सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीसँग शीर्ष दलका नेताहरूको बैठक

शीर्ष बैठकमा देउवाले उठाए हिउँको प्रसंग, ओलीले खोजे स्थान हद फुकुवा

शनिबार, १२ पुस २०८२, १८ : ४१
शनिबार, १२ पुस २०८२

सारांश

  • प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा जान सहमति जनाएका छन्।
  • प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा भएको छलफलमा दलका नेताहरूले निर्वाचनको वातावरण बनाउन जोड दिएका थिए।
  • छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्ति सुरक्षाको विषय उठाएका थिए भने प्रधानमन्त्रीले निर्वाचन सफल पार्न आग्रह गरिन्।

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जान तयार रहेको सामूहिक सन्देश दिएका छन् । तर उनीहरूले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने सर्त सरकारसमक्ष राखेका छन् ।  

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बालुवाटारमा बोलाएको छलफलमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने सामूहिक प्रतिबद्धता व्यक्त गरेका सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए । 

‘तीनवटै पार्टीका प्रमुख नेताहरूले फागुन २१ को चुनावमा जान तयार रहेको सन्देश दिनुभएको छ । कांग्रेस पनि तयार छ । एमाले पनि तयार छ । अरू दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ बैठकमा कांग्रेस सभापति देउवाको भनाइ उद्धृत गर्दै मन्त्री खरेलले भने । 

प्रधानमन्त्री कार्कीसँगको छलफलमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी थिए । छलफलपछि प्रधानमन्त्रीले सबै राजनीतिक दल चुनावका लागि तयार भएको आफूले पाएकोले फागुन २१ मा चुनाव हुने बताएकी थिइन् । 

‘सबै राजनीतिक दल चुनावमा जान तयार छन् तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्यो, सुरक्षा हुनुपर्‍यो,’ प्रधानमन्त्रीसँगको छलफलपछि बालुवाटार पुगेका सञ्चारकर्मीहरूसँग कांग्रेस सभापति देउवाले भने, ‘कांग्रेस तयार छ, एमाले पनि तयार छ ।’ 

करिब २ घण्टा भएको छलफलमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले फागुन २१ मा चुनाव नभए मुलुक दुर्घटनामा पर्न सक्ने भएकाले देउवा र ओलीलाई चुनावबाट नभाग्न आग्रह गरेका थिए । बैठकमा सभापति देउवाले मौसमका कारण फागुन २१ मा केही हिमाली जिल्लामा हिउँ पर्ने भएकाले ती जिल्लाका क्षेत्रहरूको चुनावबाहेक अरू सबै क्षेत्रमा फागुन २१ मै चुनाव गराउनुपर्ने धारणा राखेका थिए । 

‘हुम्ला लगायतका हिमाली जिल्लामा मौसमका कारण चुनाव हुन नसक्ने अवस्था आयो भने ती जिल्लाका क्षेत्रहरूमा केही समय पछि सार्दा उपयुक्त हुन्छ । बाँकीमा हामी अलमल गर्नुहुन्न,’ बालुवाटार छलफलमा देउवाले दिएको सुझावलाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो । 

त्यस्तै बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको विपक्षमा एमाले नरहे पनि शान्ति सुरक्षा अनुकूल बन्न नसकेको तथा आफूलाई स्थान हद तोकेर कसरी निर्वाचन गर्ने तयारी गरेको हो भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । ‘एमाले लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्ने पार्टी हो । त्यसअन्तर्गत हुने निर्वाचनबाट एमाले पछि हट्दैन तर प्रमुख दलका नेतालाई कतै जानै नदिने, स्थान हद तोक्ने अनि निर्वाचन गर्नेरु कस्तो निर्वाचन गर्न खोज्नुभएको हो प्रधानमन्त्रीज्यूले ?’ ओलीको प्रश्न थियो । 

अध्यक्ष ओली जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि भदौ २४ गते बालुवाटारबाट हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा गएका थिए, त्यसपछि भदौ २७ मा सुशीला कार्की नेतृत्वको सरकार बनेको थियो । कार्की नेतृत्वको सरकार बनेपछि ओली शनिबार पहिलो पटक बालुवाटार छिरेका थिए । 

ओलीको स्थान हदबन्दीको जिज्ञासामा प्रधानमन्त्री कार्कीले अप्ठ्याराहरू फुकाउने भन्दै चाँडै स्थान हद पनि फुकुवा गर्ने आश्वासन दिएकी थिइन् । उनले ओलीबाट निर्वाचनमा जाने प्रतिबद्धता खोज्दै आवश्यक सबै अप्ठ्याराहरू फुकाउन सरकार तयार रहेको बताएकी थिइन् । 

सरकारका प्रवक्ता खरेलले पनि छलफलमा अध्यक्ष ओलीले नेकपा एमाले चुनावमा जान तयार रहेको तर चुनावमा जाने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिएको बताए । 

साथै, उनले प्रधानमन्त्रीसहितको छलफलमा दलका नेताहरूको साझा बोली फागुन २१ मा चुनाव गर्नुपर्छ भन्ने रहेको सुनाए । यसअघि एमाले अध्यक्ष ओलीले शान्ति सुरक्षाको कुरा उठाउँदै फागुन २१ मा कसरी निर्वाचन हुन्छ भनेर प्रश्न उठाउँदै आएका थिए । 

यद्यपि, एमाले चुनावका प्रक्रियामा सहभागी हुँदै आएको छ । 

मन्त्री खरेलले प्रधानमन्त्रीसहित ३ दलका नेताबिचको छलफलमा हिउँ र तराईको होलीबारे सामान्य कुरा उठेको स्विकार्दै स्थान हद लगायतका अरू वातावरणका कुरामा लक्ष्य प्राप्तिका लागि प्रस्ट पार्दै सरकार र दलहरू अघि बढ्ने सहमति भएको बताए । 

फागुन १९ मा तराई–मधेसमा होली पर्व छ भने फागुनमा हिमाली जिल्लामा हिउँ पर्न सक्ने सम्भावनाले चुनाव प्रभावित हुने त्रास छ । 

नेताहरूको धारणा सुनिसकेपछि प्रधानमन्त्री कार्कीले आफू प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको भन्दै निर्वाचन सफल पार्न आग्रह गरेकी थिइन् । ‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक राव रावलले भने, ‘तपाईंहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो वातावरण बनिरहेको देख्छु । यो स्वागतयोग्य नै छ ।’ 

त्यसक्रममा उनले सरकारले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको र भनेजति नै स्रोतसाधनको व्यवस्था पनि भइसकेको दलका नेताहरूलाई जानकारी गराएकी थिइन् । 

‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरूले पनि महसुस गर्नुभएकै होला । हामी त्यसरी काम गरिरहेका छौँ । अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ । यो सबैको जिम्मेवारी पनि हो,’ कार्कीको अनुरोध थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप