप्रसारमा होमिन आग्रह गरे। छलफलका क्रममा एमाले महासचिव शंकर पोखरेलले सरकारले उचित वातावरण निर्माण गरे आफूहरू निर्वाचनमा सहभागी हुने स्पष्ट पारेका थिए। 

मन्त्री खरेलले सरकारका तर्फबाट स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि नेता, कार्यकर्ता वा मतदातालाई अवरोध नहुने गरी सुरक्षाको पूर्ण ग्यारेन्टी गरिने बताए। एमालेको यो निर्णयसँगै देश अब पूर्ण रूपमा निर्वाचनमय बनेको सरकारको ठम्याइ छ।

यसैगरी, मन्त्री खरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद (बन्देज) का सन्दर्भमा पनि सरकार लचिलो बन्न सक्ने सङ्केत गरेका छन्। एमालेले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएसँगै सरकारले चुनावी माहौलका लागि आफ्नो अधिकार क्षेत्रभित्र रहेर आवश्यक लचकता अपनाउने उनको भनाइ छ। 

भदौको घटना छानबिनका लागि गठित आयोगले काम गरिरहेको अवस्थामा सरकारले निर्वाचनलाई एउटा उत्सवका रूपमा सफल पार्न र राजनीतिक निकास निकाल्न अधिकतम प्रयास गर्ने मन्त्री खरेलले बताए।

उनले भने, ‘जब तपाई हामी देश नै सबै चुनावको लागि तयार भयो भने सरकारले चुनावमा भाग लिने राजनीतिक दललाई र तीनका नेताहरूलाई त्यो वातावरण त सरकारले दिनुपर्‍यो । तर सबभन्दा पहिला चुनावमा भाग लिने कुराहरूको स्पष्ट रूपमा राजनीतिक दलबाट खास गरेर नेकपा एमालेबाट आज आएको अवस्था छ । त्यो अवस्थालाई सरकारले सकारात्मक रूपमा लिएको छ । जहाँसम्म स्थानहदका कुराहरू छन् । नेतृत्वको सन्दर्भमा अथवा विभिन्न नेताहरूको सन्दर्भमा स्थान हदको सन्दर्भमा त एकातिर आयोगले काम गरिरहेको छ, अर्कोतिर सरकारले पनि त्यो काम गरिरहेको भएर यहाँहरूलाई हामी के भन्न चाहन्छौँ भने चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो । सुशासन अर्को महत्त्वपूर्ण प्राथमिकता हो । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा यो सरकारले म्याण्डेट लिएको छ भनेदेखि यी बाँकी कुराहरूको सन्दर्भमा यी महत्त्वपूर्ण कुराहरूलाई आत्मसाथ गर्दै कहाँ कहाँ सरकार लचक हुनसक्छ, यी ठाउँहरूमा सरकारको आफ्नो अधिकार क्षेत्र र जिम्मेवारी, सरकारको जहाँ छ, जे गर्नसक्छ, त्यो भन्ने अवस्थामा सरकारको तर्फबाट सबै प्रकारको वातावरण बनाउन सरकारले काम गर्छ ।’ 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातावरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकारात्मक रूपमा लिएर काम अगाडी बढाउने बताए । उनले वर्तमान अवस्थाको राजनीतिक निकास निकाल्न निर्वाचन बाहेक अर्को विकल्प नभएको पनि जिकिर गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप