मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिसहित तीन दल र प्रधानमन्त्रीबिचको छलफल सकारात्मक, निर्वाचनको वातावरण बनाउन समझदारी

मङ्गलबार, ०८ पुस २०८२, १८ : ५५
मङ्गलबार, ०८ पुस २०८२

काठमाडौँ । तीन प्रमुख राजनीतिक दल र प्रधानमन्त्रीबिच चुनावको वातावरण बनाउन पुनः छलफल हुने भएको छ ।

फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न मंगलबार राष्ट्रपतिसहित बसेको बैठकमा भएको छलफल सकारात्मक भएपछि पुन: बैठक बस्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

उनका अनुसार मंगलबार बसेको बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बनाउने समझदारी बनेको छ । छलफल सकारात्मक भएपछि पुनः बैठक बस्न लागेको हो । 

आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले सरकारले नै निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

यद्यपि, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको अवस्थामा निर्वाचन नै निकासको उपयुक्त विकल्प भएको जिकिर गरेका थिए । प्रचण्डले राष्ट्रपतिले गर्न सक्ने विकल्प यति नै भएकाले अब निर्वाचनमा जानु नै सही हुने धारणा राखेका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले सरकार निर्वाचनको वातावरण तयार गर्न प्रयासरत रहेको बताउँदै सबै दललाई निर्वाचनका लागि तयार रहन र सहयोग गर्न आग्रह गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप