रवि–बालेन एकतामा ‘पपुलिस्ट’ हाबी, सिद्धान्तविहीन यात्रा !
सारांश
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह रास्वपामा प्रवेश गरे, जहाँ उनी र पार्टीबीच सात बुँदे सहमति भयो।
- सहमतिअनुसार, रवि लामिछाने रास्वपाको सभापति रहने र बालेन आगामी निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन्।
- विश्लेषकहरूले यस कदमलाई राजनीतिक अन्योलको चरण पार गरेको र नैतिक मापदण्डमा प्रश्न उठाएका छन्, जबकि पार्टीले राष्ट्रिय स्वार्थका लागि एकता भएको जनाएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भए । यस क्रममा दुई नेताबिच सात बुँदे सहमति भएको छ ।
भावी प्रधानमन्त्री बनाउने सर्तमा रास्वपाको नीति, झन्डा, लोगो र चुनाव चिह्न मान्न बालेन तयार भएको सहमतिपत्रले प्रस्ट पारेको छ । सहमतिको तेस्रो बुँदामा एकीकरणपछि बनेको दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने, दलको नाम र चुनाव चिह्न साविकै रहने उल्लेख छ ।
‘पहिलो पक्ष र दोस्रो पक्षबिच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झन्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने’ सहमतिपत्रमा उल्लेख छ ।
सहमतिको चौथो बुँदामा रविलाई रास्वपाको सभापति मान्ने र आगामी निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन रहने भनिएको छ ।

सहमतिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’
तर सहमतिमा वैचारिक र सैद्धान्तिक आधार स्पष्ट खुलाइएको छैन । यद्यपि सहमतिको प्रस्तावनामा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न कटिबद्ध रहेको प्रस्ट्याउन खोजिएको छ ।
सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबिच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई दुवै नेताले आत्मसात् गरेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका सहिद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न दुई पक्षबिच सहमति भएको सहमतिपत्रमा उल्लेख छ ।
रास्वपामा बालेनको प्रवेशलाई लिएर राजनीतिक विश्लेषक डम्बर खतिवडाले राजनीतिक अन्योलको एउटा चरण पार गरेको बताए । प्रधानमन्त्रीको लोभमा आफैँले अश्लील टिप्पणी गरेको पार्टीमा प्रवेश गर्नुले बालेन नैतिक मापदण्डबाट उठ्नै नसक्ने गरी गिरेको उनको टिप्पणी छ ।

‘बालेन शाह रास्वपा प्रवेश गरेसँगै राजनीतिक अन्योलको एउटा चरण पूरा भएको छ । भावी प्रधानमन्त्रीको लोभमा आफैँले अश्लील भनेको पार्टी र नेतृत्व स्वीकार गरेर उनी नैतिक मापदण्डबाट उठ्नै नसक्ने गरी गिरेका छन्’, सामाजिक सञ्जाल ‘एक्स’मा खतिवडाले लेखेका छन् । अधम पुराना र प्रियतावादी नयाँभन्दा भिन्न ‘तेस्रो ध्रुव’ अपरिहार्य भएको उनको भनाइ छ ।
राजनीतिक विश्लेषक भीम भुर्तेलले निर्वाचनमार्फत पुरानै दल फर्किर आएमा आफूहरूलाई सिद्ध्याउने त्रासका कारण दुवै नेता एक भएको विश्लेषण गरेका छन् ।
‘हामी बन्ने हो भने एक हुनुपर्छ नत्र त पुरानैले सिद्ध्याउँछन् भन्ने खालको उद्देश्यले रवि लामिछाने र बालेन शाह एक ठाउँमा आएको जस्तो लाग्छ’, उनले भने ।

भुर्तेलले रवि र बालेनको भूमिकामाथि नै शंका व्यक्त गरेका छन् । भदौ २४ गतेको विध्वंसपछि बालेनले जिम्मेवारी लिएर नआएको कारण उनलाई कसले चलाइरहेको छ भन्नेमा भुर्तेल संशय व्यक्त गर्छन् । उनले रवि नेपालमा मात्रै नभई अमेरिकामा समेत विभिन्न ठगी प्रकरणमा मुछिएको आरोप लगाए । निरन्तर ठगिरहेको मान्छेलाई नेता बनाउन खोज्नु विडम्बना भएको उनको भनाइ छ ।
‘निरन्तर ठगिरहने मान्छेलाई हामी नेता बनाउँदैछौँ । अमेरिकाले इन्टरपोल मार्फत् जुनसुकै बेला गिरफ्तार गरेर लैजान सक्छ । रवि र बालेनको जुन गठबन्धन छ, यी समाज, देश चलाउन योग्य पात्र हुन् कि होइनन् भनेर अहिले नेपाली समाजले सोच्नुपर्ने हो, तर त्यो दिशामा समाज छैन । मलाई विडम्बनापूर्ण लाग्छ’, भुर्तेलले भने ।
सहकारी ठगी मुद्दामा रविमाथि काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्लामा मुद्दा विचाराधीन छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत देखाउँदै रविलाई गत वर्ष चैतमा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । जेनजी विद्रोहपछि न्यायमूर्तिहरूकै आत्मबल गिरिरहेको अवस्थामा सेटिङ मिलाएर उनी जेलमुक्त भएको विपक्षीहरूको आरोप छ । त्यसअघि दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले उनलाई ठोषी ठहर गरेको थियो । दोहोरो राहदानी प्रकरणबारे रविविरुद्ध अहिले पनि अदालतमा मुद्दा विचाराधीन छ । उच्च अदालतमा धरौटी रकम बुझाएर रिहा भए पनि सर्वोच्च अदालतले बदर गर्न सक्ने भयमा उनी देखिन्छन् । आफूमाथि लागेका यिनै आरोप र अदालतमा विचाराधीन मुद्दाका कारण निर्वाचनपछि आफू प्रधानमन्त्री बन्न नपाउने आशंकाका साथ रविले बालेनलाई अगाडि सारेको हुन सक्ने चर्चा चलेको छ ।
जेनजी विद्रोह उक्साउन प्रमुख भूमिका खेलेको, राष्ट्रको ऐतिहासिक धरोहर सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत भवन जलाउँदा समेत बालेन रमिते भएर बसेको आरोप छ । सामाजिक सञ्जालमा अश्लील र अराजक टिप्पणीका कारण बेला–बेला उनले आलोचना खेप्ने गरेका छन् । विगतमा आफ्नै गतिविधिले जुनसुकै बेला अप्ठ्यारो पर्न सक्ने देखेर बालेनले जनमतबाट स्थापित वैकल्पिक शक्ति रास्वपा रोजेको हुन सक्ने राजनीतिक वृत्तमा चर्चा छ ।
तर रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले राष्ट्रहितको स्वार्थका कारण एकीकरण भएको जिकिर गरे । बालेन अब रास्वपाकै एक सदस्य भएका कारण वैचारिक र सैद्धान्तिक पक्ष बिस्तारै केलाउँदै जाने उनले बताए ।

‘स्वार्थ नभई एकीकरण हुँदैन । हामीले व्यक्तिगत स्वार्थ होइन, राष्ट्रको स्वार्थ हेरेर सात बुँदै सहमति गरेको हो । वैचारिक र सैद्धान्तिक धरातल एकता भएपछि बिस्तारै हुँदै जाने हो,’ उनले भने ।
आचार्यले रास्वपामा एकताबद्ध हुन चाहनेलाई पार्टीको नाम, चुनाव चिह्न र नेतृत्वबारे कुनै सम्झौता नहुने स्पष्ट पारे । ‘एकतामा आउनुहुन्छ भने पार्टीको नाम, चुनाव चिह्न र नेतृत्वबारे कुनै कम्प्रोमाइज हुँदैन । कि त राष्ट्रिय एजेन्डाको विषयमा रास्वपाको भन्दा फरक, अझ उन्नत खालको तर्क दिन सक्नुप¥यो’, उनले भने, ‘होइन भने पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व परिवर्तन हुँदैन । हामीले देश बनाउने योग्य, सक्षम व्यक्तिलाई पार्टीमा ल्याउन चाहेको हो । व्यक्तिगत स्वार्थमा भागबन्डा गर्न खोजेको होइन ।’
बालेन र रविबिच भएको सहमतिमा समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने भनिएको छ । साथै नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाइएको छ ।
तर रास्वपामा नीति निर्माण तहमा बसेर काम गरेका नेताले नै रवि र बालेन मिलेरमात्र तरल राजनीतिलाई निकास दिन तथा शक्तिमा बदल्न नसकिने निष्कर्ष निकालेका छन् । रवि र बालेनको भोट ‘प्याटर्न’ एउटै भएकाले सहरी मतदातालाई प्रभावित पार्न सकिए पनि मधेस र पहाडी मतलाई प्रभावित गर्न नसक्ने ती नेताको जिकिर छ । त्यसका लागि ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङलाई पनि समेट्न सके बल्ल रास्वपा हिमाल, पहाड, तराई र सहरी क्षेत्रमा मजबुत बन्ने उनको विश्लेषण छ ।
‘कुलमानजीलाई जसरी पनि समेट्नु पर्थ्यो । उहाँ रविलाई नेता मान्न तयारै हुनुभएको थियो । विधान संशोधन गरेर भए पनि वरिष्ठ नेता दिनुपर्थ्यो । बालेन र रवि मिले पनि यी दुवै लोकप्रियताबाट उदाएका हुन्’, ती नेताले भने, ‘रास्वपाले दुई वर्षमा संगठन विस्तार गर्न नसकेको जिल्लामा कुलमानले नौ दिनमै विस्तार गरेका छन् । एकल सिट संख्या भएको ३५ जिल्लामा कुलमानको राम्रो प्रभाव देखिएको छ ।’
उनले तराईमा संगठन विस्तार गर्न नसकिएको स्वीकार गरे । उनले भने, ‘त्यहाँका मतदातामा रवि र बालेन दुवै संघीयता विरोधी हो भन्ने भाष्य निर्माण भएको छ । त्यो भाष्य खारेज गर्न पनि कुलमानलाई ल्याउनुपर्थ्यो, तर त्यो कुरा रविले बुझेनन् ।’

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली उम्मेदवारलाई अत्यधिक मतले पराजित गरेर बालेन निर्वाचित भएका थिए । विशेषगरी सहरी युवामाझ लोकप्रिय रहेका बालेन फागुन २१ मा हुने निर्वाचनमा रास्वपाले बहुमत ल्याएमा प्रधानमन्त्री बन्ने आधार बलियो बनाएका छन् । तर सात बुँदे सहमतिमा रास्वपाको आगामी ‘रोडम्याप’ को वैचारिक र सैद्धान्तिक स्पष्टता नदेखिएकाले शंका गर्ने ठाउँ प्रशस्त भेटिन्छ ।
रवि र बालेन दुवै जना वैचारिक तथा सैद्धान्तिक फेरो समाएर भूगोलबाट उदाएका नेता होइनन् । सञ्चार कर्ममा लामो समय बिताएका रवि ‘सिधा कुरा जनातासँग’ टेलिभिजन कार्यक्रममार्फत् लोकप्रियताको ग्राफ बढाएका व्यक्ति हुन् । कुनै बेला ¥यापर रहेका बालेन काठमाडौँ महानगरपालिकाको प्रमुख जितेपछि लोकप्रियता ह्वात्तै बढेको हो । लोकप्रियतावादको बलमा राजनीतिमा उदाएका यी दुवै जना विशेष गरी सहरी युवाहरूले रुचाइएका व्यक्ति हुन् ।
पत्रकारिता छोडेर राजनीतिमा हामफालेका रविले २०७९ सालमा पार्टी स्थापना गरेको पाँच महिनामै प्रतिनिधि सभा सदस्यमा २१ सिट जितेर सबैलाई चकित पारेका थिए । स्थानीय तहको निर्वाचनमा कसैले पनि वास्ता नगरेका बालेनले निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर परम्परागत दललाई चुनौती दिएका थिए । यद्यपि रास्वपा र बालेनले पाएको मत परम्परागत राजनीतिक दलहरूको स्वेच्छाचारिता र सत्ता स्वार्थको परिणाम भएको राजनीतिक वृत्तमा चर्चा छ ।
रास्वपाले शान्तिपूर्ण मार्गबाटै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै आएको छ । अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा रास्वपाले जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण