चुनाव गराउन सबै तयार, छिमेकीको पनि साथ
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले विदेशी कूटनीतिक नियोग प्रमुखहरूसँग निर्वाचनका लागि अन्तर्राष्ट्रिय सहयोगबारे छलफल गरिन्।
- भारत र चीनले निर्वाचनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्, भने अमेरिकाले पनि सहयोगको तत्परता देखाएको छ।
- प्रमुख दलहरूले निर्वाचनका लागि साझा प्रतिबद्धता जनाएका छन् र सरकारले पनि दलहरूसँग छलफल तीव्र पारेको छ।
काठमाडौँ । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले असोज ३१ गते नेपालस्थित सबै कूटनीतिक नियोग प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गरेकी थिइन् ।
त्यो बैठकको एउटै एजेन्डा फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि अन्तर्राष्ट्रिय सहयोग र सद्भाव थियो । परराष्ट्रमन्त्रीसमेत रहेकी प्रधानमन्त्री कार्कीले त्यो दिनको सामूहिक भेटमा तीन विषयमा कुरा राखेकी थिइन् ।
पहिलो, चुनावमा सहयोग र सद्भाव; दोस्रो, चुनावमा विदेशी पर्यवेक्षक सहभागी गराउने; र तेस्रो, विदेशमा रहेका नेपालीलाई चुनावमा सहभागी गराउने । यी तीनै विषयमा विदेशी नियोगहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

पछि विभिन्न देशका राजदूतहरूले एक्लाएक्लै भेटेर पनि चुनावमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भारत र चीनले गाडीलगायत अन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता पनि जनाइसकेका छन् । तोकिएको समयमा चुनाव हुनुपर्छ भनी भारत र चीनले कूटनीतिक माध्यमबाट सरकारलाई भन्दै आएका छन् ।
फागुन २१ गते नै चुनाव हुनुपर्ने विषयमा भारत र चीन एक ठाउँमा छन् । चुनावका लागि के–के सहयोग गर्नुपर्छ, हरेक प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता सरकारसमक्ष गरिसकेका छन् । भारतनिकट एक कूटनीतिज्ञले भने, ‘भारतले एक चरणमा चुनाव सम्भव नभए दुई वा तीन चरणमा चुनाव होस् तर तोकिएको समयमा चुनाव होस् भन्ने चाहेको छ र सरकारलाई पनि त्यही अनुसारको सुझाव दिएको छ ।’
नेपालको मामिलामा भारत–चीनबिच जति मतभेद भए पनि चुनावको विषयमा उनीहरू एकसाथ छन् ।
_QX76CTQ2jM.jpg)
- भारत र चीनको सक्रियता
मङ्सिरको अन्तिम साता नेपाल भ्रमणमा आएर भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्क हेर्ने अतिरिक्त सचिव मुनु महावरले पनि सरकारलाई तोकिएको समयमा चुनाव गराउन सुझाव दिएर फर्किए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीदेखि लिएर मन्त्रीहरू र राजनीतिक दलका नेताहरूलाई समेत भेटेर चुनाव सम्पन्न गराउन भारत हरेक प्रकारको सहयोग गर्न तयार रहेको र तोकिएको समयमा चुनाव गराउन सुझाव दिएका थिए ।
कात्तिक २९ गते नेपालका मूलधारका मिडियाका सम्पादकहरूसँगको छलफलमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले तोकिएको समयमा चुनाव सम्पन्न गराउन चीनले हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताएका थिए ।

उनले भनेका थिए, ‘हामी अन्तरिम सरकारसँग पनि निकट सम्पर्क र समन्वयमा काम गरिरहेका छौँ, तर यो सरकारको म्यान्डेट आमनिर्वाचन गराउनु भएकाले हामीले निर्वाचनलाई नै प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।’ चीनले सरकारसँग भेटेर के–के सहयोग गर्ने भनी प्रतिबद्धता जनाइसकेको छ ।
- अमेरिका पनि तयार !
हुन त नेपालस्थित अमेरिकी दूतावासले भदौ २९ गते नै एक विज्ञप्ति जारी गरी नेपाल सरकारले घोषणा गरेको निर्वाचन सम्पन्न गराउनका लागि आफू सहयोग गर्न तयार रहेको बताएको थियो । दूतावासले सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग अमेरिका सहकार्यका लागि तयार रहेको बताएको थियो ।
- दलको सक्रियता
सरकारले तोकेको चुनावमा अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता आइरहेका बेला दलहरू पनि चुनावका लागि सकारात्मक भएर लागेका छन् । हिजो (मंगलबार) नै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डसँग छलफल गरेकी थिइन् ।

यी प्रमुख तीनै दलका अध्यक्षहरूले समयमा चुनाव गराउने अभियानमा लाग्ने साझा प्रतिबद्धता जनाएको कुरा बाहिर आएको छ । प्रमुख तीन दलका अध्यक्षहरूले प्रधानमन्त्री कार्कीसँग छलफल गरेर निस्केपछि चुनावले गति लिएको विश्लेषकहरू बताउँछन् ।
त्यसअघि रास्वपाका सभापति रवि लामिछानेले पनि पुस ६ गते प्रधानमन्त्री कार्कीसँग भेटेर चुनावको वातावरण बनाउन आग्रह गरेका थिए । त्यसको भोलिपल्ट अर्थात् पुस ७ गते एमालेका अध्यक्ष ओली र कांग्रेसका सभापति देउवाबिच भेटवार्ता भयो । उक्त भेटवार्तामा चुनावको विषयमा कुराकानी भएको थियो ।
त्यही दिन राति अबेर रास्वपाका सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच पनि भेटवार्ता भएको थियो ।
यसरी चुनावका लागि दलहरूको सक्रियता बढेको छ ।
- सरकारको सक्रियता
चुनावप्रति दलहरू सकारात्मक भएपछि सरकार पनि सक्रिय भएको देखिन्छ । सरकारका प्रतिनिधि अर्थात् मन्त्रीहरू दलका कार्यालयमा नै गएर चुनावको विषयमा छलफल सुरु गरेका छन् । पुस ८ गते कांग्रेस, एमाले, नेकपाको कार्यालयमा दलका शीर्ष नेताहरूसँग चुनावबारे मन्त्रीहरूले छलफल गरिसकेका छन् । आज उनीहरूले जनमत पार्टी, राप्रपा, रास्वपाको कार्यालयमा पनि छलफल गरेका छन् ।
यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चुनावको वातावरण तयार भएको पुष्टि हुन्छ । हरेक दलले चुनावको आन्तरिक तयारी थालिसकेका छन् । सुरुदेखि चुनावप्रति सकारात्मक नदेखिएको एमालेले पनि उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ । कांग्रेसका त जिल्ला तथा प्रदेशबाट उम्मेदवार सिफारिस भएको नामावली केन्द्रसम्म आइपुगिसकेको छ ।
_lXgjN8JyZ2.jpg)
नेकपा, जसपा नेपाल, लोसपा, राप्रपा, रास्वपालगायत दलहरूले पनि भटाभट उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिइरहेका छन् ।
दलका कार्यालयहरूमा दलका नेताहरूसँग भेटेपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दल चुनाव गराउन तयार रहेको प्रतिक्रिया दिएका थिए ।
_gWjHxBlegl.jpg)
उनले भने, ‘चुनावको वातावरण तयार गर्न सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरूको पार्टी कार्यालयमै आएर छलफल गरेका छौँ, हामी जति राजनीतिक दलहरूको पार्टी कार्यालयमा गएका छौँ, उहाँहरूले चुनावको लागि वातावरण बनिसकेको र चुनावको लागि तयार भएको सन्देश पाएका छौँ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण