शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दलहरूबिच निर्वाचनमा जाने उच्चस्तरीय सहमति भैसकेको छ : सञ्चारमन्त्री खरेल

आइतबार, १३ पुस २०८२, ११ : ४०
आइतबार, १३ पुस २०८२

सारांश

  • मन्त्री खरेलले मुलुक निर्वाचनको दिशामा अघि बढेको बताएका छन्, र यसमा दलहरूबीच सहमति भएको दाबी गरे।
  • उनले निर्वाचनका लागि दलहरू समानुपातिक बन्द सूची बनाउन र गठबन्धन निर्माणमा जुटेको जानकारी दिए।
  • मन्त्रीले डिजिटल मिडियालाई मान्यता दिने र सञ्चार क्षेत्रको रूपान्तरण आवश्यक रहेको बताए।

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक पूर्ण रूपमा निर्वाचनको दिशामा अघि बढिसकेको बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा बोल्दै उनले प्रमुख राजनीतिक दलहरूबिच निर्वाचनमा जाने विषयमा उच्चस्तरीय सहमति भइसकेको दाबी गरेका हुन् ।

‘हामी सबै दलका निवासमा पुग्यौं । हिजो मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्य दलका शीर्ष नेताहरूबिच भएको सघन वार्ताले निर्वाचनमा जाने ठोस सहमति गरेको छ,’ उनले भने, ‘आजको नयाँ बिहानीबाट मुलुक निर्वाचनमय भएको छ, अब कोही पनि पछि हट्ने अवस्था छैन ।’

सरकारको प्रवक्ता समेत रहेका मन्त्री खरेलले राजनीतिक दलहरू समानुपातिक बन्द सूची तयार गर्न र गठबन्धन निर्माणमा जुटिसकेको जानकारी दिँदै १४ गते दलहरूले बन्द सूची बुझाउने तयारी गरिरहेको बताए ।  ‘ठुला दलहरू चुनावमा होमिइसके, अब कुनै पनि दलले चुनावमा जान्न भन्ने अवस्था छैन । यो नयाँ दिनको नयाँ सुरुवात हो,’ उनले भने ।

फागुन २१ गतेपछि मुलुकको राजनीतिमा नयाँ आयाम र मानक स्थापित हुने दाबी गर्दै उनले निर्वाचनमार्फत आउने नयाँ नेतृत्वले देशलाई विकास, समृद्धि र सुशासनको बाटोमा लैजाने विश्वास व्यक्त गरे । फरक विषयमा उनले सञ्चार क्षेत्रको रूपान्तरण अपरिहार्य भएको बताए । उनले युट्युब, अनलाइन न्युज पोर्टल र डिजिटल मिडियाहरू नै अबको देशको नयाँ मूलधारको मिडिया भएको बताएका छन् ।

‘कसैले युट्युबे वा फलाना भनेर हेप्छ भने त्यो गलत हो,’ उनले भने– ‘अब सरकारले डिजिटल मिडियालाई रिकग्नाइज गर्छ । हामी नियमावली संशोधन गरेर दर्ता र सूचीकरणको प्रक्रियामा ल्याउँदैछौँ ।’ 

नेपालमा आवश्यक्ता भन्दा बढी सञ्चारमाध्यम खुलेको र सञ्चालनमा असहज अवस्था बनेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप